सिन्धुलीका पाँच स्थानीयतह सटडाउन
![सिन्धुलीका पाँच स्थानीयतह सटडाउन](https://annapurnapost.prixacdn.net/media/albums/sindhuli-1_20200815102910_FmPsKFFKag.jpg)
सिन्धुली : सिन्धुली जिल्लाका नौ वटा स्थानीय तहमध्ये पाँच वटामा सटडाउन गरिएको छ। महामारी कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र भएपछि दुई नगरपालिका सहित पाँच वटा स्थानीय तहहरु कम्तिमा एक सातादेखि दुई सातासम्मका लागि सटडाउन गरिएको हो।
जिल्लाका कमलामाई र दुधौली नगरपालिका, सुनकोसी, मरिण र गोलन्जोर गाउँपालिकामा सटडाउन गरिएको हो। सदरमुकाम क्षेत्रमै कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कमलामाई नगरपालिकाले गत मंगलबार रातिबाटै एक साताका लागि नगर क्षेत्र लकडाउन गरेको छ।
दुधौली नगरपालिकाले शुक्रबार राती १२ बजेबाट लागु हुनेगरी भदौ ६ गते मध्य रातीसम्मका लागि सटडाउन गरेको छ। उक्त समयसम्मका लागि स्वास्थ्य संस्था र सुरक्षा निकाय बाहेक नगरपालिकाभित्रका सम्पूर्ण कार्यालयहरु पूर्ण रुपमा बन्द गरिएको नगर प्रमुख घनश्याम राउतले जानकारी दिए।
‘नगरभित्रका औषधी पसललाई चौबिसै घण्टा खुल्ला राख्न र खाद्यान्न, तरकारी, फलफुल, दुधडेरी पसललाई हरेक दिन बिहान ५ बजेदेखि १० बजेसम्म मात्र सञ्चालन गर्न दिने निर्णय भएको छ’, उनले भने, ‘बाँकी सम्पूर्ण व्यवसाय बन्द गरिएको छ।’
जिल्लाको सुनकोसी गाउँपालिकाले पनि शुक्रबार रातीबाट गाउँपालिका क्षेत्र सटडाउन गरेको छ। गाउँपालिकाकी अध्यक्ष दिपा बोहोराका अनुसार आगामी भदौ १३ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण कार्यालयहरु बन्द गरिएको हो। खाद्यान्न लगायतका अत्यावश्यकीय पसलहरू दिउँसो ३ बजेदेखि ६ बजेसम्म खुल्ने उनले जानकारी दिइन्।
त्यस्तै बीपी राजमार्गमा सञ्चालन हुने सवारी साधनहरुमा समेत स्वास्थ्य सुरक्षा अपनाउन कडाइ गरिने छ।
गोलन्जोर गाउँपालिकामा पनि गत बिहीबारबाटै सटडाउन गरिएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीका अनुसार बिहीबारदेखि आगामी भदौ ५ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ। यससँगै पालिका क्षेत्रमा पिसीआर टेष्टलाई तीव्रता दिइएको समेत उनले जनाए।
उता मरिण गाउँपालिकाले पनि आइतबार राती १२ बजेबाट लागु हुनेगरी १० दिनका लागि सटडाउन गर्ने निर्णय गरेको छ। गाउँपालिका स्तरीय विपद् व्यवस्थापन केन्द्र (सिएमसी) को शनिबार बसेको बैठकमा साउन ३२ गते आइतबारबाट भदौ १० गतेसम्मका लागि सटडाउन गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष पानिराज बम्जनले जानकारी दिए। ‘गाउँपालिका भित्र यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ’, उनले भने ‘अनावश्यक काममा हिडडुल गर्न र पशु तथा मासुजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाइएको छ।’
बैंक तथा वित्तीय संस्था र आन्तरिक बाहेकका कुनैपनि सिफारिसहरु समेत गर्न बन्द भनिएको छ। जिल्लाका मुख्य सडकहरु बीपी, मध्यपहाडी र मदन भण्डारी राजमार्गमा सञ्चालन हुने यातायातका साधनहरुले जिल्ला क्षेत्रभित्र रोक्न, यात्रु चढाउन तथा ओराल्न पाउने छैनन्। राजमार्गका होटलहरु पूर्ण रुपमा बन्द गरिएको छ।
उता जिल्लाको हरिहरपुरगढी, तिनपाटन, फिक्कल र घ्याङलेख गाउँपालिकामा भने उच्च स्वास्थ्य सुरक्षा अपनाइएको बताइएको छ।
हालसम्म जिल्लामा कोरोना संक्रमितको संख्या ३३ पुगेको छ। जसमध्ये ११ जनाले कोरोना जितेर घर फर्किसकेका छन् भने २२ जना उपचाररत छन्।
यसैबीच संक्रमितलाई व्यवस्थापन गर्न कमलामाई नगरपालिका ६ मा रहेको एपोलो अस्पतालमा आइसोलेसन वेड बनाउन थालिएको सिन्धुली अस्पतालका व्यवस्थापक विमल श्रेष्ठले जानकारी दिए। सिन्धुलीमा हालसम्म ३३ वटा आइसोलेसन वेड र ५ सय ३५ वटा क्वारेन्टाईन बेड रहेका छन्। यीमध्ये सदरमुकाममा १४ वटा आइसोलेसन बेड रहेको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)