पर्सामा थप २६ जनामा कोरोना पुष्टि
वीरगन्ज : पर्सामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार अबेर राति गरिएको परीक्षणमा पर्साका मात्रै थप २६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका मेसु डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए।
पर्साका २६ जनामध्ये नारायणी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरी १२ जना छन्। मेसु उपाध्यायका अनुसार, नारायणी अस्पतालको एनआईसीयू विभागका १ चिकित्सक, पोषण, फार्मेसी र फिजियोथेरापी विभागका १/१ जना कर्मचारी,अस्पतालका ३ जना स्विपर, ३ जना सुरक्षा गार्ड र एक जना कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएको हो।
वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका ३२ वर्षीय एक जना कर्मचारी र वीरगन्जमा रहेको ग्लोबल आइ एमई बैंकका ४३ वर्षीयका पुरुष कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ। वीरगन्ज महानगरपालिका- १० घडीअर्वा पोखरी, वडा नम्बर २ छपकैया र वडा नम्बर १३ राधेमाइका २/२ जना, वडा नम्बर ४, ८, ११ ,१४, १५ र २५ का १/१ जनामा पनि संक्रमण भेटिएको मेसु उपाध्यायले जानकारी दिए।
यसैबीच नारायणी अस्पतालमा बिहीबार राति गरिएको परीक्षणमा बाराका २० जना र महोत्तरीको जलेश्वर नगरपालिकाका २ जनामा पनि संक्रमण पु्ष्टि भएको मेसु उपाध्यायले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !