डडेल्धुरामा पहिलोपटक स्वास्थकर्मीलाई कोरोना
डडेल्धुरा : डडेल्धुरामा पहिलोपटक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार कोरोना पुष्टि भएका सात जनामध्ये एक जना स्वास्थ्यकर्मी पनि रहेका छन् । डडेल्धुरा अस्पताल नजिकै रहेको एक मेडिकलमा कार्यरत १८ वर्षकी युवतीमा कोरोना देखिएको हो ।
उक्त मेडिकल डडेल्धुरा अस्पतालमा कार्यरत एक कर्मचारीले सञ्चालन गरेका हुन्। कोरोना संक्रमित युवतीकी आमा डडेल्धुराको एक सरकारी कार्यालयमा कार्यरत कमचारी हुन् ।
ती युवतीमा कोरोना संक्रमण भेटिएपछि अहिले उनीसँग सम्पर्कमा रहेकाको खोजी कार्य गरी कोरोना परीक्षणका लागि स्वाब लिने काम भइरहेको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर सुपरभाइजर तथा कोभिड १९ डडेल्धुराका सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले बताए।‘संक्रमित युवतिसँग सम्पर्कमा रहेकाको पहिचान भइसकेको छ, परिवारका सदस्य र केही स्वास्थ्यकर्मीको स्वावसमेत लिइएको छ’, कोभिड १९ सम्पर्क व्यक्ति भट्टले बताए ।
मंगलबार पनि डडेल्धुरा नवदुर्गा गाउँपालिकाका एक २२ वर्षीय पुरूषमा कोरोना देखिएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । डडेल्धुरामा कोरोना संक्रमितको सख्या १५ पुगेको छ । धनगढीस्थित कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुरामा आठ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरुमध्ये स्वास्थ्यकर्मीबाहेक सबै भारतबाट आएका हुन् ।
प्रतिक्रिया दिनुहोस !