खुलेन त्रिविको ताला, सबै काम ठप्प

खुलेन त्रिविको ताला, सबै काम ठप्प

काठमाडौं : पदाधिकारी नियुक्तिको विषयमा देखिएको विवाद नमिल्दा मुलुककै जेठो र पुरानो त्रिभुवन विश्वविद्यालयको शैक्षिक, अर्थिक तथा प्रशासनिक काम ठप्प भएको छ। विश्वविद्यालयको वर्तमान नेतृत्वले सबै प्रकारका नियुक्तिमा प्राज्ञिक क्षमता भएका र योग्य व्यक्तिलाई पाखा लगाएर राजनितिक आस्थालाई आधार बनाएको दावी गर्दै प्रजातान्त्रि प्राध्यापक संघ, नेपाल लोकतान्त्रि प्राध्यापक संघ र नेपाल विद्यार्थी संघको अगुवाइमा महत्वपूर्ण निकायमा ताला लगाएका छन्। 

दुई साताअघि ताला लगाएको भए पनि समाधान गर्ने विषयमा अहिलेसम्म एक पटक पनि छलफल भएको छैन। उनीहरुले उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रार पेशल दाहालको कार्यालय रहेको भवनको मुल ढोकामा ताला लगाएका छन्। सेवा आयोग र केही डिनको कार्यालयमा पनि ताला लगाएका छन्। तीन थरी समूहको तीन वटा ताला दुई सातादेखि यी कार्यालयको ढोकामा झुण्डिएका छन्। मुल ढोकामै ताला लागेकोले यी सबै पदाधिकारीको कार्यकक्ष रहेको भवनभित्र रहेका झण्डै दुई दर्जन कार्यालयको काम रोकिएको छ।

तालाका कारण सेवा आयोगले प्राज्ञिक तथा प्रशासनिक क्षेत्रका लागि विज्ञापन आह्वान गरेरका कर्मचारीको परीक्षा सञ्चालन, नतिजा प्रकाशन लगायतका काम रोकिएका छन्। अन्य तीन पदाधिकारीको कार्यकक्षमा लागेको तालाका कारण विश्वविद्यालयको केन्द्रीय प्रशासन अन्तर्गत सञ्चालन हुने सम्पूर्ण शैक्षिक, प्रशासनिक तथा आर्थिक विषयसँग सम्बन्धित सबै काम रोकिएका छन्। परीक्षा र नतिजा प्रकाशनमा पनि समस्या भएको छ।

मुल ढोकामै ताला लागेकोले पदाधिकारीहरु कार्यकक्षमा छिर्न पाएका छैनन्। अहिले त्रिविका तीनजनै पदाधिकारी नेपाल कम्युनिष्ट पार्टी निकटका छन्। सेवा आयोगको अध्यक्ष, अधिकांश संकायका डिन, सहायक डीन, क्याम्पसका प्रमुख लगायत अन्य महत्वपूर्ण निकायमा उनीहरुले आफू निकटकै व्यक्तिलाई नियुक्ति गरेको असन्तुष्ट पक्षको दावी छ।

यसरी नियुक्ति गर्दा सरोकारवालासँग छलफल नगरेको, अन्य दलसँग आस्था राख्ने प्राध्यापकलाई बेवास्ता गरेको, आफू निकटका व्यक्ति भएकै कारण कनिष्ठलाई नियुक्तिमा प्राथमिकता दिएको, प्राज्ञिक क्षमतालाई गौण ठानिएको लगायतका आरोप आन्दोलनकारीको छ। यी सबै नियुक्ति रद्द गर्नुपर्ने उनीहरुको माग छ। तर विगतमा पनि ताला लाग्दा असन्तुष्ट पक्षका केही व्यक्तिलाई नियुक्ति दिएपछि आन्दोलन रोकिने गरेको थियो। यसपटक पनि योग्य र सक्षमको नारा उचाले पनि असन्तुष्ट पक्षले आफू निकटकालाई नियुक्ति दिनुपर्ने माग राखेर ताला लागेको त्रिविका अधिकारीको आरोप छ।

त्रिवि शिक्षाध्यक्ष प्राध्यापक डा. शिवलाल भुषालले भने योग्य व्यक्तिलाई नियुक्त गरेको दावी गरे। ताला लागेको दुई साता भए पनि अहिलेसम्म दुई पक्षबीच समस्या समाधानबारे छलफल समेत भएको छैन। आन्दोलनकारीसँग वार्ताको लागि पहल गरे पनि नमानेको भुषालले आरोप लगाए। ‘हामीले असन्तुष्ट समूहलाई वार्तामा बस्न निकै अनुरोध गर्‍यौं। तर हाम्रो राजीनामा आएपछि मात्रै उहाँहरु वार्तामा बस्ने रे, जुन सम्भव छैन’, भुषालले भने, ‘एउटा वैचारिक संगठन भएको नाताले उहाँहरुको तालाबन्दी अहिलेसम्म सहिरहेका छौं। यस्तै अवस्था भयो भने विकल्प खोज्नुपर्ने हुन्छ।’

प्रजातान्त्रिक प्राध्यापक संघका सचिव जनक मल्लले भने निकै नै कनिष्ठ व्यक्तिलाई विभिन्न क्याम्पसको प्रमुख, विभागीय प्रमुख लगायतमा नियुक्त गरेकोले समस्या आएको बताए। ‘हामी छलफलबाट समस्या समाधान गर्नुपर्छ भन्ने पक्षमा छौं। तर पदाधिकारीहरु छलफल गर्नै चाहनुहुन्न’, मल्लले भने। तालाबन्दीका कारण कर्मचारीहरु कार्यालय आए पनि चउरमा बसेर दिन काटिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.