गाउँपालिकामा खानेपानी शुद्धता नाप्ने प्रयोगशाला
डडेल्धुरा : डडेल्धुराको एक गाउँपालिकामा पानीको शुद्धता तथा परीक्षण गर्ने प्रयोगशाला स्थापना गरिएको छ । जिल्लाका अन्य स्थानीय तहभन्दा प्रथक काम गर्दै आएको अजयमैरु गाउँपालिकामा खानेपानीको शुद्धता नाप्ने प्रयोगशाला स्थापना गरिएको हो ।
पानीको शुद्धता नाप्ने प्रयोगशाला स्थापना भएसँगै स्थानीयले निर्माण गरिरहेको खानेपानी आयोजनाको शुद्धता समेत नापिने जनाइएको छ ।हालसम्म ग्रामीण क्षेत्रमा खानेपानी पिउन योग्य छ वा छैन कसैलाई जानकारी थिएन ।
गाउँपालिका अध्यक्ष उमेश प्रसाद भट्टले भने, 'आजबाट हामीले गाउँपालिकामै पानीको शुद्धता परीक्षण गर्न ल्याब स्थापना गरेका छौं, अब हामीले धनगढीलगायतका स्थानमा यहाँको खानेपानीको शुद्धता जाँच गर्न पठाउनुपर्ने समस्या समाधन भएको छ ।'
पानीमा धमिलोपना चेक, धमिलो पना कम की बढी भएको छ, केमिकलजन्य पदार्थ मात्रा कति छ, दिशाजन्य पदार्थ छ की छैन् र पानीमा कोलोरिनको मात्रा कति छ भनेर प्रयोगशालामा जाँच गरिने छ ।
योजनाबाट नमुनाका रुपमा ल्याइएको पानी ल्याबमा २४ घण्टाभित्र परीक्षण गरिने गाउँपालिकाले जनायो ।बेलाबेलामा हुने झाडापाखाला, आउँ, हैजाजस्ता रोगहरु दूषित खानेपानीकै कारणले सर्नेबारे जानकारी हुँदा समेत प्रयोगशाला नहुँदा शुद्धता जाँच नगरि सिदै पिउने गरिन्थ्यो ।
तर प्रयोगशाला स्थापनापछि गाउँपालिकाभर रहेका खानेपानीमा मुल तथा आयोजनाका पानीको शुद्धता जाँच गरी सूचकआधारमा पिउनयोग्य बनाइने अजयमेरु गाउँपालिकाले जनाएको छ ।अब पानीका कारण कसैले रोगी र बिरामी बन्नु पर्दैन । पानी परीक्षण गर्ने प्रयोगशाला स्थापना भएसँगै स्थानीयले पिउँदै आएको पानी र नयाँ योजना लागु गर्नुपूर्व र पछि समेत शुद्धता जाँच गरिने भएको छ ।
पानीको मापन जाँच गरी खानेपानीको शुद्धतामा सुधार ल्याउने जनाइएको छ ।सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको उक्त प्रयोगशालाले पानीको शुद्धता परीक्षण गर्ने गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले बताए । अन्य नयाँ योजना लागू गर्नु पूर्वसमेत पानीको शुद्धता जाँच गरी योजना विस्तार गर्न सजिलो हुने अध्यक्ष भट्टले बताए ।
आधारभूत पानी परीक्षण प्रयोगशालाले खानेपानीका योजना निर्माण गर्दा वा ग्रामिण क्षेत्रमा पानी ल्याउँदा खानेपानीको शुद्धता मापन गरी मुल छनौट गर्न समेत टेवा पुग्ने जनाइएको छ ।
खानेपानी योजना सर्भेक्षण गर्दा कम्तिमा पनि आधारभूत मानक परीक्षण गर्ने र आवश्यकताअनुसार डिजाइनमा न्युनिकरणका लागि समावेस गर्ने ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाकी कार्यक्रम अधिकृत सिद्धु बोहराले बताइन्।
ग्रामिण खानेपानी योजना लागू हुन पूर्व खानेपानी पिउन योग्य छ छैन शुद्धता परीक्षण गरिने र मानहरुका आधारमा योजना लागू गरी आयोजना सम्पन्नपछि पुन: ती मानक परीक्षण गर्ने समेत अधिकृत बोहराले जानकारी दिइन्।
खानेपानी सुरक्षा योजना तयार गरी लागु गर्न ग्रामिण जलस्रोत परियोजनाको सहयोगमा स्थापना गरिएको उक्त प्रयोगशालाले अजयमैरुका जनताले शुद्ध पानीको प्रयोग गर्ने विश्वास लिएको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !