सधैं डुबानको डर
राजविराज : पानीको बहावसँगै बगेका दाउरा, काठ निकाल्ने क्रममा गत वर्ष साउन ८ गते रूपनी गाउँपालिका- १ स्थित खाँडो खोलाले बगाएर बेपत्ता भएका नसिर मियाँ भोलिपल्ट राजविराज-१५ देउरी भरुवामा मृत फेला परे।
वैदेशिक रोजगारका लागि ३ दिनपछि कतार उडने निश्चित भएका नजिरसँगै उनकी श्रीमती, १ छोरी र २ छोराको सपना बाढीले बगायो। सोही दिन भैंसी चराएर घर फर्किरहेका तिलाठी कोइलाडी गाउँपालिका-४ का ५५ वर्षीय बालेश्वर मुखिया हनुमाननगर कंकालिनी नगरपालिका-१४ स्थित सप्तकोसी नदीमा वेपत्ता भए।
राजविराज नगरपालिका-१५ देउरी भरुवास्थित पश्चिमतर्फको बाँधको डिल बाँध्ने क्रममा २०७४ साउन २६ गते बाढीले बगाएका स्थानीय ६० वर्षीय डोमी यादव फेला परेनन्। सशस्त्र प्रहरी पूर्वी मुख्यालयको उद्धार टोलीले निकै प्रयास गरे पनि उनी बालुवामै बिलाए। राम्ररी बोल्न नसक्ने मनोज र सुस्त मनस्थितिका उनका भाइ सरोज बुवालाई बाढीले बगाएर बेपत्ता बनाएपछि बेसहारा भए। गाउँ जोगाउन कटान भइरहेको बाँध निर्माणमा सुरक्षाकर्मीसँगै डोमी खटिएका थिए। उनी बेपत्ता भएपछि श्रीमती धनादेवीको थाप्लोमा घरको सम्पूर्ण जिम्मेवारी आइलाग्यो।
बर्सेनि बाँध निर्माण र मर्मतमा करोडौं रुपैयाँ खर्च हुन्छ तर कमजोर मर्मत कार्यले पुनः बाँध भत्किन्छ। ठूला-साना पुल, सडक भत्किएर आवागमन ठप्प हुन्छ। घर बगाउँछ, उब्जाउ हुने खेत बालुवाले पुरिन्छ, मानिस र चौपाया बग्छन्। बचेकाहरूले सडकमा टागेको पालमा चिउरा, मुरही र चाउचाउ खाएर गुजारा चलाउनुपर्छ।
ज्यामी काम गर्न काठमाडौं गएका सप्तरीको लोहजरा-८ बुधेवाका ३८ वर्षीय राजदेव राम ०७४ साउन ३० गते घर फर्कदा आफ्नो गाउँ पत्ता लगाउनै सकेनन्। बाढीले घर बगाएको सुनेर फर्कदा उनका चार दाजुभाइ सबैको घर भएको बस्ती बगर बनिसकेको थियो। महुली खोलामा आएको बाढीले घरसहित बस्ती नै बगरमा परिणत गरेको ठाउँमा गाउँको रहेको अनुमान गरे पनि रामले घर भएको ठाउँ पत्ता लगाउन सकेनन्।
मैनाकडेरी भेडियामण्ठ नजिक महुली खोलाले २०७४ साउन २६ गते बाँध भत्काएर गाउँमा बाढी पसेपछि घरबारविहीन २ सय ५० परिवार महिना दिनसम्म चन्द्र नहरको डिलमा बसे। पछि बाटो छेउको उँचो जमिनमा पाल टाँगेर बसेको स्थानीय जोगेन्द्र राम बताउँछन्। वर्षा सकिएपछि सरकारी र अन्य निकायले बिर्सने विनाशकारी बाढीको कथा बर्सेनि दोहोरिन्छ।
