सप्तरीमा चारजना आइसोलेसन भर्ना, ४३ डिस्चार्ज
राजविराज : सप्तरीको आइसोलेसन केन्द्रमा एकै दिन चारजना कोरोनाका बिरामी भर्ना भएका छन्। बिहीबार ४३ जना संक्रमित भने कोरोना जितेर घर फर्केका छन् । एकै दिन ४३ जना निको भइ घर फर्किँदा एक पुरुष र ३ महिला आइसोलेसन केन्द्रमा भर्ना भएको अस्पतालले जनाएको छ ।
यो सँगै निको भएर फर्किनेको सङ्ख्या ३ सय ८४ पुगेको छ । जसमा ३८ जना महिला छन् । राजविराजस्थित साइकृष्णा हस्पिटल एण्ड मेडिकल कलेजको आइसोलेसन केन्द्रमा उपचाररत बिरामी निको भएर घर फर्किए पछि हाल १३ महिला र ८८ पुरुष गरी १०१ जना आइसोलेसन केन्द्रमा उपचारत छन् ।
एकै पटक नौ महिलासहित ४३ जना निको भएर घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डाक्टर रणजीतकुमार झाले बताए । राजविराजस्थित प्रयोगशालामा बुधबार ७३ जनाको परीक्षण गरिएकोमा आइसोलेसनमा बसेका ४३ जनाको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले उनीहरुलाई डिस्चार्ज गरेको हो ।
आइसालेसन केन्द्रमा बसेका दुई र होम आइसोलेसनमा बसेका तीनजनाको भने पुनः पोजिटिभ रिपोर्ट आएपछि थप केही दिन आइसोलेसनमै राखिएको छ । हालसम्म सप्तरीमा संक्रमित हुने ५ सय ३९ मध्ये आइसोलेसन केन्द्रमा ५१ महिलासहित ४ सय ८५ जना भर्ना भएका छन् । संक्रमति ५ सय ३९ जनामध्ये राजविराज नगरपालिका-६ सिरहा रोडका ७३ वर्षीय पुरुषको साउन १ गते रिपोर्ट आएलगत्तै मृत्यु भएको थियो भने रुपनी गाउँपालिका-५ धुरगाउँका ४२ वर्षीय पुरुषको साउन २० गते मृत्यु भएपछि परीक्षण गर्दा बुधबार रिपोर्ट पोजिटिभ आएको थियो । बाँकी ५२ जना होम आइसोलेशनमा रहेकामध्ये पनि अधिकांश निको भइसकेको डाक्टर झाले बताए।
डिस्चार्ज भएका सबैलाई राजविराज नगरपालिकाका नगर प्रमुख शम्भुप्रसाद यादव, डाक्टर रणजितकुमार झा, चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले बिदाइ गरे । अस्पतालले उपचार र व्यवस्थापनमा निकै ध्यान दिएकोमा धन्यवाद दिँदै उनीहरूले मनोबल उच्च राख्दा कोरोनालाई जित्न सजिलो हुने बताए । उनीहरूले अन्य संक्रमितलाई संक्रमण हुँदैमा नआत्तिन र उच्च मनोबल राख्न समेत आग्रह गरे ।
संक्रमण मुक्त भएर घर फर्किनेहरुले आइसोलेशन केन्द्रको वयवस्थापन र स्वास्थ्यकर्मीको व्यवहारको प्रशंसा गरे भने आइसोलेशन केन्द्रमा रहेका युवाहरुले खानामा अझै सुधार नआएको भनेर विरोध जनाए ।
प्रतिक्रिया दिनुहोस !