लकडाउनको बेवास्ता गर्दै वीरगन्जमा पसल खुल्न थाले

लकडाउनको बेवास्ता गर्दै वीरगन्जमा पसल खुल्न थाले

वीरगन्ज : वीरगन्जमा लकडाउन उल्लंघन गरेर व्यापारीले मङगलबारदेखि बजार र पसल खोल्न थालेका छन् । कोराना संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले जेठ ३२ गते सम्म लकडाउन यथावत रहने निर्णय गरेको छ । तर वीरगन्जमा भने मङगलबारदेखि व्यापारीले पसल खोल्न थालेका हुन् । 

स्थानीय प्रशासनले वीरगन्जमा लकडाउनमा औषधिका पसल २४ सै घण्टा र किराना, खाद्यान्न, दूध, पानीलगायतका अत्यावश्यक वस्तुका पसल बिहान साढे ८ बजेसम्म मात्रै खोल्न दिने निर्णय गरेको छ । 

यी बाहेकका अन्य पसल भने खोल्न नपाइने स्थानीय प्रशासनको निर्देशन छ । सरकारले कोरोना महामारी नियन्त्रणका लागि अन्य कुनै विकल्प नअपनाइ लकडाउन मात्रै लम्ब्याउँदै आएकाले व्यापार व्यवसाय धरायसी भइ भोकै मर्नुपर्ने अवस्था आएको भन्दै व्यापारीले पसल खोलेका हुन् ।

यसअघि सोमबार वीरगन्जमा व्यापारीले वीरगन्जको माइस्थानमा लकडाउनको विकल्प दिइ पसल खोल्न दिनुपर्ने माग गर्दै प्रदर्शन पनि गरेका थिए ।तर सोमबार प्रदर्शन गर्दा पनि कुनै सुनुवाइ नभएपछि मङगलबारदेखि व्यापारीले पसल खोलेका हुन् ।कपडा, जुत्ताचपल ,बिजुली, हार्डवेयर, पान गुट्कालगायतका पसल खुलेकाले मेनरोड र लिंकरोडमा मङगलबारदेखि अरु दिनको भन्दा चहल पहल पनि बढेको छ।

वीरगन्जमा मङगलबार प्रहरीले पनि अरु दिनको जस्तो कडाइ गरेको छैन । लकडाउनको ७० औं दिन पुग्दा समेत सरकारले लकडाउनको विकल्प खोज्नुको सट्टा अझ १२ दिन लकडाउन थपेको भन्दै व्यापारीले अब लकडाउनलाई मानेर पसल बन्द गर्न नसकिने बताए।

साढे २ महिनादेखि पसल बन्द हुँदा पसलको भाडा , कामदारको तलब , बैंकबाट लिएको ऋणको ब्याज तिर्न नसक्दा दिन दिनै ऋणको भार थपिदै गएको भन्दै उनीहरुले बालबच्चा समेत भोकै पर्ने अवस्था आएपछि पसल खोल्न बाध्य भएको बताए।

सोमबार वीरगन्जमा गरिएको प्रदर्शनमा व्यापारीले सानो र मझौला व्यापारीको लागि राहत, पसलको भाडा मिनाहा, बैंक ब्याज, विद्युत महशुल, सटरभाडा र करमा छुटको माग पनि गरेका थिए ।

विद्युतीय व्यवसायी संघ पर्साका संस्थापक अध्यक्ष सिताराम सर्राफले भने, 'सरकारले यदि पूर्णरुपमा पसल खोल्न पहल गरेन भने आन्दोलन पनि गर्छौं। '

वीरगन्जको माइस्थानका बिजुली पसले सन्तोष सर्राफले भने, 'अढाइ महिनादेखि पसल व्यवसाय बन्द गरेर सरकारलाई सहयोग गरेकै हो , तर अब बन्द गर्न सकिन्न, त्यसैले सरकारले लकडाउनको विकल्प दिनैपर्छ।'
 
वीरगन्ज आदर्शनगरका व्यापारी घनश्याम मिश्राले भने, 'लकडाउन गरेर सरकार सुतिसकेको छ, जनता के गरी खान्छन् सरकारलाई कुनै मतलब छैन, अब थेग्नै नसकेपछि बाध्य भएर पसल खोलेका हौं।'

आर्दशनगरकै अर्का व्यापारी सचिन अग्रवालले भने, 'बजार पसल मात्रै बन्द गरेर कोरोना रोकिन्न ,यदि सरकारले घरभाडा, स्टाफ खर्च, खाना देओस् हामी एक वर्षसम्म पसल बन्द गरेर राख्छौं।'

उनले थपे, 'पसल खोल्नु रहर होइन बाध्यता हो , हाम्रो पनि परिवार छ, बालबच्चा छन्, चोरी गर्नु भएन पसल खोल्नै पर्छ त्यसको विकल्प छैन।'पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीत बस्नेतले व्यापारीले पसल खोलेर लकडाउन उल्लंघन गरेको बताए । 

संक्रमण नफैलिओस् भन्ने उदेश्यले नै लकडाउन गरिएको भन्दै उनले भने, 'व्यापारीलाई केही विकल्प दिन सकिन्छ कि भन्ने विषयमा उद्योग वाणिज्य संघसंग छलफल गरिनेछ , त्यहाँबाट आउने सुझाव गृहमन्त्रालयमार्फत संघीय सरकारमा जाहेर गर्छौं ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.