घुससहित नायव सुब्बा पक्राउ
राजविराज : बढी जग्गाको श्रेस्ता कायम गरी दिने भन्दै घुस लिएको अवस्थामा सप्तरीमा मंगलबार एक कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यालय सप्तरीका नायब सुब्बा कृष्णबल्लभ ठाकुरलाई १३ हजार घुस रकमसहित पक्राउ गरेको जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटि आएको टोलीले भूमी सुधार तथा मालपोत कार्यालय सप्तरी राजविराजका नायव सुब्बा ठाकुरलाई रंगेहात पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले फोन सम्पर्कमा जानकारी दिए ।
ट्रायल चेक गरी बढी जग्गाको श्रेस्ता कायम गरी दिने प्रयोजनका लागि ठाकुरले सेवाग्राहीबाट घुस लिएको प्रवक्ता कोइरालाले बताए । सेवाग्राहीबाट १३ हजार घुस लिइ सकेको अवस्थामा ठाकुरलाई घुस रकमसहित कार्यकक्षबाट नियन्त्रणमा लिइएको हो ।ठाकुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !