असार १५ मै आधा रोपाइँ

असार १५ मै आधा रोपाइँ

दाङ : प्रदेश ५ मा करिब ४० प्रतिशत रोपाइँ सकिएको छ। विगतभन्दा यो वर्ष रोपाइँ चाँडो भएको छ। वर्षात्को पानीले साथ दिएपछि यो वर्ष किसानले बेलैमा रोपाइँ थालेका छन्। सरकारले मागअनुसार मल उपलब्ध गराउन नसकेपछि मलबिनै रोपाइँ गरिएको छ।

दाङका किसानले पनि मलबिनै करिब आधा रोपाइँ गरेका छन्। रासायनिक मल अभावका कारण असार १५ (धान दिवस) मा पनि किसानमा उत्साह देखिएन। तीनै तहका सरकारले किसानका समस्या नबुझ्दा हरेक वर्ष मल र बीउको अभाव झेल्नुपरेको छ।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा अबको केही दिनमा नै शतप्रतिशत रोपाइँ हुनेछ। गत वर्षमा यो समयमा १५ देखि २० प्रतिशतमात्र रोपाइँ भएको थियो। यस वर्ष समयमै पानी परेका कारण गत वर्षको तुलनामा दोब्बर बढी धान रोपिएको छ।

‘जिल्लामा अहिले करिब ४० प्रतिशत रोपाइँ भइसकेको कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले जानकारी दिए। राप्ती गाउँपालिकामा रोपाइँ सकिएको छ। घोराही, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राजपुर, गढवा दंगीशरण बबई र शान्तिनगर गाउँपालिकालगायतमा रोपाइँ तीव्र गतिमा भइरहेको छ। कोरोनाको महामारीका बीचमा पनि नागरिकले धान रोप्ने कामलाई निरन्तरता दिएका छन्। पानी समयमै परेका कारण यस वर्ष धान पनि समयमै रोपिएको धितालले बताए।

‘पानी समयमै पर्‍यो, विगतका वर्षभन्दा यसवर्ष छिट्टै नै रोपियो’, उनले भने , अहिले जिल्लाका श्रमिकसमेत पर्याप्त छन्।’ जिल्लामा करिब १० बढी प्रजातिको धान रोपिने गरिएको छ। कृषि ज्ञान केन्द्र दाङका अनुसार सुक्खा–१, सुक्खा–२, सुक्खा–३, रामधान, सामामन्सुली, हरिनाथ, विन्देश्वरी, तिल्की र युस–३१२ हाइब्रिड जातको धान लगाउने गरिएको छ। कृषिको उर्वरभूमि दाङमा अन्य खेतीको तुलनामा धान बढी हुने गरेको छ।

उत्पादन बढ्ने अनुमान
जिल्लामा यो वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएको छ। कोरोनाका कारण रोजगारी गुमाएर धेरै नागरिक स्वदेश फिर्ता भएको, घरघडेरीको कारोबार रोकिएको र पानी समयमै परेका कारण यस वर्ष धानखेती बढ्ने अनुमान गरिएको हो।

जिल्लामा यस वर्ष विगतभन्दा करिब ३ हजार हेक्टर बढी क्षेत्रफलमा धानखेती हुने अनुमान रहेको कृषि ज्ञान केन्द्र दाङका प्रमुख धितालले बताए। ‘घरबाहिर रहेका नागरिक धेरै घरमा फर्किएका कारण बाँझो खेतमा धान रोप्न थालिएको छ, समयमै पानी पनि परेका कारण धान खेती बढ्ने अनुमान गर्न सकिन्छ’, उनले भने, विगतमा बाँझो रहने खेतमा पनि रोपिएको छ।’

जिल्लामा विगतका वर्षमा ३८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ। यस वर्ष बढेर ४१ हजार हेक्टर क्षेत्रफलमा हुने अनुमान छ।

जिल्लामा भारतलगायत तेस्रो देशबाट करिब ७ हजार नागरिक घर फर्केको र अधिकांश खेतीपातीमा जोडिने अनुमान गरिएको छ।

‘यसवर्ष उत्साहजनक रूपमा धानखेती भएको छ, विगतका वर्षमा अहिलेकै समयमा पनि २५ प्रतिशत पनि भएको हुँदैन थियो’, उनले भने ‘पर्याप्त सिँचाइ नभए पनि आकासेपानी समयमै परेका कारण पनि रोपाइँ गत वर्षभन्दा बढी भएको छ।’ तुसीपुरका किसान भरत केसीले असार १५ सम्म धानमा राख्ने मल नपाउँदा मल बिना रोपाइँ गरिएको बताए। उनले धेरै दिनदेखि मल खोज्दा पनि नपाएको गुनासो गरे।

मल गोदाम रित्तै
दाङमा रासायिनक मल अभाव देखिएको छ। आधा रोपाइँ हँुदासम्म पनि किसानले मल पाएका छैनन्। सरकारले आवश्यक मात्रामा रासायनिक मल उपलब्ध गराउन नसक्दा अनुदानमा बिक्री गरिने युरिया र डीएपी अभाव भएको सम्बन्धित निकायले जनाएका छन्।

खेतीपातीको समयमा सरकारले पर्याप्त मात्रामा अनुदानको मल उपलब्ध नगराउँदा विगतका वर्षजस्तै यस वर्ष पनि दाङमा रासायनिक मलको मलको अभाव देखिएको हो।

मागका आधारमा मल उपलब्ध गराउन नसक्दा बर्सेनि अभाव हुने गरेको कृषि सामग्री केन्द्र तुलसीपुरका प्रमुख तीर्थराज न्यौपाने बताउँछन्। कृषि केन्द्रले बजार मूल्यभन्दा ७० प्रतिशत सस्तोमा मल बिक्री गर्ने भएकाले मलको माग अत्यधिक छ। अहिले केन्द्रमा मल पूर्णरुपमा सकिएको छ। यस वर्षको धान खेतीका लागि कृषि सामग्री केन्द्रले ७ हजार २ सय ८८ मेट्रिक टन युरिया र ६ हजार ८० मेट्रिक टन डीएपी पनि बिक्री गरिरहेको छ। तर दाङमा ४० हजार मेट्रिक टन आवश्यक हुन्छ।

नेपालभरका किसानका लागि साढे सात लाख मेट्रिक टन मल आवश्यक पर्ने सरकारको तथ्यांक भए पनि विनियोजित रकमले तीन लाखसम्म मात्रै खरिद गर्न पुग्ने उनले जानकारी दिए। साल्ट टे«डिङ कर्पाेरेसन लिमिटेड घोराहीका प्रमुख आनन्द कुमार न्यौपानेले असारको तेस्रा सातासम्म करिब २ हजार ५ सय मेट्रिक टन युरिया दाङमा आउने बताए।

बाँकेमा ४० प्रतिशत रोपाइँ
बाँकेमा असार १५ मा गत वर्षभन्दा यसपटक दोब्बर क्षेत्रफलमा रोपाइँ भएको छ। कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालका अनुसार जिल्लामा धानखेती हुने ३६ हजार पाँच सय हेक्टरमध्ये ४० प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ।

हरेक दिन कम्तीमा पनि ५ प्रतिशतका दरले रोपाइँ भइरहेकाले असारको अन्तिमसम्म धेरै क्षेत्रफलमा रोपाइँ सम्पन्न हुनसक्ने ढकाल बताउँछन्। जिल्लाका सबै स्थानीय तहमा रोपाइँ जारी रहे पनि राप्ती सोनारी, खजुरा, जानकी र बैजनाथ गाउँपालिकामा अलि बढी रोपाइँ भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.