राहतमा 'राजनीति' : मजदुर र विपन्न परिवार भोकभोकै
वीरगन्ज : 'पेटभरि खान नपाएको अढाइ महिना भइसक्यो', दुवै खुट्टा नचल्ने २२ वर्षीय शीवशंकर मुसहरले भने, 'देखिहाल्नु भयो मेरो जीउ नै चल्दैन, भोकै परेका दिन बुढी आमा रोएरै रात बिताउँछिन् ।'
बुढेसकालमा सहारा बन्नु पर्नेमा उल्टै बुढिमाउको लागि आफ बोझ भएको भन्दै शीवशंकरले भने, 'आमाको आंशुले मलाई पोल्छ तै पनि म केही गर्न सक्दिनँ सारै लाचार छु ।' लकडाउनको ८० दिन भइसक्दा पनि पर्साको जिराभवानी गाँउपालिका वडा नम्बर ५ मा सरकारबाट अहिलेसम्म राहत पुग्न सकेको छैन । जसका कारण विकलांग शिवंकरका आमा छोरा झैं ती वडाका अति विपन्न, गरिब र दलितको बिजोग छ ।
पर्सा जिल्लाका १४ पालिकाका गरी कुल ११२ वटा वडा छन् । ११२ मध्ये १११ वडामा स्थानीय र प्रदेश सरकारबाट दुईपटक राहत वितरण भइसकेको छ ।

लकडाउनमा ज्याला मजदुरीको काम पनि बन्द छ । त्यसैले गाँउघरमा कसैले अैचोपैचो दिए त्यो दिन उनीहरुको घरमा चुल्हो बल्छ नभए भोकै सुत्न बाध्य छन् ।
'अरु वडामा दुईदुईपटक राहत पाइसके', वडा नम्बर ५ शंकरसरैयाका दलित चन्द्रिका हजरा दुसादले भने, 'तर हाम्रो वडामा ८० दिन भइसक्दा पनि राहतको नाममा एक गेडो चामल पनि पाइएको छैन ।'
दलितवस्तीकै बनिया देवी मुसहरले भनिन्, 'अहिलेसम्म सरकारले राहत बाडेको छैन, गाउँघरमा कसैले काममा बोलाए वा पैचो दिएका दिन चुल्हो बल्छ , नपाएका दिन भने पेट बाँधेर भोकै सुत्छौं।' लकडाउन सुरु भएपछि चैतको अन्तिम सातामै वडा अध्यक्षले राहतका लागि फारम भरेर लगेको तर अहिलेसम्म गाँउमा राहत बाड्न नआएको अर्का दलित जयकिसुन पासवानले गुनासो पोखे । 'लकडाउनमा छोराको पनि काम बन्द छ, हामी बुढाबुढीको हातपाउ चल्दैन', जयकिसुनले भने, 'पसलले अब उधारो दिन मान्दैन, धेरैले यताउताबाट मागेर ल्याएका दिन खान्छौं, नभए भोकै सुत्छौं।'
गाउँपालिकाले पठाएन मैले कहाँबाट बाड्नु : वडा अध्यक्ष
जिराभवानी गाँपाको वडा नम्बर ५ मा शंकरसरैया, हरैया, सखुवनीया र कडौंली चार गाउँ छन् । ती चारै गाँउमा राहतको आवश्कयता रहेका ९ सय परिवारको सुची वडा अध्यक्षले तयार पारेर चैतको अन्तिम हप्तामै गापा कार्यालयमा पठाएका थिए । ९ सयमध्ये आधाभन्दा बढी दलित परिवार छन् ।
वडा अध्यक्ष दारा सिंह राउतले भने, 'गाउँपालिकाकै अरु ४ वटा वडामा दुई चरणको राहत गाँपालिकाले पठाएर वितरण भइसकेको छ तर हाम्रोमा राजनीतिक पुर्वाग्रहले राहत पठाइएको छैन ।'
वडा अध्यक्ष राउत , राप्रपाबाट निर्वाचित हुन् । गाँउपालिका अध्यक्ष, उपाध्यक्ष र बहुसंख्यक वडा अध्यक्ष तत्कलीन एमाले र हालको नेकपाबाट निर्वाचित हुन् । 'बोर्ड बैठकमा एमालेको बहुमत छ, मेरो कुरा सुनुवाइ नै हुँदैन', उनले भने, 'राहतका लागि सिडिओ साबलाई पनि भेटेर गुनासो राखें, तर केही भएन ।'
चैतको अन्तिम सातामै ९ सय परिवारको सूची बनाएर गाउँपालिका कार्यालयमा पठाइसकेको भन्दै उनले भने, 'अब गाउँपालिकाले नै नपठाएपछि मैले कहाँबाट ल्याएर बाड्ने ?'

राजनीतिक पूर्वाग्रह : गापा अध्यक्ष
गाउँपालिका अध्यक्ष रामप्रित महत्तोले पनि राजनीतिक आग्रह–पूर्वाग्रहले वडा नम्बर ५ मा राहत वितरणमा ढिलाइ भएको स्वीकारे । राहत पाउनुपर्नेको नाम सूचीकृत गर्दा पूर्वाग्रही ढंगबाट तयार गरिएको भन्दै उनले त्यही कारण समस्या भएको बताए ।
'गापाको सर्वदलीय बैठकले १५ केजीका दरले चामल वितरण गर्ने निर्णय गरयो', उनले भने, 'तर केहि नेताले जनता उचालिदिए, जनताले ३० केजी चामल चाहिन्छ भनेर विवाद गरे, त्यसैले राहत वितरणमा ढिलाइ भएको हो ।'
गापाले अहिलेसम्म राहत वितरणमा मात्रै १ करोडभन्दा धेरै खर्च गरिसकेको पनि उनले जानकारी दिए । गापाका ५ हजार २ सय ५० परिवारलाई २ हजार ५ सय रुपैयाँ बरबारको खाद्यान्न सामाग्री खरिद गरेर राहतमा बाडिएको उनले बताए ।
अरु सबै चार वटा वडमा २ चरणको राहत वितरण भइसकेको र अब वडा नम्बर ५ मा पनि छिट्टै राहत वितरणको काम हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस !