मोटरसाइकलको 'ट्याङ्की'बाट २२ लाख बरामद
वीरगन्ज : भारतसँग सीमा जोडिएको पर्साको गाउँबाट सशस्त्र प्रहरीले बिहीबार बिहान श्रोत नखुलेको ठूलो रकमसहित १ युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले पर्साको बाहुदरमाई नगरपालिका–५ भौराटारका २० वर्षीय प्रकाश साहलाई २२ लाख ४८ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।
सीमावर्ती क्षेत्र भिस्वाबाट आफ्नो गाउँ भौराटार जाँदै गरेका साह सवार ना ४३ प २८०२ नम्बरको मोटरसाइकल छिपहरमाई गाउँपालिका ४ बन्जारीमा सशस्त्र प्रहरीले चेकजाँच गर्दा २२ लाख ४८ हजार रुपैयाँ बरामद भएको हो ।
विशेष सूचनाको आधारमा बन्जारीमा साहको मोटरसाइकल चेक गर्दा मोटसाइकलको ट्यांकीमा बनाइएको फल्स बटम भित्रबाट हजार, पाँच सय, सय र ५० का नोटहरु बरामद भएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिस्वाका सशस्त्र प्रहरी निरीक्षक हरिकुमार पराजुलीले जानकारी दिए ।
साहले रकमको श्रोत खुलाउन नसकेकाले उनलाई रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको सशस्त्र प्रहरी निरीक्षक पराजुलीले बताए ।
प्रतिक्रिया दिनुहोस !