बाढीले बगर बनायो बेल्ही
राजविराज/धरान : बलान नदीले कटान सुरु गरेपछि सप्तरीको बलान बिहुल गाउँपालिका-४ बेल्हीका मदन मियाँको परिवार चिन्तित छ। बलान खोलामा आएको बाढीले नदी किनारामा रहेको उनको १० कठ्ठा जग्गा क्षणभरमै निलेपछि उनको परिवार चिन्तित भएका हुन्। उमेश यादव, नाजिर मियाँ, रोशनकुमार यादव, अनवारुल मियाको खेत काटेको बलान नदीले सदानन्द पाठकको खेत काट्न सुरु गरेको छ। धान रोपेको खेत नै कटान गरेपछि दर्जनौ व्यक्ति सुकुम्बासी हुने स्थितिमा पुगेको गाउँलेहरूले बताएका छन्।
यो वर्ष वर्षाको सुरुवातमै दर्जनौ व्यक्तिको १२÷१३ विगहा जमिन बलान खोलाले निलिसकेको बेल्ही निवासी ईञ्जिनियर नविनकुमार झाले बताए। बलानको धार पूर्वतर्फ फर्किएपछि थप जग्गा बाढीले कटान गरिरहेको छ। पानी परेपछि रोपाई गरेको खेत हेर्न जाँदा १० कठ्ठा जग्गा बाढीले निलिसकेको मुस्तफा मियाँले बताए।
बलान खोलाले १२ वर्षको अवधिमा साविक वेल्ही गाविस-१ का वासिन्दा पुरै विस्थापित भएका छन्। सो वडाका करिव ७० घर विस्थापित भएर बसाई सरेको झाले बताए। जग्गाजमिन बलान नदीले निलेपछि किसानहरूलाई कसरी परिवारको गुजारा चलाउने भन्ने चिन्ताले पिरोलेको छ। गाउँकै धनी सम्पन्न परिवारको रुपमा चिनिने धनी किसानहरू सुकुम्वासी भएका छन्।
बलान बिहुल गाउँपालिका ४ का ५५ वर्षीय चन्द्रकान्त झा भन्छन्- ‘बलान नदीले धेरैलाई सुकुम्बासी बनायो, यो क्रम नरोकिए सिंगो गाउँ खोला बन्छ।’ २०६४ मा बलान नदीमा आएको बाढीले कटान गरेपछि सडकको पश्चिम भागमा रहेको बस्तीलाई सडकको पूर्वतर्फ सारिएकोमा खोला गाउँतिरै मोडिएपछि विस्थापित हुने क्रम बढदै गएको हो।
स्थानीय शिक्षक दिनेश्वर यादव भन्छन् - ‘नदीको धार परिवर्तन हुनु अघिसम्म बलान नदी बरदान मानिन्थ्यो, लहलह धान र गहुँका बाला झुल्थ्यो तर धार परिवर्तन भएपछि सबै असुरक्षित भएका छौं।’
‘किसानहरूको घरखेत, जमिन जोगाउन कतैबाट प्रयत्न भएन,’ घडेरीसमेत गुमाएका उमेश यादवले आक्रोश व्यत्ताm गरे- ‘जनतासँग कुनै उपाय छैन, गाउँपालिकादेखि स्थानीय प्रशासन, प्रदेश र संघीय सांसदलाई गुहार्दा पनि रोकथाम र नियन्त्रणको काम हुन नसक्दा वर्षैपिच्छे यहाँको खेत बगर बन्दैछ।’ बलान खोलाले अहिलेसम्म करिब सात सय विघा जमिनखेत कटान गरिसकेको स्थानीय बताउँछन्।
उपभोक्ता समिति बनाएर कमिशन खान पल्केको स्थानीय सरकारले बलान खोलाबाट बस्ती जोगाउन एक सुको खर्च नगरेको ईञ्जिनियर झाले बताए। भारतले सीमामा रहेको लौकाहामा सडकको नाममा ठूलो बाँध बनाएकोले पानी बग्न नपाएर नेपालतर्फ नै फर्कने गरेको उनको भनाई छ।
चुरेको अनियन्त्रित दोहनका कारण नदीले धार परिवर्तन गरेको र सर्पझै बाङ्गोटिङ्गो हुँदै कटान गर्दै लगेको शिक्षक यादवले बताए। प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले विपद व्यवस्थापन समितिले उपलब्ध गरएको पाँच हजार बोराले तत्कालै कटान नियन्त्रण गर्न गाउँपालिका अध्यक्ष दयानन्द गोइतलाई निर्देशन दिए।
धार परिवर्तन गर्दै बलान नदी गाउँतर्फ हानिएपछि रोकथामका लागि केही वर्ष अघि बनाइएको कमजोर तटबन्ध बाढीले भत्काएको थियो। बाँध भत्काए यता पुन :बाँध निर्माणको काम हुन सकेको छैन। पीडित रोशनकुमार यादवका अनुसार बलान नदी समयमै नियन्त्रण नगरिए यहाँ पहिले गाउँ थियो रे भन्नु पर्ने अवस्था छ।
व्यारेजकको ढोका थुन्दा...
