बाजुरामा युवाहरूको प्रहारबाट दुई प्रहरी घाइते
बाजुरा : बुढीगंगा नगरपालिका–८ को बेलातमाण्डौ बजारमा होटेल सञ्चालन गर्दै आएका व्यापारी पारस रावतलाई स्थानीय युवाहरुले कुटपिट गरेको उजुरीपछि सुरक्षामा खटिएका प्रहरीमाथि ढुंगामुढा प्रहार भएको छ ।
ढुंगामुढा प्रहारबाट रिठा प्रहरी चौकीका इन्चार्ज र एक प्रहरी जवान गरी घाइते भएका छन् । घाइते प्रहरीको अछामको बयालपाटा अस्पतालमा उपचार भइरहको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए।
बेलातमाण्डौमा होटेल सञ्चालक पारस रावतलाई कुटपिट गरेर फरार भएका बुढीगंगा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भुवनसिंह केसीका छोरा दीपीप केसीसहितको समूहलाई प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरीमाथि आक्रमण भएको बाजुरा प्रहरी प्रमुख प्रहरी भट्टराईले बताए ।
प्रहरीलाई नै आक्रमण भएपछि जिल्ला प्रहरी कार्यालयबाट इनिस्पेक्टरको कमाण्डमा शुक्रबार राति १२ बजे नै घटना स्थलमा टोली खटाइएको छ । ढुंगामुढा गर्ने समूह फरार रहेको र खोजी भइरहेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए ।
प्रतिक्रिया दिनुहोस !