बलात्कारीविरुद्ध उजुरी हालेर जेल पठाउनेकै हत्या !

बलात्कारीविरुद्ध उजुरी हालेर जेल पठाउनेकै हत्या !

राजविराज : ‘गरिबले कहिल्यै खुसी हुन नपाइने रहेछ, जीवनभर गरिने संघर्षमा कि हार्नु पर्ने कि मर्नुपर्ने ?’ आँखाबाट बलिन्द्र आँसु बगाउँदै सप्तरीको शम्भुनाथ नगरपालिका–३ कचन्दाहाकी ४१ वर्षीया घुरनीदेवी रामले सोधेको प्रश्नको जवाफ कसैसँग थिएन ।

न्यायका लागि राजविराज आएकी घुरनीदेबी लगातार रोइरहेकी थिइन् । चार दिनअघि हत्या भएका उनको श्रीमान ४२ वर्षीय त्रिभुवन रामको शवको पोष्टमार्टम हुन सकेको छैन । हत्याको खबर सुनेर रुपनी, विष्णुपुर, रमपुरा लगायत गाउँबाट आएका आफन्तहरूले सारीको सप्कोले उनको आँशु पुछिदिने र सम्झाउने कोसिस गरिरहेका थिए ।

घुरनीदेवीका तीन छोरीमध्ये जेठीको मात्र विवाह भएको छ, माइली छोरीको विवाह गर्ने उमेर भएको छ, एक छोरी र कान्छा छोरा सानै छन् । सबै जिम्मेवारी सम्झिएर उनी आफूलाई एक्लो र बेसहारा सम्झिन्छिन् ।

घुरनीका अनुसार उनका श्रीमानले सामुहिक बलात्कारको उजुरी गरेर अपराधीहरुलाई कैदसजाय गराएकै कारण उनको हत्या भएको थियो । साथै घुरनीका श्रीमानले पुर्खौँदेखि खनजोत गर्दैआएको प्रमाणको आधारमा जग्गाको मोहीयानी हक लिएका थिए । जसले गर्दा घुरनीका श्रीमान त्रिभुवन रामको हत्या आफन्तहरुबाटै भएको उनको आरोप छ ।

सामुहिक बलात्कारको आरोपका दोषीका बाबु, काका, दाजु र मोही जग्गा विवादका विपक्षीहरु मिलेर सोमबार राति १० बजे कचन्दाहा टोलदेखि दुई सय मिटर दक्षिण–पूर्व जाने बाटोबाट रामलाई अपहरण गरी धारिलो हतियारले कुटपिट गरी हत्या गरेर मुतनी नदीमा फालेकोे घुरनीको आरोप छ ।

हत्या गरिएको चोट र घिसारेको दाग देखिएपछि प्रहरीले कर्तव्य गरी मारिएको पहिले नै पुष्टि गरेको थियो । तीन दिनको अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालयले सात जना विरुद्ध उजुरी दर्ता गरेको छ । जसमध्ये शम्भुनाथ नगरपालिका–३ कचन्दाहाका ४५ वर्षीय शम्भु साह, उनका भाई ४० वर्षीय प्रभु साह, ३२ वर्षीय पंकज चौधरी र ३५ वर्षीय सुन्दर भनिने सुरेन्द्र पाल गडेरी पक्राउ परेको एसपी कृष्ण प्रसाईले बताए । छोरा, भतिजा, भाईलाई जेलमा सडाएको र मोहियानी हक लिएको आवेशमा योजना बनाइ अपहरण गरी हत्या गरेको भन्दै मृतककी पत्नी घुरनीदेवी रामले दिएको उजुरी दर्ता गरिएको एसपी प्रसाईले बताए ।

गाउँमा २०७४ फागुन २७ गते भएको सामुहिक बलात्कारको एक घटनामा रामकै उजुरीका आधारमा गाउँका युवाहरू एटलाण्टिक चौधरी, अजयकुमार चौधरी, अर्जुनकुमार साह र मनोजकुमार साह राजविराज कारागारमा कैद छन् ।

उनीहरूलाई सप्तरी जिल्ला अदालतले ०७६ माघ २९ गते अभियोग दावी पुग्ने फैसला गर्दै जनही १० वर्ष कैद सजायको फैसला गरेको छ । फरार रहेका बबी चौधरी र मिथलेशकुमार साहको हकमा मुद्दा मुल्तबी रहेको छ । कान दुखेको औषधी लिन पसल निक्लिएकी बालिकालाई घर छेउकै गहुँ खेतमा लगी उनीहरुले सामुहिक बलात्कार गरेर मोबाइलबाट भिडिओ बनाएको आरोप छ ।

यसैगरी सोमबार साँझ मात्र इलाका प्रहरी कार्यालय रुपनीमा भएको छलफलमा त्रिभुवन रामले मोहियानी हक पाउने निर्णय भएको थियो । जग्गाधनी रासलाल पालले आफ्नो खेतमा रामलाई खेती गर्न रोकेपछि जग्गाका विषयमा प्रहरी कार्यालयमा भएको छलफलमा रामले हजुरवुवा झौलाई रामकै पालादेखि मोही रहेको प्रमाण देखाएपछि खेत खनजोत गरी आधा बाली खान पाउने गरी रामको पक्षमा निर्णय भएको थियो ।

तर खुसी हुँदै गाउँ फर्किएका रामले श्रीमती घुरनी र परिवारसँग खुसी साट्न पनि पाएनन् । आफ्नो पक्षमा भएको फैसला सुनाएर आउँछु भन्दै गाउँको चोकमा निक्लिएका त्रिभुवन सोही रातिदेखि वेपत्ता भए ।

घर फर्किने क्रममा बाटोबाटै वेपत्ता उनको शव हत्या गरिएको अवस्थामा फेला प¥यो । खोजतलाश गर्दै जाँदा रामको शव हत्या गरी फालिएको अवस्थामा गाउँकै मुतनी नदीमा मङ्गलबार साँझ फेला परेको थियो ।

घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर बाबुराम कार्कीका अनुसार प्रहरी घटनास्थल पुग्दा उनको टाउको र चिउडोमा चोट लागेको थियो, कानबाट रगत बगिरहेको थियो । प्रहरी निरीक्षक कार्कीका अनुसार अन्यत्र कतै हत्या गरेर नदीमा ल्याएर मिल्काएको प्रारम्भिक अनुमान छ ।

‘हत्यापछि शवलाई खेतको बाटोमा बोकेर तथा घाँसमा घिसारेर लगेकाले छाती, कुहिनाका छाला खुइलिएको छ । खुट्टा समातेर घिसारी नदीमा लगेर मिल्काएको देखिन्छ,’ निरीक्षक कार्कीले भने । सोही घटनापछि मृतकका आफन्त र गउँलेले घटनाको छानविन गर्न र दोषीमाथि कडा कारवाही गर्न माग गर्दैआएका छन् । मृतकको शव राजविराजमा पोष्टमार्टम हुन नसकेपछि पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याइएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.