डडेल्धुरामा खानेपानीको विषयमा झगडा हुँदा बालकको मृत्यु
डडेल्धुरा : डडेल्धुरामा खानेपानीको विषयमा विवाद हुँदा भएको झडपमा परेर एक बालकको मृत्यु भएको छ। आलिताल गाउँपालिका - ६ मा खानेपानीको विषयमा विवाद हुँदा झडपमा परेर घाइते भएका बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
आलिताल गाउँपालिका -६ का गणेश महराका ८ बर्षीय छोरा हिमान्सु महरा (सिद्धार्थ) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिए। गम्भीर घाइते भएका हिमान्सुको धनगढीस्थित सारथी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। गएराती करिब ९ बजे भएको झडपमा बालक घाइते भएपछि उपचारको लागि राती नै धनगढी लगिएको थियो। घाइते बालकको आज बिहान उपचारका क्रममा धनगढीमा मुत्यु भएको हो।
खानेपानीको विवादले उग्ररुप लिएपछि मादक पदार्थ सेवन गरेका भौना र झरकाडा गाउँका ४ जना बीच भएको कुटाकुटमा बालकको मुत्यु भएको डडेल्धुरा प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेका चारजनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए।
प्रतिक्रिया दिनुहोस !