एकै पटक २२ प्रहरी संक्रमित : क्वारेन्टाइनमा बसेकी बेहुली पोजिटिभ, बेहुला नेगेटिभ

एकै पटक २२ प्रहरी संक्रमित : क्वारेन्टाइनमा बसेकी बेहुली पोजिटिभ, बेहुला नेगेटिभ

राजविराज : प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश नम्बर-२, जनकपुर सम्पर्क कार्यालय राजविराजका २२ जना प्रहरीमा शनिबार कोरोना पोजिटिभ देखिएको छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षण अनुसार तालिम केन्द्रका एक ३७ वर्षीय र अरु २१ जना २० देखि २८ वर्षीय रहेका छन्।

यसैगरी राजविराज नगरपालिका-६ का ७० वर्षीया महिला र डाकनेश्वरी नगरपालिका-९ का ५० वर्षीय पुरुषमा समेत कोरोना संक्रमण देखिएको छ। संक्रमित ७० वर्षीया महिलाका श्रीमान ७२ वर्षीय पुरुषको गत साउन २७ गते कोरोना पुष्टि भएसँगै राजविराजस्थित आइसोलेसन केन्द्र ल्याउने क्रममा मृत्यु भएको थियो।

प्रहरी तालिम केन्द्रबाट ३५, राजविराज नगरपालिकाबाट १९ र डाक्नेश्वरी नगरपालिकाबाट ७८ जनाको साउन २६ गते संकलन गरिएको स्वाबको पीसीआर परीक्षण गर्दा २४ जनाको रिपोर्ट पोजिटिभ आएको हो। यसअघि पुष्टि भएका तालिम केन्द्रका ६ जना संक्रमित आइसोलेसनमा छन्।

यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणअनुसार सप्तरीको कञ्चनरुप नगरपालिका-२ का २० वर्षीया महिला र वडा नम्बर ३ का २३ वर्षीय पुरुष तथा कोशी अस्पताल प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणअनुसार वडा नम्बर ११ का ३५ वर्षीय पुरुषलाई कोरोना पोजिटिभ भएको कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

संक्रमितमध्ये २० वर्षीय महिला २३ वर्षीय पुरुष क्वारेन्टिनमा रहेको र ३५ वर्षीय पुरुष समुदायमै रहेको पाइएको छ। संक्रमित २० वर्षीया महिलालाई बिहे गरेर भारतको सुपौलबाट ल्याएको १० दिन भएको छ।  विवाह गरेर घरमा राखेको जानकारी पछि नगरपालिकाले बेहुला-बेहुली दुवै जनालाई क्वारेन्टिनमा राखेर स्वाबको पीसीआर परीक्षण गराएको हो। बेहुलीको रिपोर्ट पोजेटिभ र बेहुलाको नेगेटिभ आएको स्वास्थ्य शाखा कञ्चनरुपले जनाएको छ।

यसैगरी कञ्चनरुप नगरपालिका- ११ का ३५ वर्षीय पुरुष सुनसरीको रामधुनी नगरपालिकाबाट संक्रमित भएर आएको पाइएको छ। उनी साउन १९ गतेको रक्षाबन्धनका लागि श्रीमतीलाई माइत पुर्‍याएर फर्किएका थिए। सोही समयमा बिरामी परेर अस्पताल लगिएका उनका जेठानको स्वाब परीक्षण गर्दा पोजिटिभ आएपछि कन्ट्याक्ट ट्रेसिङमा यिनको स्वाब पनि संकलन गरिएको थियो। स्वाब दिएर घर फर्किएका उनको रिपोर्ट शनिबार पोजेटिभ आएको स्वास्थ्य शाखाका सिअहेव अधिकृत डम्बर गुप्ताले जानकारी दिए।

सप्तरीमा शनिबार थप भएका २७ जनासहित कोरोना संक्रमितको सङ्ख्या ६६५ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ। संक्रमितमध्ये मृतकको सङ्ख्या तीन रहेको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया निरीक्षक नारायणप्रसाद राउत बरैले जानकारी दिए।

यसअघि कोरोना देखिएका सप्तकोसी नगरपालिका-१ का ५४ वर्षीय व्यापारी, विष्णुपुर गाउँपालिका-१ का ४५ वर्षीय पुरुष, बोदे बर्साइन नगरपालिका- २ का ४६ वर्षीय पुरुष, खडक नगरपालिका- २ का ४९ वर्षीय पुरुष, वडा नम्बर- १० का २० वर्षीय पुरुष र ४५ वर्षीया महिला, राजविराज नगरपालिका- २ का २४ वर्षीय पुरुष, वडा नम्बर- ४ का ३३, ५५, ६५ वर्षीय पुरुष, वडा नम्बर- ५ का १२ वर्षीया महिला, वडा नम्बर- ६ का ६७ वर्षीया महिला गरेर १२ जनाको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। 

सप्तकोशीमा एक व्यापारीलाई कोरोना संक्रमण पुष्टि भएपछि समुदायमा कोरोना फैलिएको भन्दै सप्तकोशी नगरपालिकाले ‘सूचना’ जारी गरी नागरिकलाई सचेत गराएको छ। एक घरबाट अर्को घर नजान, सम्पूर्ण बजार, पसल बन्द गरी उच्च सतर्कता अपनाउन सूचनामा आग्रह गरिएको छ। 

नगर प्रमुख उत्तमकुमार शर्माद्वारा जारी सूचनाको वेवास्ता गरी लापरवाही गरे कानुनी कारवाही गर्ने चेतावनी दिँदै सूचना कार्यान्वयनका लागि सहयोग गर्न राजनीतिक दल, व्यापारी, बुद्धिजीवी, संघसंस्था लगायतलाई आग्रह गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.