बाजुराको पूर्वी उत्तरी क्षेत्रका चार स्थानीय तहमा खाद्यन्न अभाव
बाजुरा : बाजुरा जिल्लाको पूर्वी उत्तरी क्षेत्रमा खाद्यन्न अभाव भएको छ। पूर्वी उत्तरी क्षेत्रका एक नगरपालिका र तीन गाउँपालिका गरी चार स्थानीय तहमा खाद्यन्न अभाव भएको स्वामीकार्तिक खापर गाउँपालिकाका स्थानीय मानबहादुर रोकायाले जानकारी दिए।
हिमाली गाउँपालिकामा विगत दुई महिनादेखि खाद्य डिपोमा चामल सकिएको छ भने बुढिनन्दा नगरपालिकामा रहेको कोल्टि डीपोमा चामल सकिएको एक महिना भएको स्थानीयले बताए।
गएको आर्थिक वर्षको ठेकेदारले आफ्नो ठेक्काको चामल बिक्री गरेर सकेकोले जेठ अन्तिम साताबाट कवाडी अस्थाइ बिक्री डिपोमा चामल सकिएको हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द मल्लले बताए। चामल डिपोमा मात्र नभएर स्थानीय बजारमा पनि चरम अभाव भएकोले भोकमरी हुने अवस्था सृजना भएको उनको भनाइ छ। लगातारको वर्षाका कारण मार्तडी कोल्टी सडक बन्द भएको कारणले चामल खच्चडमा ढुवानी गर्नसमेत समस्या भएको उनले बताए।
'वर्षातले बाटो बन्द हुनेबित्तिकै अलि आर्थिक रुपमा बलियो हुनेले चामल किनेर राखे पैसा नहुनेले किन्न पाएनन्, चामल सकियो। अहिले आएर गरिब निम्नवर्गमा मान्छेलाई बढी समस्या भएको छ', उनले भने।
स्टक भएको चामल पनि सकिएको र गएको आर्थिक वर्षमा चामल ढुवानीको जिम्मा पाएका ठेकेदारले ७ हजार कुइन्टलमध्ये २ हजार ५ सय कुइन्टल चामल ढुवानी नै नगरेकोले यति छिटै अभाव भएको मार्तडी खाद्य डिपोका प्रमुख मेखराज ओझाले बताए। चामल ढुवानी पाएको ठेकेदारले सबै चामल ढुवानी गरिदिएको भए केही दिनसम्म भोकमरी हुने थिएन। हाल डिपोमा भएको सबै चामल सकिएको उनले बताए।
नयाँ ढुवानीको लागि कुनै प्रकृया नै अगाडि बढेको उनले बताए । वर्षातले सडक अवरुद्ध भएकाले भरिया र खच्चडको समेत सम्भावना नभएको उनले बताए।
प्रतिक्रिया दिनुहोस !