आमा-छोरीलाई असारको चटारो : आफैँ हली, बाउसे र रोपाहार (फोटो फिचर)
पोखरा : कोरोनाभाइरस महामारीका बावजुद नेपाली किसानलाई असारको चटारो छ । मानो रोपेर मुरी फलाउन उनीहरु धान रोप्न ब्यस्त छन् ।
पोखराको फेवाताल किनारको सेदी फाँटमा भने भिन्न दृश्य देखिएको छ । यहाँ आमा र तीन छोरी मिलेर आफैँ हली, बाउसे र खेतालाको काम गरिरहेका छन् । भोजपुर घर भइ पोखरा बस्दैआएको यो परिवारको घरमूली हुन् देउकुमारी राई । पतिले लालाबाला छाडेपछि तीन छोरी र एक छोराको परिवारलाई लालनपालन गर्ने जिम्मा देउकुमारीलाई नै छ ।

दुई वर्षअघिसम्म बाबा सँगै हुँदा बिहान बेलुका बाबा आमालाई सघाउने र दिउँसो स्कूल जाने छोरीहरुको दैनिकी पनि फेरियो । ‘अहिले हामीले ताल किनारमा ८ रोपनी जग्गा अधियामा लिएर ढाप खेतमा आफैँ खान्ने, हिल्याउने र धान रोप्ने गरेका छौं,’ माहिली छोरी सुनिताले सुनाइन् ।

गोरु नगढ्ने खेतमा भने गोरु नै जुटाएर धान रोप्ने गरेको उनले बताइन् । असार लागेपछि बिहानैदेखि खेतमा हुन्छ यो परिवार । आफैँ बाँझो जमीन खन्नेदेखि हिल्याउने र रोप्दै गरेको देखेपछि लेकसाइड बसेका पर्यटक समेत उनीहरुको कामप्रति आकर्षित बने । ‘भाइ भर्खर ४ पास भएर ५ कक्षामा गयो । हामी तीन दिदी बहीनीहरुले आर्थिक कारणले पढाइ स्कुलमै रोक्यौँ,’ सुनिताले सुनाइन् ।



प्रतिक्रिया दिनुहोस !