बर्षेनि बाढीको त्रासमा सिमाबासी
डडेल्धुरा : नेपाल-भारत सीमा नदी भएर बग्ने महाकाली नदीका कारण सिमाबासीका लागि बर्षेनि वर्षातका बेला बाढीको त्रासमा हुन्छन्। महाकाली नदीका कारण जिल्लाको परशुराम नगरपालिकाका महाकाली र रगुन नदी छेउछाउमा बस्दै आएका दर्जनौं गाउँका हजारौं बासिन्दा बाढीको सन्त्रासमा छन् ।
वर्षाको मौसम सुरु भएसँगै नदी किनारमा वर्षौदेखि बस्दै आएका स्थानीय बाढी, कटानी र पटानी निम्त्याउने महाकाली नदीका कारण सधै डरत्रासको कहरमा बाँच्न बाध्य छन्।
परशुराम नगरपालिका ३, ५ र ६ भएर कन्चनपुरतिर बग्ने यो नदी ऐतिहासिक महत्व बोकेको भएपनि यसले समयसमयमा निम्त्याउने बाढी कथा निकै दर्दनाक छ । भारततर्फ पातलो बस्ती र बाक्लो जंगल हुनु, नेपालतर्फ बस्तीमात्रै रहनु र कमजोर चूरे भू-भाग एवं तटबन्ध नै नहुनुले बढी क्षति नेपाली सीमा क्षेत्रतिर हुने गरेको छ ।
नेपालतर्फका दर्जन बढी गाउँ वर्षा हुने वित्तिकै डुबानको शिकार हुन पुग्छन् । छेउ छाउका स-साना खहरेले बाटो बन्द गरिदिएपछि यातायत सेवा पनि प्रभावित हुने गर्छ।
असुरानी गाउँसँगै परशुरामका अन्य दर्जन गाउँ पनि महाकाली नदीको उर्लिँदो बाढीको कहरमा पर्ने गरेका छन् । महाकाली नदी किनारको गाउँ असुरानीमा २५ देखि ३० परिवारको जनजाती बस्ती दशकौंदेखि बसिरहेको छ । खानेपानी सिंचाई र स्वास्थ्यको चरम अभाव रहेको यो गाउँमा जान भारतको बाटो भएर जानुपर्छ।
नेपालको बाटोबाट पुरै १ दिन पैदल लाग्ने यस गाउँको फेद भएर महाकाली नदी बग्दछ । नदी किनारको तटीय गाउँ भएकाले वर्षातको समयमा असुरक्षित बासमा दिनरात जाग्रम बसेर समय बिताइरहेको स्थानीय महावीर मगरले बताए ।
अन्य समयभन्दा पनि वर्षातको बेला महाकालीमा पानीको बहाव बढ्ने भएकाले चनाखो भई बस्नुपर्ने मगरको भनाइ छ। सधैजसो वर्षातको बेला महाकाली नदीको प्रभावमा परीगाउँ, परशुरामधाम पनि पर्छ। नदी किनारबाट जमिन कटान भई धाम सम्म नै पुग्न थालेपछि केही तटबन्द समेत लगाइएको छ । वर्षातको बेलामा जोखिममा रहने क्षेत्रको रुपमा परशुराम ५ परीगाउँको तटीय क्षेत्र पनि रहेको छ ।
बैतडी विशालपुरको तल्लो क्षेत्र, बालुवाटार, घट्टेप्लट क्षेत्र र परशुराम धाम क्षेत्र पनि निकै जोखिममा रहेका छन् । महाकाली नदीको पानीको सतह ५ मिटर भन्दामाथि जाने वित्तिकै परशुराम धाममा रहेको मुख्य मन्दिरमा आवतजावत गर्न पनि सकिदैन ।
मन्दीर क्षेत्रमा उच्चो चट्टान भएको र त्यहाँ जाने दुबैपट्टी महाकाली नदीको भेलले हरेक वर्ष मन्दीर ढाक्ने गर्दछ । यदी उचित तटबन्ध निर्माण गरिएन भने मन्दीरमा क्षति पुग्ने स्थानीय तारा जोशीले वताए ।
रंगुन नदी र महाकाली नदीको दोहोरो प्रभावमा रहेको छ घट्टेप्लट गाउँ । बस्तीको दक्षीणतिर महाकाली र उतरपूर्वबाट बग्दै आएको रंगुनको धारमा रहेको यस क्षेत्रको करिब ४सय रोपनी जमिन कटान भएको छ ।
हाल आएर रंगुनको धारमा तटबन्द भएपछि बल्ल केही राहत भएको बहादुरे महिला सशक्तिकरण केन्द्र परिगाउँकी संयोजक भावना खड्काले बताइन् । उनले भनिन, 'हाल आएर बाढीको त्रासबाट ढुक्क छौं , तर वर्षातको गडगडाहटले भने सातो नै जानेका गरेको छ ।'
वस्तुभाउ चराउन, आवश्यक परेका बेला नदीजन्य पदार्थ बालुवा, ढुंगा, दाउरा आदी संकलन गर्न सिमावासी नदीकै भर पर्छन्। नदीको तटमा रहेका हिउँदमा सुख्खा र वर्षातमा महाकालीको कटानीको मारमा पर्ने परशुरामका कुणा, छेला र तातापनी गाउँका वासिन्दाको दुखेसो पनि कम छैन ।
नदीका कारण बर्षेनि खाद्यान्नलगायत अन्य कुराको समस्या झेल्दै आएका त्यस क्षेत्रका वासिन्दा बलियो र भरपर्दो तटबन्द निर्माण गरिनुपर्नेमा जोड दिए। रंगुन नदी महाकालीमा मिसिने वित्तिकै नदी दक्षिणतिर मोडिन्छ। त्यो क्षेत्रमा कुणा गाउँ पर्दछ । परशुराम नगरपालिका वार्ड नं. ५ को वार्डको केन्द्र रहेको यस बस्तीमा महाकाली नदीको सोझै धार ठोक्किँदा हालसम्म ४ परिवार विस्तापित भएका छन् भने ३ सय रोपनी जमिन कटान भएको कुणागाउँका स्थानीय दलजित बोहराले बताए ।
उस्तै पीडा छेला गाउँको किनार, बण्ड र तातपानी गाउँमा बस्दै आएका सर्वसधारणको छ । महाकाली किनारको सडक बगाउँदा १ किलोमिटरमाथि सारिएको बस्ती अहिले पनि जोखिममै छ ।
बण्ड गाउँको छेउ नजिक रहेका पसल, मिलको क्षेत्र सबै नदीले बगाइसकेको स्थानीय बताउँछन् । यस्तै तातपानी गाउँ नदीको बगरजस्तै बनेको स्थानीय मिना साउदले बताइन। घरहरु नदी किनारमै देखिन्छन र स्थानीय वर्षातमा निकै त्रसित अवस्थामा बस्नुपर्ने साउदले दुखेसो पोखे।
सादनी खोला र महाकाली नदीको कटानले आधाजती बस्ती विस्थापित भएर बसाइ सरिसकेको मिनाको भनाइ छ । सानोतीनो रुपमा सादनी खोलामा तटबन्ध भएको तर महाकाली नदीको कटानीको बहाव रोक्न हासम्म सरकारको तर्फबाट कुनै पनि योजना नआएपछि गाउँ नै बग्ने चिन्ता स्थानीयको छ।
नेपाल भारत आवतजावत गर्ने अघोषित नाका समेत विस्तापित
१० वर्ष पहिले भित्रि मधेश क्षेत्रको भारत आवतजावत गर्ने नाका सिसमजाला पुरै नदीले बगाएको छ। वर्षातको समयमा त जानै नसकिने टापुको रुपमा रहने त्यो ठाउँमा बस्ती, पसल र छोटी भन्सार पनि रहेका थिए ।
सिसमजालामा बस्ने स्थानीयले पूर्णरुपमा बस्ती सारिसकेका छन् । खेतीपाती पनि कोही गर्देनन्। हिउँदको समयमा अस्थायी टहरा निर्माण गरी डुंगा संचालकमात्र नाकामा बस्ने गर्दछन् ।
परशुराम नगरपालिकाका भोरकुण्डा, कराली, खालीगडा, मसिनजालालगायत महाकाली सीमामा रहेका दर्जन बढी गाउँ बर्षेनि महाकाली नदी र उक्त नदीमा मिसिने स-साना खहरेको त्रासमा रहदै आएका छन् । अधिकांश व्यक्तिले आन्तरिक बसाइसराइ र हुनेखानेले बाह्य बसाइसराइ गरी अन्यत्रै गएको कुरा वार्ड नं. ६ का कर्मचारी तेज बोहराले जानकारी दिए ।
यसवर्षको नगर योजनामा नदी कटान कार्यलाई रोक्न र वस्तीलाई जोखिम हुनबाट जोगाउन रहेको परशुराम नगरपालिकाका मेयर भिमबहादुर साउदले बताए । नगरभित्र धेरै बस्ती तथा उर्वराभूमि सकंटमा भएपनि त्यसको जोखिम न्युनिकरणका लागि गुरुयोजनासहित रोकथाम गरिने परशुराम नगरपालिकाले जनाएको छ ।
महाकालीको भेलले कटानी गरेको तातपानी गाउँ। धनबहादुर भण्डारी ।
प्रतिक्रिया दिनुहोस !