पर्खालभित्रका बाबालाई घर लैजान आतुर बालबालिका
डडेल्धुरा : भारतका विभिन्न शहरबाट डडेल्धुरामा पाँच हजार बढी मानिस भित्रिएका थिए । उनीहरूमध्ये ११ सय ३७ जना अझै पनि क्वारेन्टाइनमा छन् । यीमध्ये धेरैजना क्वारेन्टाइनमा बसेको तीन साता पुग्न लागेको छ । तर पनि पीसीआर रिपार्ट आएको छैन ।
आरडिटी पोजिटिभ आउँदा झमेलामा परेको भारतको बैङ्लोर शहरबाट आएका गोपाल कठायत भन्छन्, 'पीसीआर रिपोर्ट दुई हप्ताभन्दा बढी समय कुर्दा पनि आएन । कोरोना परीक्षणका लागि सेती प्रादेशिक अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाउँदा रिपोर्टमा ढिलाइ भएको स्वास्थ्यकर्मी बताउँछन् ।'
गौरिफण्डा नाकाबाट सोझै क्वारेन्टाइन पुगेका मानिस आफ्नै देश पनि विदेश जस्तै लाग्न थालेको बताउँछन् । कोरोना महामारीको डरले घरपरिवार र छोराछोरीको मुखसमेत देख्न नपाउँदा नैराश्यता आउने क्वारेन्टाइनमा रहेकाको भनाइ छ । क्वारेन्टाइनमा बसेकाका जाहान परिवारका र छोरा छोरी पनि बाबा कहिले घर आउलान् भनेर बाटो कुरिरहेका छन् ।
_20200628081528.jpg)
साना छोरोछोरी बाबालाई भेट्न र घर लैजान आतुर छन् । फुर्सदको समयमा क्वारेन्टाइनमा बाबा हेर्न आएका बालबालिकाले विध्यालयको पर्खाल तथा डोरीबाट नियालेर हेरेको देख्न सकिन्छ । ८५ बालबालिका पनि अहिले क्वारेन्टाइनमा छन् । उनीहरू आफ्ना बाबाआमा सँगै क्वारेन्टाइनमा बसिरहेका जिल्ला प्रशासन कार्यालय डडेल्धुराको तथ्याकंमा उल्लेख छ । क्वारेन्टाइन भित्र रहेका बालबालिका पनि खुला चौरमा खेल्न र रमाउन खोजिरहेका छन् । उनीहरू पनि घरजान चाहेका शहस्त्रलिंग मावि राईको क्वारैनटाइनमा रहेका एक बालकका अमाले बताइन् ।
बाबा घर आएको खवरले हर्षित बनेकी परशुराम नगरपालिका १२ की १० वर्षीया आयुषा विक अचेल धेरै दिनदेखि टोलाइरहन्छिन् । अमाले खाना बोलाउँदा पनि झर्किर्ने आयुषा बाबा घर आउँदैछन् भन्ने सुनेपछि मात्रै मुस्काराउने गरेको उनकी आमाले बताइन् । नयाँ लुगा र मिठो खानेकुरा बाबाले ल्याउँदै छन् भनेपछि मात्रै खान्छिन् नत्र दिनभर छोरी निराश बस्ने गरेको उनकी आमाको भनाइ छ ।
आफ्नै पढ्ने स्कुलमा बाबा रहेका थाहा पाएपछि झनै बाबा किन घर आइरहेका छैनन, भन्दै आमालाई सोधि रहन्छिन् । अमाले जति सम्झाए पनि नमानेपछि दुईतीन पटक स्कुलसम्मै पुर्याएर बाबालाई टाढाबाट देखाएको आयुषाकी आमाले वताईन । पर्खालभित्र रहेका बाबालाई घर लैजान आएको आयुषाले बताइन् । उनले भनिन्,‘बाबाको काखमा नबसेको धेरै भयो त्यसैले लैजान आमासितै आएँ, बाबासँगै घर जाने ।’
