रंगशाला निर्माणमा गुणस्तरहीन सामग्री
![रंगशाला निर्माणमा गुणस्तरहीन सामग्री](https://annapurnapost.prixacdn.net/media/albums/Dhudauli-Rangasala-photo-Sindhuli_20200805013404_lY7J98vuBU.jpg)
सिन्धुली : दुधौली नगरपालिका–९, भोरागाँछीमा निर्माणाधीन रंगशालामा गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेको पाइएको छ। बाग्मती प्रदेश सरकारको ६ करोड ९४ लाख ९२ हजार चार सय ७४ रुपैयाँ लागतमा उक्त रंगशाला निर्माण थालिएको हो।निर्माण कम्पनी पाइनस कन्स्ट्रक्सनले रंगशालाको स्टेडियम, भवन, अतिथिगृह र गार्ड हाउस निर्माणमा गुणस्तरहीन सिमेन्ट, इँटा, गिट्टी, बालुवा लगायतका सामग्री प्रयोग गरेको जानकारी उक्त वडाका अध्यक्ष रामकुमार अधिकारी दनुवारले दिए।
‘नगरपालिकाले पटकपटक गुणस्तरयुक्त सिमेन्ट, इँटा र बालुवा प्रयोग गर्न आग्रह गर्दा पनि निर्माण कम्पनीले अटेर गरेर काम जारी राखेको छ’, उनले भने।
रंगशाला निर्माणमा लापरबाही गरिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा समेत उजुरी परेको छ। तर, उजुरी गर्दासमेत कम्पनीले अटेर गरेको दनुवारको भनाइ छ। निर्माण कम्पनीले एक सय २० स्क्वायर फिट लामो स्टेडियम निर्माण गर्दैछ। निर्माणमा एक नम्बरको इँटा प्रयोग गर्ने, ओपीसी सिमेन्ट र चालिएको बालुवा प्रयोग गर्ने सम्झौतामा उल्लेख छ।
तर, ३ नम्बरको कामै नलाग्ने इँटा, गुणस्तर कमजोर भएको सिमेन्ट र चाल्दै नचालिएको माटो मिसिएको बालुवा प्रयोग गरेपछि सिन्धुलीका तत्कालीन प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमसहितको अनुगमन टोलीले लगाइएको पर्खालसमेत भत्काएका थिए।
प्रमुख जिल्ला अधिकारी गौतम, बाग्मती प्रदेशका सांसद राजन दाहाल लगायतले गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरिएको रंगशालाको पर्खाल नै भत्काएर गुणस्तरीय सामग्री प्रयोग गर्न भने पनि निर्माण कम्पनीले माथिको आदेश भन्दै पुनः त्यही इँटा, बालुवा र सिमेन्ट प्रयोग गरेर निमार्णलाई निरन्तरता दिएको दुधौली नगर विकास समितिका अध्यक्ष पूर्णबहादुर विष्टले बताए।
‘स्थानीयवासीले पटकपटक गुणस्तरयुक्त काम गर्न दबाब दिए पनि निर्माण कम्पनीले जगदेखि नै मनलाग्दी काम गरेको छ। हजारौं मान्छे बस्ने स्टेडियमको जगदेखि नै गतिलो निर्माण छैन’, विष्टले भने, ‘यसले राज्यको ढुकुटी सक्ने मात्रै हैन, भोलि ठूलो दुर्घटना निम्त्याउने खतरा पनि बढेको छ।’
रंगशाला निर्माण स्थलमा सूचना बोर्डसमेत राखिएको छैन। सरकारले हरेक योजनाको निर्माण स्थलमा योजनाको स्टिमेट, लागत, सुरुआत गरेको मिति, समाप्त हुनुपर्ने अवधि लगायतका जानकारी समेटेर सूचना बोर्ड अनिवार्य राख्नुपर्ने व्यवस्था गरेको छ।
ओपीसी सिमेन्ट प्रयोग गर्नुपर्ने पिलर, बिमहरूमा जानाजान अन्य सिमेन्ट प्रयोग गर्नु, क्रसरले पेलेको गिट्टी लगाउनुपर्नेमा खोलाबाट उठाएर सीधै प्रयोग गर्नु र कम गुणस्तरको इँटा प्रयोग गर्नुले लापरबाहीको पराकाष्ट नाघेको भन्दै स्थानीय पनि आक्रोशित बनेका छन्।
दुधौली नगरपालिकाका मेयर घनश्याम राउतले पनि निर्माण कम्पनीलाई पटकपटक चेतावनी दिएर स्टमेट अनुसारका निर्माण सामग्री प्रयोग गर्न भनिए पनि अटेर गरेको स्पष्ट पारे। ‘हामीले केही समय निर्माण रोकेर गुणस्तरयुक्त सामग्रीको प्रयोग गर्न भने पनि कोही नभएको समयमा गुणस्तरहीन सामग्री पुनः प्रयोग गर्ने गरेको पाइएको छ। यसलाई हामीले अत्यन्त गम्भीर ढंगले हेरेका छौं’, मेयर राउतले भने।
रंगशाला निर्माणमा खटिएका इन्जिनियर बालकृष्ण श्रेष्ठले भने सुरुमा गुणस्तरहीन इँटा प्रयोग भएको पाइएपछि त्यसलाई फर्काएको भए पनि अन्य निर्माण सामग्रीमा कुनै विवाद नभएको बताए। ‘सुरुमा दुई नम्बरको केही इँटा प्रयोग भएको सत्य हो। हामीले थाहा पाएपछि त्यसलाई फिर्ता गरेका हौं। त्यसपछि रड, सिमेन्ट र इँटा ल्याब टेस्ट गराएर मात्रै प्रयोग गर्न भनेका छौं’, उनले भने, ‘दुई नम्बरको केही इँटा फिर्ता गराएका छौं। ढलानमा ओपीसी सिमेन्ट प्रयोग भए पनि अन्य निर्माणमा पीपीसी प्रयोग भएको हो। यसले केही फरक पार्दैन’, उनले भने।
निर्माण कम्पनीका प्रमुख भरतबहादुर कार्कीले भने रंगशालामा कुनै पनि निर्माण सामग्री गुणस्तरहीन नभएको दाबी गरे। ‘यो विरोध मात्र हो। काम नपाएकाले विरोध गर्ने हुन्। चित्त नबुझ्नेले चौबीसै घण्टा निरीक्षण गरेर बस्दा हुन्छ। बरु हामी खाना खुवाउँछौं’, उनले भने।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)