कोरोना कहरमा इद : अंकमाल होइन, ‘टाढैबाट अदाब’

कोरोना कहरमा इद : अंकमाल होइन, ‘टाढैबाट अदाब’

राजविराज : सप्तरीको शम्भुनाथ नगरपालिका-२ की महक र मौसमी प्रविण बिहान सबेरै उठे। अरु दिनभन्दा बढी उत्साहित ८ वर्षीया महक र ५ वर्षीया मौसमी दुबैले नुहाएर नयाँ कपडा लगाए। कपाल कोरी चिटिक्क परे। नवाज पढेपछि एक अर्कालाई टाढैबाट ‘अदाब’ गरे। 

इस्लाम धर्मावलम्बीहरुको शनिबार परेको ‘बकर इद (इदुल जोहा)’ पर्वमा अरुले झै उनीहरुले पनि आफ्नै घरमा नवाज पढे। कोरोना भाइरसले विश्वभर कहर मच्चाइरहेका कारण अरुले झै उनीहरुले पनि एकापसमा अङ्गालो मारेनन, हात मिलाएनन, एक अर्कालाई झुकेर आदर र सम्मान गर्दै अदाब गरे।

‘ठूला मानिसले जे–जस्तो गरेको देख्छन्, बालबालिकाहरुले त्यस्तै त गर्ने हुन्’ प्रविणका बुवा अनवर अली भन्छन्, ‘ठूला मानिसहरुले पहिले इदको शुभकामना आदानप्रदान गर्दा अंकमाल गर्थे, हात मिलाउँथे, बालबालिकाले त्यसै गर्थे, अहिले ठूला मानिसहरुले अंकमाल गर्न र हात मिलाउन छाडेर अदाब गर्न लागेपछि बालबालिका पनि त्यसै गर्छन्।

कोरोना भाइरसका कारण विश्वभर नयाँ चलन नै सुरु भएको छ। टाढैबाट नमस्ते वा अदाब गर्ने। अहिलेसम्म २१५ देशमा फैलिइसकेको कोरोना भाइरसका कारण हात मिलाउँदा र अंकमाल गर्दा सजिलै संक्रमण बढ्ने खतरा हुन्छ। त्यसैले मानिसहरुले नमस्ते वा अदाब गरेर एकअर्कालाई अभिवादन गरिरहेका छन्। कोरोनाको कहरले अकंमाल गर्दै शुभकामना आदान प्रदान गर्ने र हात मिलाउने प्रचलन हटेको राजविराज २ का समिम अहमदले बताए। मान्यजनलाई आदर सम्मान गर्न झुकेर गरिने नमस्कार र अदाब नै राम्रो चलन भएको उनी बताउँछन्।

कोरोना महामारीका कारण मस्जिद, मदर्सा, धार्मिकस्थलमा ठूलो सङ्ख्यामा भेला भएर तथा इष्ट मित्रलाई घरमा बोलाएर ‘बकर इद’ पर्व मनाउन नपाएपछि घरपरिवारका सदस्य मिलेर मनाएको सप्तकोशी नगरपालिका–२ का वडा सदस्य जाहिर हुसेनले बताए। 

तिहारमा साथीहरुको दिदीसँग भाइटीका लगाउने हुसेन इस्लाम धर्मावलम्बीको ठूलो पर्वमा पाहुनालाई बोलाउन नपाएकोमा खिन्न देखिन्थे। पहिलो ठूलो पर्व इद राम्रोसँग मनाउन नपाएका हुसेनले देशमा लकडाउन खुलेपछि दोस्रो महान् पर्व बकर इदमा साथीभाइ, छिमेकीलाई बोलाएर मनाउने आशा गरेका थिए। पछिल्लो दुई साता यता सप्तरीमा संक्रमितको सङ्ख्यामा वृद्धि भएपछि र समुदायमा कोरोना फैलिए पछि सप्तरीको राजविराजमा लागेको निषेधाज्ञा र विभिन्न स्थानीय तहमा लागेको लकडाउनका कारण सप्तरीका इस्लाम धर्मावलम्बीले घरमै बकर इद पर्व मनाउनु परेको उनले बताए।

कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भएकाले मुस्लिम आयोग, स्थानीय तह र स्थानीय प्रशासनले विज्ञप्ति र सूचना जारी गरी घरमै बसेर सुरक्षित रुपमा बकर इद मनाउन आह्वान गरेकाले बजार सुनसान रहेको प्रवेज अन्सारीले बताए। ‘कोरोना भाइरस संक्रमणको जोखिमका कारण राजविराज, शम्भुनाथ, कञ्चनरुप नगरपालिका राजगढ, अग्नीसाइर कृष्णसवरण, विष्णुपुर गाउँपालिकामा स्थानीय तहले लकडाउन कडा पारेको छ। स्थानीय प्रशासनले पनि बकर इद, रक्षा बन्धनमा भेला, जमघट हुन रोक लगाएको छ।

धेरै जनाले घरमै बकर इद पर्व मनाउँदा राजविराज नगरपालिका ४ स्थित जामे मस्जिद र ग्रामीण क्षेत्रका मस्जिदमा फाटफुट पुरुषले नमाज पढे। तीन हजारसम्म अटाउन सक्ने जामे मस्जिदमा सामाजिक दूरी कायम गरी ६०÷६० जनाका दरले दुई सिफ्टमा इमामसँग नमाज पढिएको राजविराज ४ का शेरु खानले बताए। जिल्ला भरीकै इस्लाम धर्मावलम्बी आउने जामे मस्जिदमा राजविराज ४ का सिमित वडावासीले नमाज पढेको र धेरैले घरमै नमाज पढेको सरफराज अन्सारीले बताए। नमाज पढेपछि एक आपसमा अंकमाल गर्दै हात मिलाएर शुभकामना आदान प्रदान गर्ने चलन भने हटेको अन्सारीले बताए।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण साथीभाइ, इष्टमित्र, अतिथिलाई बोलाउन नपाए पनि कुर्बानी (बलीदान) को मासु तीन भागमा बाँडेर खाएको उनीहरुले बताए। राजविराजका व्यापारी फैयाज अन्सारीका अनुसार नमाज पढेर आएपछि हुने खानेले खसीको बली दिए। बली दिइएको खसीको मासुलाई तीन भाग लगाई एक भाग जुनसुकै धर्मका भएपनि गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग जसको घरमा बली दिइएन त्यस्ता छिमेकी, इष्टमित्रलाई र तेस्रो भाग परिवार बसेर खाएको अन्सारीले बताए। सलामी वापत बालबालिकाले पनि ठूला मानिसबाट आर्शिवाद स्वरुप दक्षिणा पाउने गरेको राजविराज–९ का हिरा खानले बताए।

इदुल फित्र अर्थात् रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने धार्मिक विधि अनुसार मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढने चलन छ। अरु दिन घरमै स्वयम् बसेर नमाज पढे पनि इद, बकर इद र शुक्रबारको नमाज भने धार्मिक गुरु (मौलाना), जानकार इमामसँग पढनु पर्ने हुन्छ।

धार्मिक मान्यताका आधारमा हिजरी संवत अनुसार १४३९ वर्ष पहिले निसन्तान इब्राहिम अलि सलामले सन्तान प्राप्तिका लागि अल्लाहसँग मन्नत (प्रार्थना गर्दै आर्शिवाद) मागेका थिए। अल्लाहका नवी (दूत) इब्राहिमले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको छोरा इस्माइल अलेह सलामलाई कुर्बानी (बलिदान) गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको इस्लामी संघ नेपालको सप्तरी अध्यक्ष कलिम खानले जानकारी दिए।

अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरालाई बलिदान गर्न खोज्दा अल्लाह प्रशन्न भएर इस्माइलको कुर्बानी नभएर स्वर्ग (जनन्त) मा पालिएका दुम्बा (भेडा)को कुर्बानी दिन लगाएको धार्मिक मान्यता छ। यसैकारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको इस्लाम धर्मावलम्बीको भनाइ छ।

अल्लाहले सन्तानको सुख दियो भने कुर्बानी गर्ने इब्राहिमको प्रतिबद्धता थियो। सोहीअनुरुप अल्लाहले निजको परीक्षास्वरुप सपनामा सबैभन्दा प्रियलाई कुर्बानी गर्नुपर्छ भनेका थिए। इब्राहिमले सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहे पछि उनको परीक्षण सफल सावित भएको भन्दै अल्लाहले कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नत (स्वर्ग)मा पालिएर आएका दुम्बाको कुर्बान (बलि) गर्न भनेको धार्मिक विश्वास छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.