संक्रमित महिलाले आइसोलेसनमै जन्माइन् शिशु
वीरगन्ज : वीरगन्ज स्थित कोभिड अस्पतालमा उपचाररत एक संक्रमीत महिलाले आइसोलेसनमै जन्माएकी छिन् । कोरोना संक्रमित वीरगन्ज–१ छपकैयाकी ३१ वर्षीया महिलाले शुक्रबार बिहान ४ बजे छोरी जन्माएकी हुन्।
आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको कोभिड अस्पतालका कोर्डिनेटर डाक्टर उदयनारायण सिंहले जानकारी दिए। ती महिलालाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । तर संक्रमण पुष्टि भएको जानकारी उनी र उनको परिवारलाई थाहा थिएन।
बिहीबार साँझ बेथाले च्यापेपछि सुत्केरी गराउन उनलाई नेशनल मेडिकल कलेजको प्रसूती गृहमा लगेर भर्ना गरिसकिएको थियो ।संक्रमित महिला सुत्केरी गराउनका लागि मेडिकल कलेजमा भर्ना भएको खबर पाएपछि कोभिड अस्पतालका चिकित्सकले राति साँढे एक बजे उनलाई कोभिड अस्पतालमा ल्याएका थिए।
‘कोभिड अस्पतालमा सुत्केरी गराउने दक्ष जनशक्ति पनि थिएनन्, बाहिरबाट नर्सलाइ बोलायौ, सिंहले भने–‘बिहान ४ बजेर १० मिनेटमा बच्चा जन्मियो, आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य छ।’ नवजता शिशुको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि शुक्रबार बिहान नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको उनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !