ट्रक दुर्घटनामा चालक वेपत्ता
डडेल्धुरा : केआइसिंह राजमार्गअन्र्तगत अमरगढी नगरपालिका १० राई भन्ने स्थानमा ट्रक दुर्घटना भएको छ । शनिबार राति ११ बजे ट्राफिक प्रहरी पोष्ट स्याउलेमा इन्ट्री गरी धनगढीबाट बाजुराका लागि सिमेन्ट लैजाँदै गरेको ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
ना ५ ख २२४६ नं को मालबहाक ट्रक बिहान केआइसिह राजमार्गअन्तरगत राँइ नजिकै दुर्घटनामा परेको हो । सडकबाट करिब १०० मिटर तल खसेको र स्याउले इन्ट्री पोस्टमा चालकमात्रै रहेको विवरण प्राप्त भएपनि क्षतिको एकिन विवरण आउन सकेको छैन ।
उद्धारमा कठिनाई भएकाले ट्रकमा कति मानिस सवार थिए भन्नेबारे एकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिए । 'घटनाको विवरण अहिले आएको छैन, इन्ट्री पोस्टको विवरण अनुसार १ जना चालक मात्रै सवार रहेको बुझिएको छ,उनले भने, 'चालकको अवस्था अज्ञात छ ।'
आइतबार बिहान स्थानीयले ट्रक पल्टिएको देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !