थप ७१ जनामा कोरोना संक्रमण : पर्सामा संक्रमितको संख्या १ हजार नाघ्यो
वीरगन्ज : पर्सामा कोरोना संक्रमितको संख्या १ हजार नाघेको छ । आइतबार बिहान ७१ जना नयाँ संक्रमित थपिएसँगै पर्सामा जिल्लामा संक्रमितको संख्या १ हजार २६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
असार अन्तिमसम्म पर्सा जिल्लामा १६३ जनामा मात्र संक्रमण भेटिएको थियो । तर साउन सुरु भएयता २५ दिनमा मात्रै ८६३ जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका निरिक्षक जयमोद ठाकुरले जानकारी दिए । साउनमै पर्सामा कोरोनाका कारण १६ जनाको मृत्यु समेत भइसकेको छ ।
वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा आइतबार बिहान गरिएको परीक्षणमा पर्साका ५६ पुरुष र १५ महिला गरी ७१ जनामा संक्रमण पुष्टि भएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।
वीरगन्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख अरुण कुमार महत्तोमा पनि संक्रमण भेटिएको छ । यस्तै महानगरपालिकाको वारुण यन्त्र महाशाखाका २ कर्मचारी , जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ८ जना प्रहरी र वीरगन्ज स्थित भारतीय महावाणिज्यदूतावासका १ कर्मचारीमा पनि संक्रमण पुष्टि भएको मेसु उपाध्यायले जानकारी दिए । यस्तै वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका १६ वर्षदेखि ६८ वर्षसम्मका ४६ जनामा आइतबार बिहान संक्रमण पुष्टि भएको छ ।
यस्तै पर्सा जिल्लाको बहुदरमाइ नगरपालिकाका ७ का २६ वर्षका १ जना पुरुष, पर्सा जिल्ला पर्सागढी नगरपालिका वडा नम्बर ६ का ३२ वर्षदेखि ५० वर्षका ३ जना पुरुष, पटेर्वा सुगौली गाउँपालिका ४ निवासी २२ वर्षका १ जना पुरुष, जिराभवानी गाउँपालिका वडा नम्बर २ निवासी २२ वर्षकी १ महिला, पर्सा अमरपट्टी ४ निवासी २ जना महिला र १ जना पुरुष र पकाहामैनपुर गाउँपालिका निवासी २ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस !