मेडिकल कलेजले भर्ना लिन नमान्दा गेटमै बिरामीको मृत्यु

मेडिकल कलेजले भर्ना लिन नमान्दा गेटमै बिरामीको मृत्यु

वीरगन्ज : वीरगन्जको नेशनल मेडिकल कलेजले उपचारका लागि भर्ना लिन नमान्दा एक बिरामीको मेडिकल कलेजकै अगाडि मृत्यु भएको छ । वीरगन्जका निजी अस्पतालले बिरामी भर्ना लिन नमानेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय पर्साले बिहीबार नै जनस्वास्थ्यमा खेलवाड नगर्न सूचना जारी गरेको थियो । 

तर स्थानीय प्रशासनले सूचना जारी गरेकै दिन नेशनल मेडिकल कलेजले भर्ना लिन नमान्दा मेडिकल कलेजकै गेटमा बिहीबार बिहान वीरगन्ज १४ श्रीपुरका ६४ वर्षीय चलितर महत्तोको मृत्यु भएको हो । 

महत्तोलाई उपचारका लागि बिहीबार बिहान मेडिकल कलेजमा लिएर जाँदा भर्ना नलिएका कारण महत्तोको मृत्यु भएको मृतकका भाइ शम्भु महत्तोले बताए ।  बिरामी लिएर मेडिकल कलेजमा जाँदा गेटमा खटिएका कर्मचारीले एमडीले भनेपछि मात्रै भित्र जान दिने भन्दै रोकि दिएको भन्दै शम्भुले भने, 'दाइलाई कोरोना नभएको नेगेटिभ रिपोर्ट देखाउँदा पनि मानेन्, आधा घण्टासम्म हार गुहार गर्यौं तैपनि केही लागेन, दाइको मृत्यु भयो ।'

 
शम्भुका अनुसार, बुधबार राति महत्तोको दिशामा रगत देखिएको र श्वासप्रश्वासमा पनि समस्या भएपछि परिवारजनले उपचारका लागि बिहीबार बिहान मेडिकल कलेज लिएर गएका थिए । 

दुई दिनअघि हल्का ज्वरो र खोकी भएपछि महत्तोलाई मेडिकल कलेजमै लिएर जाँदा पीसीआर जाँचको रिपोर्ट लिएर आउनु भन्दै फर्काइ दिएका थिए । त्यसपछि साउन ११ र १५ गते गरी २ पटक पीसीआर परिक्षण गराउँदा महत्तोको दुवै पटकको रिपोर्ट नेगेटिभ आएको थियो ।  

'बिहीबार बिहान गेटमा रोक्दा दुवै नेगेटिभ रिपोर्ट देखायौं तै पनि गेटमा खटिएका कर्मचारीले मानेन्, एमडीले भनेपछि मात्रै भर्ना लिन्छौं भने, मृतक महत्तोका भाइ शम्भुले भने, 'भर्ना लिन नमान्दा उपचार नपाएर दाइको ज्यान गयो।'

नेशनल मेडिकल कलेजका कोभिड फोकल पर्सन डाक्टर असरफ हुसेनले भने मेडिकल कलेजलाई बदनाम गराउन झुठो आरोप लगाइएको बताए । उनले भने, 'पीसीआरको नेगेटिभ रिपोर्ट लिएर आएका बिरामीलाई भर्ना गरेर उपचार गर्दै आएका छौं, गेटबाटै फर्काइएको आरोप झुठो हो । नेशनल मेडिकल कलेजका प्रबन्धक निर्देशक बसरुद्धिन अन्सारीले भने आफूलाई यस विषयमा जानकारी नभएको बताए ।

हेलिकप्टर चाटर्ड गरेर काठमाडौं जाँदै बिरामी

वीरगन्जका निजी अस्पतालले लापरवाही गर्न थालेको र उपचार पनि विश्वसनीय नभएको भन्दै आर्थिक रुपमा सम्पन्न हुनेहरु हेलिकोप्टर चाटर्ड गरेर काठमाडौं जान थालेका छन् । 

पछिल्लो ३ दिनयता मात्रै ४ जना बिरामी उपचारको लागि हेलिकोप्टर चाटर्ड गरेर काठमाडौं गएका हुन् । साउन २० गते मंगलबार वीरगन्ज १० आदर्शनगरक सुत्केरी महिला अन्नु क्याललाई हेलिकोप्टरबाट काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आर्दशनगरकै मुटुरोगी ६५ वर्षीय घनश्याम चाचानको श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि उनी साउन २१ गते बुधवार हेलिकोप्टर चाटर्ड गरी काठमाडौं गएका हुन् । 

यस्तै श्वासप्रश्वासमा समस्या देखिएका वीरगन्जका शिक्षक समेत रहेका नेकपाका युवा नेता अरविन्द सिंहलाई पनि बुधबार दिउँसो हेलिकोप्टर मार्फत काठमाडौं पठाइएको हो । 

बिहीबार पनि वीरगन्ज महानगरपालिका ६ का डाक्टर नविन चौधरीकी श्रीमती ३१ वर्षीया अल्का कुमारीलाई  उपचारका काठमाडौं पठाइएको छ ।  वीरगन्जका निजी अस्पतालले कोरोनाको आशंकामा भर्ना लिन छाडेपछि बिरामी हेलिकोप्टर चाटर्ड गरेर उपचारका लागि काठमाडौं जाने क्रम बढेको हो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.