पर्सामा ५ थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पु्ष्टि, वडा प्रहरी कार्यालय श्रीपुर 'सिल'
वीरगन्ज : पर्सामा बिहीबार थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राती गरिएको परीक्षणमा प्रहरी हिरासतमा रहेका ५ जना थुनुवासहित ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
३२ जनामध्ये स्वेच्छाले पीसीआर परीक्षण गराएका ९ जना छन् । ती ९ जना र प्रहरी हिरासतमा रहेका ५ जना थुनुवा बाहेक अरु १८ जनाको भने कन्ट्रयाक्ट ट्रेसिङका क्रममा जाँच गर्दा पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।
वडा प्रहरी कार्यालय श्रीपुरको हिरासत कक्षमा रहेका २५, २२, ३३, २२ र ४७ वर्षीय ५ पुरुष थुनुवामा संक्रमण भेटिएको पर्सकी प्रहरी उपरीक्षक गंगा पन्तले बताइन् ।
ती पाँचैजना थुनुवा भारतीय नागरिक हुन् ।हिरासत कक्षमा रहेका ७ थुनुवामध्ये ५ जनामा संक्रमण भेटिएपछि वडा प्रहरी कार्यालय श्रीपुर 'सिल' गरिएको पन्तले जानकारी दिइन् ।
नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायका अनुसार, आफैलाई शंका लागेर सशुल्क परीक्षण गराएका पर्साको बहुदरामाई नगरपालिका ५ भौराटारका ३३ वर्षीय पुरुष, पकाहामैनपुर गाउँपालिका ३ सवैठवाका ५० र २७ वर्षीय पुरुष, वीरगन्ज महानगरपालिका १० बजरंग टोलका २९ वर्षीय पुरुष, वीरगन्ज १२ मुर्लीका १६ वर्षका २ पुरुष र ३८ वर्षीया महिला, वीरगन्ज २० का ३२ वर्षीय पुरुष, वीरगन्ज २ छपकैयाका ३० वर्षीय पुरुषको पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको हो ।
कन्टयाक्ट ट्रेसीङमा परेर परीक्षण गरिएका नारायणी अस्पतालका संक्रमित स्वीपरको २३ वर्षीय छोरा, वीरगन्ज वीरगन्ज २९ की २५ वर्षीया महिला , वीरगन्ज १३ की ४८ वर्षीया महिला र ३० वर्यीय पुरुष, छिपहरमाई गाउँपालिका ३ का २३ वर्षीय पुरुष, वीरगन्ज १० का ६०, ३५ र २९ वर्षीया महिला तथा १४ वर्षका पुरुष, वीरगन्ज ९ घण्टाघरका २५ वर्षीय पुरुष र वीरगन्ज १३ का ९ महिने बालकमा पनि कोरोना संक्रमण देखिएको हो ।
बिहीबार राति ३२ जनामा संक्रमण पुष्टि भएसँगै पर्सा जिल्लामा संक्रमितको संख्या २३४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । यसअघि बुधबार राती पनि एक मृतक वृद्ध र २ चिकित्सकसहित १७ जनामा संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस !