बाख्रा अनुसन्धानमा सफलता

बाख्रा अनुसन्धानमा सफलता

बन्दीपुर (तनहुँ): लकडाउनको समयमा धेरै सरकारी काम ठप्प छन्। तर, तनहुँको बन्दीपुरमा रहेको बाख्रा अनुसन्धान केन्द्रको काम भने तीव्र गतिमा भइरहेको छ। केन्द्रका वैज्ञानिक दिनरात काममा खटिरहेका छन्।

केन्द्रका प्रमुख वरिष्ठ पशु वैज्ञानिक राजु कँडेल भन्छन्,‘लक डाउनमा पनि हाम्रो काममा खासै प्रभाव परेको छैन।’ कँडैलसँगै केन्द्रका अरु दुई पशु वैज्ञानिक र केही पशु प्राविधिक काममा तल्लिन छन्। ‘नेपाली माटो अनुकूलको शुद्ध बोअर उत्पादनको अध्ययन अनुसन्धानमा लक डाउनले प्रभाव पारेको छैन’, उनले भने। उनले यसो भनिरहँदा केन्द्र रहेको बन्दीपुर गाउँपालिकाका ११ जनामा कोभिड १९ पोजिटिभ देखिएपछि गाउँपालिकालगायत कार्यालय र निजी क्षेत्र पनि एक सूचना निकाल्दै साता दिनका लागि बन्द भए। तर यसले पनि बाख्रा जातिको अध्ययन अनुसन्धानमा खासै प्रभाव पार्न सकेन।

संवेदनशील अनुसन्धान भएकाले संक्रमणको जोखिमका कारण अरु बेला पनि केन्द्रमा प्रवेश गर्नेका लागि कडाइ हुन्छ। कोरोनाको संक्रमण देखिएपछि केन्द्र प्रवेश गर्न झनै कडाइ छ। मास्क र स्यानिटाइजर लगाएर जान पनि पूर्वअनुमति आवश्यक पर्छ। यसले पनि बाहिरको जोखिम भित्र नआउने आशमा वैज्ञानिक ढुक्कसँग अनुसन्धानमा तल्लिन छन्।

देशको मध्य पहाडी क्षेत्रका बाख्रा उत्पादक किसानका लागि नयाँ जात विकास र सिफारिसको जिम्मा पाएको केन्द्रका वैज्ञानिकले यसबीचमा आशालाग्दो नतिजा निकाल्न सफलता पाएका छन्। देशमा सबैभन्दा बढी माग भएको बोअर जातको बाख्रालाई स्थानीय खरी जातसँग क्रस गरेर केन्द्रका वैज्ञानिकले नेपाली माटो सुहाउने शुद्ध बोअर विकासमा धेरै हदसम्म सफलता पाएका छन्। ‘हामीले नेपाली माटोका लागि सुहाउने शुद्ध बोअर अनुसन्धानमा ९३ प्रतिशतसम्म सफलता पाएका छौं’, केन्द्रका प्रमुख वरिष्ठ वैज्ञानिक राजु कँडेलले भने, ‘अबको केही समयमा पूर्णरुपमा शुद्ध नेपाली बोअर विकासमा सफल हुनेछौं।’

बाख्रा अनुसन्धान केन्द्रमा विकसित बोअरका स्थानीय क्रस प्रजाति।

अस्ट्रेलियाबाट ल्याएको शुद्ध जातको बोअरलाई २०७१ सालदेखि निरन्तर अनुसन्धान गर्ने क्रममा केन्द्रका वैज्ञानिकले ९३ प्रतिशतसम्म शुद्ध स्थानीय बोअर प्रजातिको विकास गरेका हुन्। खँदिलो मासु भएको र पहाडीदेखि समथर भागसम्म पालन गर्न सकिने यस जातिले देशलाई बाख्राको मासुमा आत्मनिर्भर बनाउन मद्दत गर्नेछ। नयाँ विकसित बोअरलाई केन्द्रमा गरिएको परीक्षणका क्रममा दैनिक एक सय ३० ग्रामसम्म मासु बढेको पाइएको छ। केन्द्रबाट सिफारिस स्थानीय जातसँग गरिएको खरीको क्रसबाट पनि किसानले दुई वर्षमा ९० केजीसम्मको बाख्रा उत्पादन गर्न सफलता पाएका छन्।

‘नेपाली किसानले आफ्नै भूमिमा सस्तो र माटो अनुकूल बढी उत्पादन लिन हामीले विकास गरेको बोअर र बोअर क्रस प्रजातिले सघाएका छन्’, अर्का वैज्ञानिक सगुन मल्ले भने,‘हामी यसमा अझ अनुसन्धान मै छौं।’

केन्द्रले नेपाली खरी जातसँग क्रस गर्दा बोअर माटो अनुकूल हुने र जुनसुकै मध्यपहाडी जमिनमा पाल्न सकिने विश्वास लिएर गरेको प्रयोग सफल पनि भएको छ। ‘केन्द्रमा त विशिष्ट वातावरण हुन्छ’, वरिष्ठ वैज्ञानिक कँडेलले भने,‘तर बाहिर किसानमा पनि खरीसँग क्रस गरेका प्रजातिले राम्रो उत्पादन दिएका छन्।’

बाख्राको जात विकास र सिफारिस मात्र नभएर घाँस र आहाराका लागि पनि सिफारिस गर्दै आएको केन्द्रले विकास गरेका जातका बीउ बोकाको माग अधिक भएकाले यसले बाह्य अनुसन्धान केन्द्रका रुपमा किसानका सहकारी र समूहलाई निःशुल्क बीउ बोका दिएर पनि बोका वितरणमा सघाउँदै आएको छ। केन्द्रको क्षमता सीमित भएकाले बाहिरका किसानलाई पनि बीउ बोका उत्पादनमा प्रेरित गरेको केन्द्रको भनाइ छ। अहिले तनहुँको घिरिङ, बरादी, गोरखालगायत ठाउँमा केन्द्रले कृषक समूहलाई दिएको बिउबाट अरु किसानले आफ्ना खरीसँग क्रस गराउने तथा बोका र पाठापाठी खरिद गर्ने गरेका छन्। ‘केन्द्रको क्षमता सीमित भएकाले हामीले सोचेजति बिउ बोका दिन नसकेकाले किसानलाई नै उत्पादनमा सघाउँदा अभाव पनि घट्ने र चाप पनि कम हुने नीतिअन्र्तगत काम भइरहेको छ’, केन्द्र प्रमुख कँडेलले भने। कृषिमा आधारित अर्थतन्त्र भनिए पनि अझै पनि मासु र कृषि उपजमा आत्मनिर्भर हुन नसकेका बेला लकडाउनकै अवधिमा विकास गरिएको नयाँ प्रजातिले देशको भावी दिनको कृषि निर्भरतामा सघाउने यहाँका वैज्ञानिकको विश्वास छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.