कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका तीनजनाको मृत्यु
राजविराज : सप्तरीमा कोरोना भाइरस (कोभिड-१९) सँग मिल्दोजुल्दो लक्षण देखिएका तीनजना पुरुषको मृत्यु भएको छ। विदेशबाट आइ कोरोना परीक्षणबिना घरमा बसिरहेका रुपनी गाउँपालिका-५ धुरगाउँका ४५ वर्षीय एक पुरुषको मृत्यु भएको छ। मलेसियाबाट आएर घरमा बसिरहेका धुरगाउँका विन्देश्वर साह बिरामी भइ उपचारका क्रममा मृत्यु भएको रुपनी गाउँपालिका-५ का वडा अध्यक्ष जगदीश दासले बताए ।
विदेशबाट आएर घरमा बसेकोबारे आफूलाई जानकारी नभएको र उनको मृत्युपछि गाउँलेले बताएपछि मात्र थाहा पाएको वडा अध्यक्ष दासले बताए । बिरामी भइ उपचारका लागि धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएपछि शव घर फर्काइएको छ । विदेशबाट आएको र रुघाखोकीजस्ता लक्षण देखिएकाले पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न शवको अन्तिम संस्कार नगरी घरमा राख्न लगाइएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए।
पीसीआर परीक्षण नगरी घरमा बसिरहेका साहलाई ज्वरो र दमले च्यापेपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो । राजविराजले रेफर गरेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याउनुअघि मंगलबार राती बाटोमै मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले स्वाब संकलनपछि शव व्यवस्थापन गरिने बताए ।
मृतकका दाजु उनीभन्दा एक महिनाअघि भारतबाट आएर १४ दिन रुपनी-५ स्थित जनता मावि बसबिट्टीको क्वारेन्टाइनमा बसेका थिए । उनको पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो
तीन चार दिनअघि बिरामी परेका साहबारे जानकारी दिँदै पीसीआर परीक्षण गर्न भन्दा पनि वडा अध्यक्ष दासले चासो नलिएको स्वास्थ्य चौकीका प्रमुख सिताम्बर यादवले गुनासो गरे ।
यसैबीच राजविराजस्थित छिन्नमस्ता अस्पतालमा मंगलबार राती दुई जेष्ठ नागरिकको मृत्यु भएको छ । मंगलबार राति १ बजे मृत्यु भएका डाक्नेश्वरी नगरपालिका -९ पत्थरगाढाका ७१ वर्षीय मंगल खंगको स्वाब लिएलगत्तै बुधबार दिउँसो दाह संस्कार गरिएको छ ।
घुँडा दुखेको भन्दै आइतबार उपचारार्थ भर्ना भएका चिनी र उच्च रक्तचापका बिरामी खंग राती पिसाब गर्न उठ्दा खलखली पसिना आएर ढलेका थिए। त्यसपछि उनको मृत्यु भएको डा. ज्ञानेन्द्र झाले बताए । शव घर ल्याइपछि स्वास्थ्य कार्यालय र प्रहरी कार्यालयबाट खबर आएपछि दाह संस्कार रोकी स्वाब संकलन गरिएको डाक्नेश्वरी नगरपालिकाका नगरप्रमुख शिवनारायण साहले जानकारी दिए । रोक्दा रोक्दै पनि दाह संस्कारमा २०/२२ जना पुगेको साहले जनाए ।
यस्तै ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि एक साताअघि १५ गते भर्ना भएका राजगढ गाउँपालिका-४ बेल्ही चपेनाका ८५ वर्षीय बच्चालाल सुतिहारको पनि मंगलबार राती मृत्यु भएको छ । उनको शव छिन्नमस्ता अस्पतालमै रहेको र स्वाब संकलन गर्न लागिएको अस्पतालका प्रशासन प्रमुख राजेश झाले बताए । स्वास्थ्य कार्यालय सप्तरीले मृतक तीनैजनामा शंकास्पद लक्षण देखिएकाले स्वाब संकलन गरिएको बताए ।
एक साताअघि मृत्यु भएका सोही वडाका प्रितम साहको स्वाब संकलन गर्नुअघि नै दाह संस्कार भएको थियो । दमको बिरामी साहको स्वाब संकलन गर्न नसकिएपछि उनका परिवार र मलामी गएका गाउँलेसहित ८६ जनाको स्वाब सोमबार संकलन गरिएको छ । संकलित स्वाबको रिपोर्ट आइ नसकेको नगर प्रमुख साहले बताए
गाउँपालिकाले क्वारेन्टाइनको जिम्मेवारी वडा अध्यक्षलाई रहेको तर वडा अध्यक्षले होम क्वारेन्टाइन भन्दै स्वास्थ्य मापदण्ड बिचार नगरी घर पठाउने गरेको उनको भनाइ छ । स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेकाले स्तरीय खानाको माग गरेपछि वडा अध्यक्षले होहल्ला भएको भन्दै होम क्वारेन्टाइनका नाममा घर पठाउन थालेको यादवले बताए । गाउँघरमा नाम मात्रको होम क्वारेन्टाइन र होम आइसोलेसन हुने गरेकाले अवस्था भयावह रहेको उनले चिन्ता प्रकट गरे ।
मलेसियाबाट १५ दिनअघि आएका ३५ वर्षीय अर्का एक पुरुष पनि सोझै घर गएर बसेको स्मरण गर्दै स्वास्थ्य चौकी प्रमुख यादवले उनलाई जबरजस्ती साउन ११ गते परीक्षण गर्न लगाउँदा रिपोर्ट पोजिटिभ आएपछि राजविराजस्थित आइसोलेसन केन्द्र पठाइएको बताए ।
मलेसियाबाट परीक्षण गरेर आएकाले यहाँ गर्न आवश्यक छैन भन्दै परीक्षण गर्न अस्वीकार गर्दै आएका उनको तीन दिनको प्रयासपछि रुपनी गाउँपालिकास्थित रायपुर स्कुलमा स्वास्थ्यकर्मीको टोलीले स्वाब संकलन गरेको थियो।
प्रतिक्रिया दिनुहोस !