बन्दरगाहमा देखियो लकडाउनको असर

बन्दरगाहमा देखियो लकडाउनको असर

वीरगन्ज  :  वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट) को अन्तर्राष्ट्रिय कारोबारमा कोरोना महामारी र लकडाउनको असर देखिन थालेको छ। कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल भारतमा लकडाउन सुरु भएको तीन महिनापछि कारोबार घटेको छ।

कोरोना महामारी नियन्त्रण र रोकथामका लागि नेपालमा चैत ११ देखि र भारतमा चैत १० गते देखि लकडाउन सुरु गरिएको थियो। लकडाउनपछिको तीन महिनासम्म भारतसहित तेस्रो मुलुकबाट सहजै आयात भइरहेको मालवाहक सामग्री यो महिनादेखि घटेको बन्दरगाह भन्सार प्रमुख उमेश श्रेष्ठले बताए। तेस्रो मुलुकबाट जेठसम्म पुरानै कन्साइन्टमेन्ट (सौदा) का मालवस्तु भारतको रेलमार्ग भएर सहजै आयात भइरहेकोमा असारदेखि सामान आयातको परिमाण ह्वात्तै घटेको उनले जानकारी दिए।

विदेशबाट आयात गरिने एलसी (प्रतीतपत्र) खोलेका सामान सबै प्रक्रिया पूरा गरेर भन्सार बिन्दुसम्म आइपुग्न तीनदेखि पाँच महिनासम्म लाग्ने गर्छ। श्रेष्ठ भन्छन्, ‘सुक्खा बन्दरगाहमा कोरोना र लकडाउनको असर अब बल्ल देखा पर्न थालेको छ, साउनमा अझ असर देखिन्छ।’ लकडाउन सुरु भएको ढेड महिना नेपालतर्फ ढुवानी प्रभावित हुँदा सुक्खा बन्दरगाहको यार्डमा जेठ दोस्रो साता करिब चार हजार कन्टेनर थुप्रिएका थिए। ढुवानी सहज भएर थुप्रिएका कन्टेनर गन्तव्यतर्फ जान थालेपछि अहिले बन्दरगाहमा एक हजार कन्टेनर मात्र छन्।

सामान्य अवस्थामा सुक्खा बन्दरगाहमा रेलमार्ग हुँदै हरेक महिना औसतमा एक सय र्‍याक (९ हजार कन्टेनर) भारतबाट आएको तथ्यांक छ। एउटा र्‍याकमा ९० कन्टेनर रहन्छन्। बोराबन्द सामान वा फलामजन्य पदार्थ भने एउटा र्‍याकमा दुई हजार पाँच सय मेट्रिकटन हाराहारीसम्म हुन्छ। असारयता औसतमा दैनिक दुई वटा र्‍याक (रेल) मात्र आइरहेको सुक्खा बन्दरगाह सञ्चालक कम्पनी हिमालयन टर्मिनलले जनाएको छ। असार १ देखि २६ गतेसम्म ६६ वटा मात्र र्‍याक आएको टर्मिनलका कार्यकारी अधिकृत विष्णुकान्त चौधरीले जानकारी दिए। जेठसम्म बन्दरगाहमा दैनिक औसतमा ३ दशमलव २ र्‍याक (महिनामा एक सयको हाराहारीमा र्‍याक) आइरहेको थियो’, उनी भन्छन्, ‘तर असारमा घटेको रेसियो हेर्दा साउनमा ३० र्‍याक पुग्न पनि कठिन देखिन्छ।’

चौधरीका अनुसार अहिले भारतका बन्दरगाहबाट चारवटा याक मात्र मालसामान बोकेर नेपालतर्फ हिँडेका छन्। ‘सामान्य अवस्थामा औसतमा २५ देखि ३० वटा र्‍याक भारतको बाटोमा सधैं हुन्थे’, उनले भने। कोरोना महामारी सुरु भएपछि तेस्रो मुलुकबाट नेपालका लागि आयात हुने मालसामानको नयाँ कन्साइन्टमेन्ट नहुँदा भारतकोे विशाखापटनम् बन्दरगाहमा अहिले नेपालको एउटा कन्टेनर नरहेको र कोलकातामा हप्तामा एउटा मात्रै र्‍याक आइरहेको चौधरीले जानकारी दिए। लकडाउनकै अवधिमा पनि गत चैतमा ८४, वैशाखमा ८३ र जेठमा ८९ रेल भारतीय बन्दरगाहबाट मालसामानको कन्टेनर बोकेर वीरगन्ज आएका थिए।

मन्दीपछि सामान आएन

कोरोनाको महामारी र लकडाउनका कारण नेपाली बजारको चहलपहल घटेपछि व्यापारीले तेस्रो मुलुकबाट मालसामानको नयाँ बुकिङ नगरेका वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव माधवराज राजपाल बताउँछन्।

लकडाउनले बजार चलायमान नहुँदा पहिले ल्याइएकै सामान गोदाममै थन्किएकाले उद्योगी र व्यापारीले नयाँ बुकिङ नगरेका उनको ठहर छ। ‘लकडाउनभन्दा पहिले बुकिङ गरिएका मालसामान ल्याउनैपर्ने बाध्यता थियो, जेठसम्म पहिलेका सामान आए, राजपाल भन्छन्, ‘लकडाउन पहिले ल्याइएका मालसामान पनि बजारमा खपत हुन सकिरहेको छैन, उद्योगी र व्यापारीका गोदाममै थन्किएका छन्।’

राजस्वमा असर

लकडाउनको असर देखिन थालेपछि असारमा सुक्खा बन्दरगाहको भन्सार राजस्व असुली पनि घटेको छ। भन्सार प्रमुख श्रेष्ठका अनुसार असार २६ सम्ममा कार्यालयले लक्ष्यभन्दा ७१ करोड कम राजस्व संकलन गरेको छ।

असारमा भन्सार विभागले तीन अर्ब ४९ करोड राजस्व संकलनको लक्ष्य दिएकोमा बन्दरगाह भन्सारले लक्ष्यको ७९ प्रतिशत मात्र अर्थात् दुई अर्ब ७८ करोडमात्र राजस्व संकलन गर्न सकेको हो। जेठमा तीन अर्ब ७४ करोडको लक्ष्य रहेको बन्दरगाहले लक्ष्यको ९५ प्रतिशत राजस्व संकलन गरेको थियो।

‘जेठमा कारोबार राम्रै भएकाले राजस्व पनि झन्डै लक्ष्यको हाराहारीमा संकलन भयो, भन्सार प्रमुख श्रेष्ठ भन्छन्, ‘तर असार लागेसँगै कारोबार घट्न थालेपछि राजस्वमा पनि लकडाउनको असर देखिन थाल्यो, असारमा लक्ष्यको ८० प्रतिशतमात्रै राजस्व संकलन भएको छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.