संगीत मेरो जीवनसाथी

संगीत मेरो जीवनसाथी

गीत गाउने सानैदेखिको रहर हो प्रविशा अधिकारीको। तर गायिका नै बन्छु भन्ने कुनै सपना थिएन। महिलाले बिजनेस सम्हालेको औधी मन पर्थ्यो उनलाई। उनले पनि व्यापार व्यवसायमै काम गर्नुपर्ला भनेर योजना बनाएकी थिइन्। तर उनलाई गीतसंगीतले कहिल्यै साथ छोडेन। उनी गायन कर्म छाडेर भाग्न खोज्थिन् तर सांगीतिक क्षेत्रको अवसरले उनलाई पछ्याइरहन्थ्यो।

झापा राजगढकी प्रविशा स्कुल पढ्दादेखि नै मिठो गाउँथिन्। एसएलसी सकाएपछि काठमाडौं पसेकी हुन्। संगीत गुरु गुरुदेव कामतसँग उनले करिब दुई वर्ष संगीत सिकिन्। यसै क्रममा झापाकै सञ्चारकर्मी उमेश राउतको सहयोगमा प्रमोद खरेललाई भेट्ने मौका पाइन्। सञ्जोग मान्नुपर्छ प्रमोद खरेलको चर्को फ्यान रहेकी प्रविशाले पहिलो पटक उनीसँग डोयट गीत गाउने मौका पाइन्। गीतको बोल थियो प्रियतमा। तर यो गीत बजारमा आउन केही समय लाग्यो। लगत्तै वसन्त सापकोटाको संगीतमा रहेको मायामा बोलको गीतमा पनि स्वर भरिन्। कसले चोर्‍यो मेरो मन फिल्मको शीर्ष गीत थियो मायामा।

तिमी जहाँ छौ म त्यहीँ नै छु।

तिमी घाम हौ म छाया हुँ।

मेरो मन हुन्छ तिम्रै वरिपरि। मायामा.....

जब यो गीत बजारमा आयो निकै चर्चा कमायो। पहिलो गीतले नै संगीतकार, गीतकार र अग्रजको आँखामा पर्न सफल भइन् उनी। सबैले प्लेब्याकका लागि स्वर राम्रो छ भनेर प्रशंसा गरिरहन्थे। तर पनि उनी सांगीतिक क्षेत्रमा टिकिरहन चाहन्नथिइन्। पढाइ सँगसँगै विदेश यात्राको प्रोसेस चालिरहेकी थिइन्। अमेरिकाले भिसा रिजेक्ट गरिदियो। र पनि हार खाएकी थिइनन्। म्यानेजमेन्ट विषय लिएर पढिरहेकी थिइन्। विदेशकै ध्याउन्नमा लागिरहेकी। संगीतमा पनि काम गरिरहेकी थिइन्। मन लागेर गरेको काममा सफलता पाइरहेकी थिइनन्। तर विकल्पका रूपमा रोजेको पेसाले भने सफलता दिइरहेको थियो।

सुरिलो स्वरकी धनी प्रविशा २०६४ सालदेखि फिल्मका गीत गाउन थालेकी हुन्। पछिल्लो समय लोक, आधुनिक गीतमा पनि स्वर दिएकी छन्। गायनमा फरकफरक शैली अपनाउन मनपर्छ उनलाई। वेस्टर्न गीतमा पनि आवाज भर्नु उनको सपना हो। लगाव, अवसर र क्षमताले गायिका बनेकी प्रविशा अहिले भने गायन कर्मसँग गहिरोसँग जोडिएकी छन्। अब त उनलाई संगीत नै जीवनको अभिन्न पाटो जस्तै लाग्छ। भन्छिन्, ‘गीत गाउन थालेपछि नै हो मैले जीवनमा खुसीका पल अनुभव गरेको। घरकी कान्छी छोरी, पुल्पुलिएर हुर्किएँ। यो क्षेत्रमा आएपछि नै मैले जीवनको खास महत्व बुझे। काम के हो ? लगाव के हो ? धैर्य के हो बुझ्ने मौका पाएँ।’

नयाँ र पुरानो पुस्ता दुवैसँग बराबर काम गरेकी प्रविशाले पाँच सयभन्दा बढी गीतमा स्वर दिइसकेकी छन्। धेरैजसो फिल्मी गीत नै छन्। लकडाउनको समयमा कोरोना सचेतना गीत गाइन्, कालापानीको विषयमा राष्ट्रभक्तिपूर्ण गीतमा आवाज भरिन्। उनी घरभित्र पनि खाली बसिनन्।

अवसरसँगै अहिलेको गायन निकै प्रतिस्पर्धात्मक पनि भएको उनको बुझाइ छ। पहिले जस्तो एक दुई मात्रै ठूला गायक भन्ने हुँदैन। प्रविधिले हरेकलाई राइज गर्ने अवसर दिएको छ। सोसल मिडियाले गर्दा पनि क्षमता भएकाहरू छिट्टै अगाडि बढ्न सक्ने माहोल बनेको छ। आफूलाई अरूको कम्पिटेटिभभन्दा पनि आफ्नै लागि प्रतिस्पर्धी हँु भन्ने लाग्छ। हरेक दिन नयाँ गाउनुपर्छ, नयाँ शैली अपनाउनुपर्छ भन्ने लाग्छ। दर्शक श्रोताको मनमा बस्न उहाँहरूको रुचि र चाहना पनि त बुझ्न पर्‍यो नि।

गीत हातमा परेपछि उनी त्यसको डेमो सुन्ने गर्छिन्। आफ्नै तालमा कम्पोजिसन गर्छिन् र रेकर्डिङका लागि तयारी हुन्छिन्। कति गीत त डाइरेक्ट स्टुडियो गएर पनि गाएकी छन् उनले। गायनमा लागेपछि सबैको माया पाएकोमा आफूलाई भाग्यमानी ठान्छिन् उनी। भन्छिन्, ‘मसँग नराम्रो समयको अनुभव नै छैन। पहिलो गीतबाटै चर्चा कमाएर पनि होला काम पाउन खासै गाह्रो पनि लागेन्।’ धैर्य गर्न सके सांगीतिक क्षेत्रमा नाम, दाम र सान सबैथोक भएको उनको बुझाइ छ। आउनासाथ पैसा कमाउँछु भन्ने लागेमा सम्भव छैन। गायन सिर्जनात्मक पेसा भएकाले संगीतले मान्छेको मन छुने उनको विश्वास छ।

ससाना कुरामा पनि रमाउन सक्ने प्रविशा यात्रा गर्न भने खासै जरुरी ठान्दिनन्। कामको अवसरमा गए ठिकै छ तर घुम्नकै लागि भने योजना नबनाउने उनले बताइन्। जस्तो अवस्थामा पनि फिट हुन सक्ने उनलाई खुसी हुनका लागि ठूलो उपलब्धि चाहिँदैन। काठमाडांैमा भाइबहिनीसँग बस्ने प्रविशा अहिलेसम्म अविवाहित छिन्। रियाज गर्नु, गीत गाउनु, स्टेज कार्यक्रममा हिँड्नु नै आफ्नो जीवन हो जस्तो लाग्छ उनलाई। भन्छिन्, ‘काम मेरो परिवार। संगीत मेरो जीवनसाथी।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.