पर्सामा थप ४३ जनामा कोरोना पुष्टि, साउनमा मात्रै ५९९ संक्रमित थपिए
वीरगन्ज : पर्सामा बिहीबार बिहान नेपाली सेना, डाक्टर, बैंकका कर्मचारीसहित थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६ महिला र ३७ पुरुष गरी थप ४३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए।
बिहीबार संक्रमण पुष्टि हुनेमा वीरगन्जस्थित नेपाली सेनाको चण्डीप्रसाद गणका ५ र वीरगन्ज कारागारमा कार्यरत ७ गरी १२ जना छन्।
यसैगरी वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका ७ वर्ष देखि ७३ वर्षसम्मका २४ जना, पर्सा जिल्लाको पकहामैनपुर गाँउपालिका २ का २७ बर्षिय एक पुरुष , पोखरिया नगरपालिका ६ का ३३ बर्षिक एक पुरुष र वीरगन्जस्थित भारतीय महावाणिज्य दुतावासमा कार्यरत ३० बर्षिय एक पुरुषसमेतमा संक्रमण पुष्टि भएको हो।
त्यस्तै बाराको देवताल गाँउपालिका घर भएका ३३ बर्षका एक पुरुष, बाराकै प्रसौनी २ घर भएकी ७३ बर्षिया एक वृद्घा , रौतहट मौलापुरका २७ वर्षीय एक पुरुष र महोत्तरी जिल्ला घर भएका ३७ बर्षका एक चिकित्सकमा पनि संक्रमण पु्ष्टि भएको नारायणी अस्पतालका मेसु उपाध्यायले जानकारी दिए।
नयाँ संक्रमित थपिएसँगै पर्सामा संक्रमितको संख्या ७६२ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी ललीत बस्नेतले जानकारी दिए। साउन यता मात्रै ५९९ संंक्रमित थपिएको उनले बताए।
पर्सामा कोरोना संक्रमणका कारण अहिलेसम्म १७ जनाको मृत्यु भइसकेको छ। साउनमा मात्रै पर्सामा १३ जनाको मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस !