गण्डकी प्रदेशमा खेलकुदका योजना धेरै, बजेट कम

गण्डकी प्रदेशमा खेलकुदका योजना धेरै, बजेट कम

पोखरा : गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेटमा खेलकुद विकास र पूर्वाधारका लागि आठ करोड ३५ लाख रुपैयाँ छुट्ट्याएको छ। आगामी आर्थिक वर्षका लागि सोमबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेका हुन्। त्यसमा खेलकुद क्षेत्रका लागि भने आठ करोड ३५ लाख रुपैयाँ छुट्ट्याइएको हो।

प्रदेशमा समग्र खेलकुदको विकासका निम्ति खेलकुद क्षेत्रको नीति, कानुन, संरचना र पूर्वाधार निर्माणमा जोड दिइएको उनले बताए। प्रदेशस्तरीय बहुउद्देश्यीय रंगशाला, क्रिकेट रंगशाला, गल्फ कोर्स, स्की, हाई अल्टिच्युड खेलकुद तालिम केन्द्र, जिल्लास्तरीय रंगशाला र एक स्थानीय तह एक खेल मैदान निर्माणका लागि रकम विनियोजन गरिएको उनले बताए।

यसैगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना र समग्र खेलकुद क्षेत्रको विकासका लागि आवश्यक बजेट छुट्ट्याएको उनले बताए। मुख्यमन्त्री कप फुटबल प्रतियोगितालाई निरन्तरता र राष्ट्रिय खेलकुद परिषद्बाट पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने गण्डकी प्रदेशका खेलाडीको आवश्यक व्यवस्थापन र प्रशिक्षणका लागि एक करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी पनि उनले दिए।

प्रदेश सरकारले विभिन्न प्रतियोगितामा सफलता हात पार्ने खेलाडीहरूलाई पुरस्कृत गर्न पनि आवश्यक रकम व्यवस्था गरिएको मन्त्री गुरुङले जानकारी दिए। प्रदेशको खेलकुद क्षेत्रमा लामो समयदेखि लागेका अग्रजहरूले भने प्रदेश सरकारले खेलकुद क्षेत्रमा विनियोजन गरेको बजेटलाई ‘योजना धेरै बजेट कम। कनिका छरेजस्तो बजेट’को संज्ञा दिएका छन्।

पूर्वराष्ट्रिय खेलाडी खड्ग रानाभाट कोरोना भाइरसको महामारीले विश्व अर्थतन्त्रमै गम्भीर असर परेको अवस्थामा पनि गण्डकी प्रदेश सरकारले खेलकुद क्षेत्रको विकास र पूर्वाधारमा छुट्ट्याएको बजेट ठिकै भएको बताउँछन्। ‘असहज परिस्थितिमा आएको बजेट भएकाले खेलकुद क्षेत्रका लागि छुट्ट्याएको रकम ठिकै मान्नुपर्छ। तर, धेरै शीर्षक समेटेकाले कनिका छरेजस्तो पो हुने हो कि भन्ने लागेको छ’, उनी भन्छन्, ‘खेलकुद विकास र पूर्वाधारमा मात्र छुट्ट्याएको भए परिणाम देखिने गरी काम हुन्थ्यो। थोरै बजेट धेरैतिर छर्दा पैसा खर्च हुने तर नतिजा नदेखिने अस्था आउन सक्छ।’ चालू अर्थिक वर्षमा छुट्ट्याएको बजेटसमेत हालसम्म खर्च नभएको पनि उनले बताए।

यसैगरी नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङ आशा गरेअनुसार बजेट नआएको धारणा राख्छन्। ‘पोखरामा बृहत् नवौं राष्ट्रिय खेलकुद आयोजना हुने भएकाले आगामी वर्षको बजेट खेलकुदमुखी हुने अनुमान थियो। खेलकुद विकास र पूर्वाधारमा धेरै बजेट आउला भन्ने लागेको थियो। तर, आशा गरेअनुसार बजेट आएन’, उनले भने। उनले पनि चालू आर्थिक वर्षको खेलकुद बजेटसमेत खर्च नभएको दु:खेसो पोखे। ‘पशुपतिघाटस्थित करिब चार सय रोपनी क्षेत्रफलमा निर्माण हुने क्रिकेट मैदानका लागि छुट्ट्याइएको डेढ करोड रुपैयाँ खर्च हुन सकेन। गल्फमा छुट्ट्याएको ५० लाख र पर्वतीय खेलकुद तालिक केन्द्रका लागि छुट्ट्याइएको ५० लाखलागयत विभिन्न शीर्षकको बजेट खर्च भएन। त्यसैले कार्यान्वयन पक्षमा सरकारले ध्यान दिनुपर्छ’, उनले भने।

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल पनि छुट्ट्याइएको बजेट नै खर्च नहुनु प्रमुख समस्या रहेको बताउँछन्। ‘अरू प्रदेशको तुलनामा गण्डकी प्रदेश सरकारले खेलकुदमा छुट्ट्याएको बजेट कम हो। संघीय सरकारले पनि खेलकुद क्षेत्रमा गण्डकी प्रदेशलाई बजेट छुट्ट्याएकाले पनि होला’, उनी भन्छन्, ‘चालू आर्थिक वर्षमा प्रदेश सरकारले खेलकुद क्षेत्रमा छुट्ट्याएको बजेट खर्च नै भएन। आगामी वर्ष पनि छुट्ट्याएको बजेट नै खर्च हुँदैन कि भन्ने प्रमुख चिन्ता र चासो हो। पशुपति घाटमा निर्माण हुने भनिएको क्रिकेट रंगशाला निर्माणका लागि बजेट छुट्ट्यायो तर विस्तृत परियोजना प्रतिवेदनसमेत बनाउन सकेन।’
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.