भारतले जीर्ण बनेको सप्तकोसी ब्यारेजका अधिकांस ढोका थुन्दा प्रदेश १ र २ का तीन जिल्लाका करिव एक लाख ५० हजार नेपालीको ज्यान जोखिममा परेको छ।
व्यारेजका ढोका नखोलिएपछि सप्तकोसी आसपासका क्षेत्रमा बसोवास गर्दै आएका सुनसरी, उदयपुर र सप्तरी जिल्लाका विभिन्न बस्तीमा बसोवास गर्दै आएका बासिन्दा त्रासमा छन्।
सप्तकोसीमा पानीको बहाव उच्च हुँदा पाँच दिनदेखि खतराको संकेत स्वरुप रातो बत्ताी बालिएको छ। त्यहाँ सोमवार पानीको बहाव प्रतिसेकेण्ड एक लाख ८९ हजार २ सय ३५ क्युसेक रहेको र ब्यारेजका ३७ ढोका खोलिएको सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले जनाए।
उता पानीको बहाव बढ्दा समेत भारतको नियन्त्रणमा रहेको सप्तकोसी व्यारेजका सबै ढोका भने नखोलिएपछि कोसी प्रभावित क्षेत्रका वासिन्दा त्रस्त छन्। ५६ ढोका रहेको कोसी व्यारेजमा भारतले पानीको बहाव उच्च हुदा समेत १५ देखि ३५ वटा मात्र ढोका खोल्ने गरेको छ।
सुनसरीको बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले भारतको हेपाहा प्रबृत्ति र नेपाल सरकारको वेवास्ताका कारण कोसी प्रभावित क्षेत्रका वासिन्दाको ज्यान जोखिम अवस्थामा रहेको बताए। उनका अनुसार कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण दर्जनौ पटक कोसीले धार परिवर्तन गर्दा सुनसरीका पाँच हजार भन्दा बढी सर्बसाधारणको घरखेत बगाई विस्थापित बनाएको छ।
सुनसरीको चतरा, चक्रघट्टि, प्रकासपुर, मधुवन, हरिपुर, उदयपुरको बेलका नगरपालिका, सप्तरीको हनुमाननगर लगायतका स्थानमा कटान सुरु गरेको छ। बेलका नगरपालिकाका मेयर दुर्गा थापाले पनि कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण नगरवासी त्रसित हुनु परेको बताएका छन्।
प्रकासपुरका नकुल चन्द्रवंशीले कोसीमा आएको बाढीले यस अगाडि नै आफ्नो पाँच विघा जमिन सहितको घर बगाएर विस्थापित बनाएको बताए। सप्तकोसीबाट १५ विघा जमिन र घर गुमाएका प्रकासपुरकै बुद्धिराज विष्टले कोसी ब्यारेज नेपालको नियन्त्रणमा नहुन्जेलसम्म कोसी प्रभावित क्षेत्रका वासिन्दा बर्षातको समयमा तड्पेर बाँच्नु परेको गुनासो गर्छन्।
कोसी पीडित संघर्ष समितिका सचिव बाबुराम कार्कीका अनुसार २०२२ सालमा कोसी व्यारेज निर्माण हुनु अगाडि नेपाल-भारत सरकारबीच गरिएको सम्झौतामा कोसीका कारण विस्थापितहरूलाई भारत सरकारले क्षतिपूर्ति दिने उल्लेख छ। तर भारतले हालसम्म पीडितहरूलाई कुनै प्रकारको राहत दिएको छैन।सुनसरीका निमित्ता प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल कोसी व्यारेजका सबै ढोका खोल्न भारत सरकारसंग पहल गर्ने बताएका छन्।
प्रतिक्रिया दिनुहोस !