पर्वतका ८ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज

पर्वतका ८ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज

पर्वत : कोरोना संक्रमण देखिएका पर्वतका ८ जना निको भएर घर फर्किएका छन् ।  गत जेठ २० गते पहिलोपटक संक्रमण देखिएकाको बिहीबार दोस्रो रिपोर्ट नेगेटिभ आएपछि अस्पतालवाट डिस्चार्ज भएका हुन् । 

पर्वतको कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा उपचाररत उनीहरुमध्ये फलेबास नगरपालिका –१० कुर्घाका २ जना, महाशिला गाउँपालिका –३ का ३ जना तथा फलेबास नगरपालिका –११ र फलेवासकै वडा नं. २ का १–१ जना छन् । त्यस्तै बिहादी गाउँपालिका वडा नं. –४ का १ जना रहेको पर्वत अस्पतालले जनाएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको दोस्रो पटक स्वाब परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएपछि बिहीबार अबेर उनीहरुलाई स्थानीय तहको क्वारेन्टाइनमा पठाइएको जिल्ला अस्पताल पर्वतको प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिए । उनीहरुसँगै संक्रमण देखिएका बिहादीका पुरुषमा भने दोस्रो पटक पनि रिपोर्ट पोजिटिभ आएको छ ।

बिहीबारै पर्वतमा थप ९ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै पर्वतमा संक्रमितको संख्या ३८ पुगेको छ । त्यसमध्ये ४ महिला र ३४ पुरुष छन् । बिहीबार ८ जना निको भएर फर्किएसँगै सक्रिय संक्रमितको संख्या ३० जना भएको स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत एवं कोरोना रोकथाम जिल्लास्तरीय कमाण्ड फोर्सका सूचना अधिकारी प्रविण भण्डारीले बताए । उनका अनुसार संक्रमणमुक्त हुनेले कम्तीमा दुई सातासम्म आ–आफ्नो घरमा गएर होम क्वारेन्टाइनमा बस्नुपर्ने छ । 

उनीहरुलाई फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्मा, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले बिदाइ गरेका हुन् । कार्यक्रममा फलेवासका नगरप्रमुख पदमपाणी शर्माले डिस्चार्ज भएकालाई घरमा गएपछि पनि कम्तिमा एक साता डाक्टरको सुझाव पालना गर्न आग्रह गरे । घरमा छोराछोरी, श्रीमती र वृद्धवृद्धा आमाबाबुको स्वास्थ्यलाई मनन गरेर आवश्यक सावधानी अपनाउन आग्रह गरे । उनले स्थानीय तहले विदेशबाट फर्किएका नागरिकलाई स्वदेशमै रोजगारी दिनका लागि विभिन्न कार्यक्रम ल्याउन लागेको समेत बताए । 

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले डाक्टरको निर्देशन र सुझाव पालना गर्न आग्रह गर्दै कुनै स्वास्थ्य समस्या आएमा तत्काल चिकित्सक वा जनप्रतिनिधिसँग सम्पर्क गर्न आग्रह गरे । 

यसैबीच कोरोना जितेका व्यक्तिले तातोपानी र जडिबुटी खाएर ठिक भएको बताएका छन् । कोरोना निको भएर घर जान लागेका फलेवास–१० का सेतु सुवेदीले कोरोना रोग त्यति ठूलो नभएको बताए । उनले यो ठूलो रोग नभइ आवश्यक सावधानी अपनाए ठिक हुने बताए । उनले तातोपानी, अदुवा, बेसार लगायत आर्युवेदिक औषधी खाएर कोरोना निको पारेको बताउँदै आफूलाई कुनै लक्षण नदेखिएको बताए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.