स्वार्थभन्दा माथि उठौं
नेपालजस्तो गरिब मुलुकमा कम्युनिस्ट समर्थक बढी हुनु स्वाभाविक हो। किनभने हरेक गरिब मजदुर जनताको चाहना हो आफ्नो गरिबी हटाउन। गरिबी हटाउने र गरिबलाई सुविधासम्पन्न बनाउने नीति नै वाम नीतिमा हुन्छ। अहिले मुलुकमा दुईतिहाइजति वाम शक्तिहरू जनताबाट जितेका छन्। यसबाट मुलुकमा गरिबको संख्या अत्यधिक छ भने बुझ्नमा कठिन नहोला तर कम्युनिस्ट नेताहरूमा बहुत कम विपन्न श्रेणीमा रहेको पनि यथार्थ हो। यसर्थ विपन्नको हकहितलाई सम्पन्नले बचाउन जिम्मा दिनुको अर्थ हो बिरालोेलाई दूधको रखवाली दिनु। बाख्रा चराउने जिम्मा बाघलाई दिनु नै हो।
२०१५ सालको निर्वाचनमा कम्युनिस्ट एकाध सिटमा मात्र सीमित थियो भने काग्रेस दुईतिहाइको हैसियतमा जितेको थियो। तर अहिले कम्युनिस्ट दुईतिहाइको हैसियतमा पुगेको छ। यसर्थ आधुनिक समयमा पनि जनता र देश अति गरिब हुँदै गएको पुष्टि हुन्छ। जसमा पुँजीपति शासनका रूपमा चिनिने राजतन्त्र तथा कांग्रेसी शासन असफल भएको भन्नैपर्छ। यी दुवै शासकले गरिब र धनीबीचको खाडल पुरेको भए वाम शक्तिप्रति जनताको आकर्षण बढ्ने अवस्था हुँदैन्थ्यो। यसमा पुँजीवादी मित्रराष्ट्र तथा दक्षिण छिमेकीको पनि नेपालप्रतिको दृष्टिकोण सकारात्मक नहुनुले पनि हो। शदीयौंदेखिको रोटीबेटीको सम्बन्ध रहँदै आएका छिमेकीहरू विश्वमा नै शक्तिशाली एवं धनी बन्दै जानु र दुवैका बीचमा रहेको छिमेकी दिनप्रतिदिन गरिबीको भुमरीमा फस्दै अस्थिरताबाट जेलिँदै जानुले छिमेकीहरूको उचित सहयोग नरहेको भन्नैपर्छ। यो असल छिमेकीको भूमिका होइन।
विपक्षी दल कमजोर रहेको बखतमा वाम सरकारले जनताको मन जित्ने अवसर भए पनि ऊ आन्तरिक कलहमा फसेको छ।
राणा तथा राजा शासकहरू मुलुक र जनताको हित नहेरी पारिवारिक हित सोच यसकारण विकास नभएको भन्दै क्रान्ति भयो र प्रजातन्त्र आयो। प्रजातन्त्रमा अधिकांश समय कांग्रेसले शासन गर्यो तर सत्ता कहिल्यै टिकाउ भएन। विभेद कहिल्यै हटेन। गरिबी झन् बढ्दै गयो। यसर्थ जनताले राजतन्त्र एवं एकात्मक शासन फाली संघीय गणतन्त्रात्मक शासन मात्र ल्याएनन् स्थिर सरकार, गरिबी उन्मूलन, विभेदको अन्त्य लोकतन्त्रको संस्थागत एवं स्थिर सरकारका लागि कम्युनिस्टलाई पूर्ण बहुमत दिए। कम्युनिस्टले सरकार पनि बनाए सरकारमा जाँदा अन्य दलको पनि समर्थन पाएर दुईतिहाइको बहुमत प्राप्त गर्यो। जुन मुलुकको इतिहासमै पहिलो वाम अवसर हो। यस अवसरबाट जनता र देशको लागि न्यायोचित काम गरि दिएको भए।
चीन र रूसजस्तो नेपालमा पनि कम्युनिस्ट सरकारको स्थायित्व पाउनमा दुईमत थिएन। तर दुर्भाग्य भनौं तीन वर्ष नबित्दै कम्युनिस्ट सरकार पूर्णरूपले असफल मात्र भएको छैन, मुलुक चौतर्फी संकटले जेलिए पनि कम्युनिस्ट नेताहरू आपसमा सत्ताको लुछाचुँडीमा लागेका छन्। अर्काको पार्टी फोड्ने रणनीतिमा रहेका प्रधानमन्त्री अब आफ्नै पद तथा पार्टी एकता जोगाउन मुस्किलमा परेका छन्। विश्वभरि फैलिएको महामारीको नियन्त्रण गर्दा गर्दै समुदायमा फैलाउन पुगे। ढलको पानीमा कोरोना पुष्टि हुनुले सरकार एकदमै असफल भएको प्रस्ट हुन्छ। मुलुकभित्र दिनहँु सयकडौं संक्रमण भेटिनु, पानीलगायतकोमा संक्रमण देखिए पनि सरकारी कार्यालय बजार पूर्ण खुला राख्नुले सरकार जनताको जीवनसँग संवेदनशील नरहेको प्रस्ष्ट छ। छिमेकीसँग सहयोग लिई संकट समाधान गर्ने बेलामा छिमेकी एवम् शक्ति राष्ट्रसँग सम्बन्ध बिगारेर बसेको छ। यसको प्रमुख कारण सत्ता बचाउनेका लागि मात्र हो।
मुलुकभित्रको संकट न त सरकारलाई गम्भीर बनाएको छ न त सरकारको दललाई। या दुर्भाग्य हो। विपक्षी दल अहिलेको जस्तो कमजोर एवं मूकदर्शक कहिल्यै थिएन। विपक्षी दल कमजोर रहेको बखतमा वाम सरकारले जनताको मन जित्ने अवसर भए पनि ऊ आन्तरिक कलहमा फसेको छ। फलस्वरूप जनताले कम्युनिस्टलाई भोट दिनु वरदानको सटा अभिशाप सावित भयो भन्दै छन्। फलस्वरूप जनता बाध्य भएर फालिएको राजातर्फ आकर्षित हुँदैछन्। प्रतिगामीहरू ऊर्जा पाएका छन्। प्रजातन्त्र साँच्चिकै अज्ञानीको र पैसावालको शासन हो भनी बुझ्न बाध्य छन्।
हुन त आम जनताले चुनावको ताका होस् गरेको भए सायद अहिलेजस्तो अवस्था आउने थिएन। यसर्थ अबको चुनावमा बढी खर्च गर्नेहरूलाई छानीछानी पाखा लगाउने दृढ निश्चय आम जनताले पनि गर्नुपर्छ। पार्टीहरूले पनि पैसावाला खोजी खोजी चुनावमा ल्याउने प्रवृत्तिको पनि अन्त्य गर्नुपर्छ। दलहरूले पनि सत्ताको बागडोर उसैलाई दिने सोच्नुपर्छ, जो स्वार्थभन्दा माथि रही त्याग गरेको होस्। जो व्यक्तिगत इगोलाई सत्ताको माध्यमले साधने काम नगरोस् सत्ताका लागि देश र जनतालाई नबिर्सोस्। कुनै एउटा वर्ग वा समुदायप्रति बढी मोह नराखोस् सबैलाई एक समान बुझोस्।
प्रतिक्रिया दिनुहोस !