पर्सामा स्वास्थ्यकर्मी र प्रहरीसहित थप २२ जनामा संक्रमण
वीरगन्ज : पर्सामा स्वास्थ्यकर्मी र प्रहरी सहित थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा ४ जना स्वास्थ्यकर्मी र ४ जना प्रहरीसहित २२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए।
पर्साको पोखरीया अस्पतालका १ जना चिकित्सक, १ जना नर्स, १ जना अहेब, नारायणी अस्पतालकी १ जना नर्स गरी ४ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो। यस्तै जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४ जना प्रहरी पनि संक्रमित भएको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।
म्यानस फर्मा उद्योगका ३ जना कर्मचारी, वीरगन्ज महानगरपालिका वडा नम्बर ११ का ४ जना, वडा नम्बर १२ का २ जना, वडा नम्बर २, ८, १५ र १६ का १-१ जनामा पनि संक्रमण पुष्टि भएको अस्पतालका मेसु उपाध्यायले जानकारी दिए। थप २२ जनामा संक्रमण पुष्टि भएसँगै पर्सा जिल्लामा संक्रमितको संख्या १ हजार ४८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !