सर्लाहीमा एक हप्ताका लागि निषेधाज्ञा
मलंगवा : सर्लाहीमा स्थानीय प्रशासनले सोमबारदेखि ७ दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्लास्तरीय कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को आइतबारको बैठकले निषाधाज्ञा जारी गर्न सिफारिस गरेपछि आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
प्रजिअ पौडेलका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) तथा संक्रामक रोग ऐन, २०२० बमोजिम साउन २६ गते सोमबार बिहान ६ बजेदेखि साउन ३२ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको हो ।
अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्तिलाई घरबाहिर निस्कन निषेध गरिएको छ । खाद्यान्न र तरकारी पसल प्रत्येक दिन दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म खुला राखी भौतिक दूरी कायम गराई खरिद बिक्री गर्ने, स्वास्थ्य, विद्युत्, दुरसंचार, खानेपानी, दूध, फोहोरमैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ,औषधि, खाद्यान्न, तरकारी, पशुपंक्षीको दाना र कृषि कार्य बाहेकका अन्य बैंक तथा वित्तीय संस्था र कार्यालयहरुबाट प्रदान गरिने सेवा पनि तत्कालका लागि बन्द गर्ने निर्णय गरिएको छ ।