खाँडो, महुली, जिता, बलान, खडक, त्रियुगा खोला होस वा नेपालकै सबैभन्दा ठूलो नदी सप्तकोसीमा आउने बाढीले गर्ने धनजनको क्षति पीडितले सदैव सम्झिरहन्छन्। १२ वर्ष अघि (२०६५ भदौ २) कोसी नदीको पूर्वी तटबन्ध फुटेर गाउँमा पानी पस्दा सप्तरीका तत्कालीन भारदह, हनुमाननगर, जोगनिया, सुनसरीको पश्चिम कुशाहा, श्रीपुर जब्दी, हरिपुर र लौकही गाविस प्रत्यक्ष प्रभावित बने।
सुनसरीको कोसी गाउँपालिका-३ स्थित पश्चिम कुशाहाको कोसी नदीको पूर्वी तटबन्धकोे स्पर नम्बर १२ दशमलव १० तथा स्पर नम्बर १२ दशमलव ९० बीचमा पानीको धक्काले फुटेर भँगालो गाउँमा पस्दा ७ हजार ५ सय ६३ परिवारका ४२ हजार ७ सय ६५ स्थानीय विस्थापित भए। विनाशकारी बाढी गाउँमा पसेर विस्थापित भएका पीडित विस्तारै पुरानो दैनिकीमा फर्किए पनि बाढीबाट क्षति भएको जग्गा पूर्णरुपमा प्रयोगमा आउन सकेको छैन। सरकारले घोषणा गरेको राहत अझै उपलब्ध नभएको कोसी गाउँपालिका-६ का जयप्रकाश साह बताउँछन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा बाढीले सप्तरीमा ६ जनाको मृत्यु भयो। ४२ बिघा ५ कठ्ठा जमिन कटान भयो। ५ हजार ४ सय ८७ घर डुबान भएकोमा १ हजार १ सय ४७ घर पूर्ण रूपमा क्षति भयो। करिब ३ हजार परिवार विस्थापित भए। यस्तै ५ सय ४५ पशुपन्छीको मर्नुका साथै ६ सय ३२ बिघा जमिनमा लगाइएको बाली डुब्यो। गत वर्ष पनि २ जनाको ज्यान गयो। त्यसअघि पनि ठूलो जनधनको क्षति भएको थियो।
यस वर्ष पनि कोसी नदीबाट सिपेज भई फर्कने पानीको भेल र महुली खोलाले भर्खरै रोपेको धानबालीसहित खेतीयोग्य जमिन डुबानमा पारेको हनुमाननगर कंकालिनी नगरपालिका-१० का वडाध्यक्ष श्रवण मण्डलले बताए। कोसीको पानी नेपाली भूभागमा छिर्दा सप्तरीको भारदहदेखि तिलाठीसम्मको करिब १ सय ६० वर्गकिलोमिटर क्षेत्र डुबानमा पर्छ। यसबाट हजारौं बिघा धानबाली सखाप हुने स्थानीय बताउँछन्।
कोसीको पानीले भारदह, हनुमाननगरहुँदै इनरुवाको बर्साइन, रम्पुरा मल्हानियाँ, कोइलाडी, सकरपुरा, तिलाठी, जोगनियालाई डुबानमा पार्ने वडाध्यक्ष मण्डलले बताए। निरन्तरको वर्षासँगै यो वर्ष पनि सप्तरीवासी त्रासमा छन्। पानीको बहाव उच्च भइरहँदा कोसी ब्यारेजका ५६ ढोकामध्ये भारतले आफू अनुकूल खोल्ने र बन्द गर्दा नेपालीहरू त्रसित भएका भारदहका भूपदेव माली बताउँछन्। यो वर्ष तिलाठी कोइलाडी, अग्निसाइर कृष्णसवरण, बलान बिहुल, हनुमाननगर कंकालिनी, सप्तकोसीलगायतका विभिन्न गाउँ डुबान र कटानमा परेको छ।
प्रतिक्रिया दिनुहोस !