आइसोलेसनमा उपचार गराइरहेकी युवतीको मृत्यु : पीसीआर रिपोर्ट आउन बाँकी
वीरगन्ज : वीरगन्जको गण्डकस्थित अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा उपचार गराइरहेकी एक युवतीको मृत्यु भएको छ।
आरडीटी रिपोर्ट पोजिटिभ देखिएकी युवतीको शुक्रबार साँझ ५ बजे मृत्यु भएको हो। तर उनको पीसीआर रिपोर्ट भने आउन बाँकी नै रहेको कोबिड अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए।
‘स्वाब संलकन गरेर नारायणी अस्पतालको प्रयोगशालामा पठाएका छौँ’, उनले भने, ‘ल्याबबाट पीसीआर रिपोर्ट आउन बाँकी छ।’ बाराको परवानीपुर घर भएकी १९ वर्षीया ती युवतीलाई स्वास्थ्यमा समस्या भएपछि बुधबार वीरगन्जकै वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो।
उपचारका क्रममा कोरोनाको शंका लागेपछि चिकित्सकले युवतीको आरडीटी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि उनलाई बिहीबार राति साढे ९ बजे तिर वीरगन्ज हेल्थ केयरबाट गण्डकस्थित अस्थायी कोभिड अस्पताल लगिएको थियो।
पीसीआर रिपोर्ट नआएकाले शव अस्पतालमै राखिएको उनले बताए।
प्रतिक्रिया दिनुहोस !