आयुषाका बाबा मुम्बैमा लकडाउनका कारण जागिर छुटेपछि घर फर्किएका हुन् । उनी घरफर्किएको पनि २० दिन भइसक्यो । गौरिफण्डा नाकाबाट नै उनले घरमा आफू आएको खवर सुनाएका थिए । सो कुरा उनकी छोरीले पनि थाहा पाएकी थिइन् । तर २० दिन बित्दा पनि बाबालाई घरमा नपाउँदा छोरीसहित घरपरिवारका अन्य मानिस निराश बनेका छन् ।
_20200628081520.jpg)
परशुराम नगरपालिका तुलाभाडिकी ८ वर्षीया सुस्मिता नेपालीले पनि बाबाको बाटो कुरी बसेको १८औं दिन भयो । उनका बाबा जनक दमाईं भरतको बैङलोर सहरबाट आएका हुन् । उनका घरमा श्रीमती, आमाबाबु र अन्य दुई छोरोछोरी पनि छन् । १८ दिनअघि गाउँमा पुगेका बाबा घर नआउँदा सबै निराश छन् ।
बुधबार भने जनक दमाईसहित ३१ जनाको आरडिटि परीक्षण गर्दा रिपार्ट नेगिटभ आएको जनाएका छन् । सबै जना आज घर जान दिइने जोगबुडा अस्पतालले बतायो ।
सोही स्थानकी १२ वर्षीया रोहिता दमाईले पनि बाबाको बाटो कुरेको १६ औं दिन भयो । आज उनका बाबा कालु दमाईको आरडिटी परीक्षण हुँदा रिपोर्ट नेगेटिभ आएकाले घर जाने भएका छन् । रोहिता आज भने हर्षित छिन् । उनी बाबालाई घर लैजान गाउँ नजिकै रहेको क्वारेन्टाइनमा पुगेकी छिन् । उनीसहित उनका समुदायका अन्य पनि आफन्तलाई भेट्न र घर लैजान शैलेश्वरी मावि तुलाभाडी पुगेका छन् ।
पछिल्लो समयमा ६० जना रहेको उक्त क्वारेन्टाइनबाट आज ३१ जना घर जाँदैछन् । उनीहरूलाई आरडिटी गराएर रिपोर्टका आधारमा घर पठाइन लागेको परशुराम नगरपालिकाका कार्यपालिका सदश्य हरिना कामीले बताइन् । तीन लट घर गइसकेको जनाउँदै कार्यपालिका सदश्य हरिनाले भनिन, ‘२९ जना अझै क्वारेन्टाइनमा छन् ,भारतबाट आउनेको संख्या थपिन सक्छ ।’
समय पुगेर घर गइरहेका सबैका आफन्तले क्वारेन्टाइनबाहिर बिहानदेखि नै भीड थियो। आज समय पुगेकालाई मात्रै रिपोर्ट हेरी घर पठाइएको जागेवुडा अस्पतालका मेसु जितेन्द्र चौधरीले बताए । घरमा परिवारिक अवस्था कमजोर भइ कामका लागि भारतका विभिन्न सहरमा पुगेका परशुराम १२ मा मात्रै २ सय बढी मानिस अहिले घर फर्किएका छन् । उनीहरू लकडाउनका कारण काम गरिरहेको होटल, कम्पनी, फेक्ट्रिबाट निकालिंदा बाध्य भएर घर फर्किएका हुन्।
भारतबाट फर्किएका मानिसलाई रोजगार र घरपरिवारको चिन्ता छ । अब स्थानीयस्तरमा नै केही व्यवसाय गर्ने सोचमा उनीहरू छन् । स्थानीय सरकारले स्वारोजगारका लागि पहल गरिदिनु पर्ने उनीहरूको चाहना रहेको छ ।
_20200628081528.jpg)
_20200628081528.jpg)
प्रतिक्रिया दिनुहोस !