बाढीको कहरमा वीरगन्ज (फोटो फिचर)
वीरगन्ज : सिर्सिया नदीको बाढी घरमा पसेपछि वीरगन्ज-११ श्रीपुरको डोमवस्ती नै विस्थापित भएको छ। डोमवस्तीका झण्डै एक दर्जन घरधुरीका १ सय २० जनालाई मङगलबार साँझ नै उद्दार गरेर श्रीपुरस्थित सामुदायिक विद्यालयमा राखिएको छ।
सिर्सिया नदी छेउको डोम वस्ती विगत चार वर्षदेखि हरेक वर्षामा बाढीका कारण बस्ती नै छाडेर विस्थापित हुँदै आएका छन्। विद्यालयमा परिवार र छिमेकीसहित आश्रय लिएर बसेका मोती मल्लिक डोम भन्छन्, ‘चार वर्ष भयो बाढीले बस्तीमा बितण्डा गरेको, हरेक वर्षातमा घरबार छाडेर हिँड्नु पर्छ।’
मङगलबारको बाढीले फुसको घर भत्काएपछि विद्यालयमा आश्रय लिएकी डोमबस्तीकी शारदा देवी भन्छिन्, ‘दुई तीनदेखि लगातार पानी परेपछि घर भित्रै बाढी पसेर कम्मरसम्म पानी हुन्छ, बालबच्चाको ज्यान जोगाउन सरसामान छाडेर भाग्नुपर्छ, चार वर्षदेखि यो नियति भोग्दै आइरहेका छौँ।’ _20200722111949.jpg)
सिर्सिया नदीका कारण वीरगन्ज महानगरवासीले हरेक वर्षमा बाढीको सास्ती खेप्दै आएका छन्। यसका साथै वर्षा र ढल नालाको पानीको उचित निकास नहुँदा वर्षामा वीरगन्ज शहरका मुख्य बजार क्षेत्र नै डुबानमा पर्दै आएका छन्। पछिल्लो तीन दिन लगातार वर्षा भएपछि सहरका आधा दर्जन भन्दा बढी टोल र बस्ती डुबानमा परेका छन्।
वर्षा र ढल नालाको पानी सिर्सिया नदीमा बिसर्जन हुँदै आएको छ। तर लगातारको वर्षाले नदीमा बाढी आएर पानीको सतह बढेपछि ढल नालाको निकास थुनिदा सहरको मुख्य बजार क्षेत्र नै डुबानमा परेका हुन्।
मङगलबार शहरको मध्यभागमा अवस्थित आदर्शनगर, घण्टाघर उत्तरको गोश्वरा रोड, रानीघाट, श्रीपुर, रामगढवा लगायतका टोलमा ४ फिट भन्दा बढी पानी जमेर आवागमन नै ठप्प हुन पुगेको थियो।
मङगलवार आदर्शनगर क्षेत्रका दर्जनौ पसल र ट्रान्सपोर्टमा पानी छिर्दा लाखौं मूल्यका सामान भिजेर नोक्सान भएको व्यपारीले बताएका छन्। सिर्सिया नदीको अतिक्रमण र सहरमा ढल नालाको उचित निकास नहुँदा बाढी र डुबानको सास्ती खेप्नु परेको नगरबासीको भनाइ छ। 
१५० फिट चौडाइको सिर्सिया नदी अतिक्रमणको चपेटामा परेर अहिले ३०/३५ फिटमा सांघुरिएको छ। जसले गर्दा बाढी बस्तीमा पस्ने गरेको नगरप्रमुख विजय सरावगी स्वीकार गर्छन्।
‘अतिक्रमणको मारमा परेको सिर्सिया नदी अहिले कूलो जस्तै साँघुरो देखिन्छ’, उनी भन्छन्,‘जबसम्म नदीको चौडाइ पुरानै अवस्थामा फर्काउन सकिदैन तब सम्म बाढी पस्ने समस्या हट्दैन।’






प्रतिक्रिया दिनुहोस !