कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी र सफाइकर्मी सम्मानित
वीरगन्ज : कोरोना संक्रमितको उपचार तथा सेवामा अग्रपंक्तिमा रहेर काम गरेका स्वास्थ्यकर्मी र सफाइकर्मीलाई सम्मान गरिएको छ । वीरगन्जमा सरसफाइ र वातावरण प्रदुषण नियन्त्रणमा काम गर्दै आएको प्रकृति सेवा प्रतिष्ठानले सोमबार स्वास्थ्यकर्मी र सफाइकर्मी गरी २० जनालाई सम्मान गरेको हो ।
नारायणी अस्पतालको आइसोलेसनमा संक्रमित ल्याएर राखिएपछि उनीहरुको उपचार र सेवामा खटिएका २० स्वास्थ्यकर्मी र सफाइकर्मीलाई प्रतिष्ठानले सम्मान गरेको हो । सम्मानित हुनेमा नारायणी अस्पतालका स्टाफ नर्स, अनमी, अहेब गरी १८ स्वास्थ्यकर्मी र २ जना अस्पतालकै सफाइकर्मी रहेका छन् ।
सोमबार अस्पतालको सभाकक्षमा आयोजित कार्यक्रममा प्रष्ठिानका तर्फबाट प्रहरी उपरीक्षक गंगा पन्त, अस्पतालका मेसु डाक्टर मदन उपाध्याय , वीरगन्ज महानगरकी उपप्रमुख शान्ति कार्की, वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपाल, सामाजिक अभियन्ता प्रकाश थारु, लालबाबु सिंह र प्रतिष्ठानका अध्यक्ष जसपाल सिंहले स्वास्थ्यकर्मी र सफाइकर्मीलाई दोशल्ला ओढाइ कदरपत्र प्रदान गरेका थिए।
कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक गंगा पन्तले कोरोना महामारीको जोखिममा पनि अग्रपंक्तिमा रहेर खटिएकालाई सम्मान गरेर आयोजक संस्थाले सराहनीय काम गरेको बताइन् । अस्पतालका मेसु डाक्टर मदन उपाध्याले पर्सामा संक्रमणको जोखिम कायमै रहेको भन्दै यो सम्मानले आगामी दिनमा कोरोनाविरुद्धको लडाइँमा स्वास्थ्यकर्मी र सफाइकर्मीलाई थप हौसला प्रदान गरेको बताए ।
आयोजक संस्थाका अध्यक्ष जसपाल सिंहले कोभिड १९ विरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेर काम गरेकाहरू समाज र देशकै लागि असली हिरो रहेको बताए ।
यस्तो महामहारी र संकटमा पनि आफ्नो घरपरिवार बालबच्चा सबै छाडेर रातदिन फ्रन्टलाइनमा काम गरेकाको कुनै मुल्यांकन गर्न सकिंदैन', सिंहले भने,‘अहिले पनि जोखिम छँदैछ र उहाँहरु काम गरिरहनु भएको छ, त्यसैले उहाँहरुको हौसला अझ बढोस् भनेर संस्थाले सम्मान गरेको हो ।'
सोमबार आइसोलेसनमा खटिएका नर्स, अहेब र सफाइकर्मी मात्रै सम्मान गरिएको भन्दै उनले अब चिकित्सकलाई पनि सम्मानित गर्ने योजना आफूहरुको रहेको बताए ।
सोमबार सम्मानित हुने स्वास्थ्यकर्मीले आफूहरूको कामको मुल्यांकन गरेर समाजले सम्मान गरेकाले यसले कोरोनाविरुद्धको लडाइँमा काम गर्न थप हौसला मिलेको प्रतिक्रिया दिए । सम्मानित मेट्रोन हेमा थापा महर्जनले भनिन्,‘यो अस्पतालमा काम गरेको १५ वर्ष भयो, अहिलेसम्म हामीलाई कसैले सम्मान गरेको थिएन। आज एक सामाजिक संस्थाले हाम्रो कामको मुल्यांकन गरेर सम्मान गरेको छ। यसले हामीलाई थप उर्जा र हौसला प्राप्त भएको छ ।'
यस्तै सम्मानित स्टाफ नर्स मनिषा पाण्डेले पनि यो सम्मानले सम्पूर्ण स्वास्थ्यकर्मी र सफाइकर्मीको मनोबल उच्च पारेको बताइन् । उनले भनिन्,‘हामीले राम्रो काम गरेका रहेछौँ भनेर अनुभूति भइरहेको छ। कोरोनाविरुद्धको लडाइँमा आगामी दिनमा अझ सकृय भएर काम गर्छौं ।'
प्रतिक्रिया दिनुहोस !