रामको जन्मभूमी अयोध्याबारे अनुसन्धान गर्न ठोरीवासीको माग

रामको जन्मभूमी अयोध्याबारे अनुसन्धान गर्न ठोरीवासीको माग

ठोरी (पर्सा) : प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिपछि त्रेतायुगका भगवान श्रीरामको जन्मभूमी अयोध्याको विषयमा अनुसन्धन थाल्नु पर्ने बहस सुरु भएको छ। रामको जन्मभूमी अयोध्या भारतमा नभइ नेपालको ठोरीमा पर्ने प्रधानमन्त्रीको अभिव्यक्तिपछि कतिपयले यसलाई व्यङग्यका रुपमा लिएका छन्। केहीले विरोध पनि जनाएका छन्। 

प्रधानमन्त्रीको अभिव्यक्ति आएसँगै भारत बिहारको सीमासँगै जोडिएको पर्साको ठोरी नकाबन्दीपछि अहिले फेरि एकाएक चर्चामा आएको छ। ठोरीका जनप्रतिनिधि र स्थानीयले  राम र सीतासँग जोडिएका धार्मिक एंव ऐतीहासिक स्थान र पुरातात्विक वस्तु ठोरीमा रहेको तर्क गरेका छन्। प्रधानमन्त्रीले केही तथ्य र प्रमाण जुटाएर नै राम जन्मभूमी आयोध्या ठोरीमा पर्ने अभिव्यक्ति दिएकाले यस विषयमा खोज र अनुसन्धान हुनु पर्ने ठोरीवासीको माग छ।
 

रामायणमा वर्णन गरिएका राम र सीतासँग जोडिएका धार्मिकस्थल, ऋषिमुनिका आश्रम, तपस्यास्थल, नदी, ताल ठोरी र  चितवनको माडीमा रहेकाले राम जन्मभूमी अयोध्याका बारेमा खोज र अनुसन्धान हुनु पर्ने उनीहरुको तर्क छ। ठोरीका युवा पण्डित चिरजन्जिवी सापकोटा भन्छन्,‘१४ वर्षको वनवासपछि लक्ष्मणले ल्याएर सीता मातालाई छाडेको सीता गुफा ठोरीमै छ जहाँ सदियौंदेखि स्थानीयले पूजापाठ गर्दै आएका छन्। गुफामा सीताको पाइला रहेको चट्टान, शिवलि‌गको आकृति कोरिएका ढुंगा जस्ता सीतासँग जोडिएका पुरातात्विक अन्य वस्तु पनि अझै सुरक्षित छन्।'

सीता गुफा रहेको ठोरीको सुमेरु (सोमेश्वर) पहाड ठोरीबाटै सुरु भइ चितवनमा रहेको वाल्मिकी आश्रमसम्म पुगेको भन्दै सापकोटा भन्छन्,‘सीता गुफाको फेदीमा रामायणमा वर्णन गरिएको सरस्वती खोला पनि छ। ठोरीमै रामनगर भन्ने गाउँ पनि छ। यहीं हनुमानगर गाँउ छ। बाँदरझुला भन्ने अर्को गाउँ पनिसँगै छ। ठोरीमै सुमेरु पर्वत छ जुन ठोरीबाट सुरु भइ बाल्मिकी ऋषिले तपस्या गरेको भनिएको बाल्मिकी आश्रमसम्म पुगेको छ।'

उनका अनुसार ठोरी पनि २०३४ साल अगाडि चितवनकै माडीमा थियो। त्यस बेला ठोरी र माडीलाई पर्यावचीको रुपमा लिइन्थ्यो। माडीमै बाल्मिकी आश्रम पनि छ।

ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले पनि रामायणमा वर्णन गरिएका राम र सीतासँग जोडिएका थुप्रै धार्मिक, ऐतीहासिकस्थल र पुरातात्विक प्रमाण  ठोरी र माडी क्षेत्रमा रहेको बताए। 'प्रधानमन्त्रीको अभिव्यक्ति संयोग मात्र होइन', उनले भने, ‘राम र सीतासँग जोडिएका थुप्रै धार्मिक र पुरातात्विक प्रमाण  ठोरी र माडीमा छन्। त्यसैले यिनै प्रमाणलाई आधार बनाएर राम जन्मभूमीको बारेमा गहन खोज र अनुसन्धान हुनुपर्छ।' 

ठोरीका स्थानीयसमेत रहेका जिल्ला समन्वय समितिका उपप्रमुख ठाकुर न्यौपाने पनि रामको जन्मभूमी अयोध्यया ठोरी माडीमा पर्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई पुष्टि गर्ने थुप्रै प्रमाण र आधार रहेको बताउँछन्। तिनै आधार र प्रमाणका आधारमा खोज र अनुसन्धान गर्ने हो भने राम जन्मभूमी अयोध्या ठोरी माडीमै भएको पुष्टि हुने दाबी उनको छ।

‘प्रधानमन्त्री जस्तो मान्छेले हचुवामा पक्कै बोल्नुभएको होइन। केही आधार र प्रमाण फेला पारेर नै बोलेको हुनुपर्छ। त्यस्ता आधार प्रमाण यहाँ छन् पनि। अहिलेसम्म खोज र अनुसन्धान नभएर मात्रै यो कुरा ओझेलामा परेको हो', उनी भन्छन्,‘ठोरीमै रामनगर गाउँ पनि छ। भगवान रामको वास बस्ने ठाँउ भएकाले रामनगर भनिएको भन्ने किंवदन्ती छ। ठोरीकै नजिकमा अयोध्यापुरी गाउँ छ। सीताले ध्यान र तपस्या गरेको सीता गुफा यहीं छ। ठोरीमै हनुमानर गाउँ पनि छ। ठोरीको पारि भारततर्फ बाल्मिकी ऋषिको नामसँग जोडिएको बाल्मिकी टाइगर रिजर्भको घना जंगल नै छ।' 

ठोरीका स्थानीय र जनप्रतिनिधिले राम जन्मभूमी अयोध्याको विषयमा ठोरी र माडीमा खोज अनुसन्धानसँगै राम मन्दिर निर्माणका लागि पनि सरकारले काम थाल्नु पर्ने माग गरेका छन्। ठोरीका स्थानीय रामशरण लामिछाने भन्छन्,‘नाकाबन्दीका बेला पूरा देशलाई पालेको यही ठोरी नाकाले हो। तर नाकाबन्दीपछि देशले ठोरीलाई बिर्सियो। अहिले प्रधानमन्त्रीको अभिव्यक्तिले सारा ठोरीवासीमा फेरि एकपटक तरंग ल्याइदिएको छ। हामी निक्कै खुशी छौं।' 

४ दिनअघि मात्र सम्पन्न भएको ठोरी गाँउपालिकाको गाँउपरिषदले सीता गुफाको संरक्षणका लागि ७ लाख रुपैयाँ र त्यहाँ पूजा गर्नका लागि १ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको जानकारी उनले दिए। लामिछाने भन्छन्,‘यदि प्रधानमन्त्रीले आधार प्रमाणसहित बोलेका हुन् भने आफूले बोलेको कुरा पूरा गर्नुपर्छ। तत्कालै खोज र अनुसन्धानको कामसँगै राममन्दिर निर्माणको पनि काम सुरु गरि हाल्नुपर्छ।' 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.