वीरगन्जमा कोरोनाले अर्को एक जनाको मृत्यु
वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालमा शनिबार बिहान मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
नारायणी अस्पतालमा उपचारका क्रममा वीरगन्ज महानगरपालिकाको अठराहा सुगौलीका ४५ वर्षीया पुरुषको शनिबार बिहान ७ बजे तिर मृत्यु भएको थियो। मृत्युपछि उनको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि नारायणीकै प्रयोगशालामा पठाइएको थियो।
प्रयोशगशालाबाट शनिबार दिउँसो २ बजे प्राप्त रिपोर्टमा ती मृतक पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको अस्पतालका चिकित्सक डाक्टर उदय नारायण सिंहले जानकारी दिए।
शनिबार बिहान अचानक स्वास्थ्यमा समस्या आएपछि परिवारले उनलाई बिहान नारायणी अस्पतालमा ल्याएर भर्ना गराएका थिए।
१० दिनदेखि ज्वरो र खोकीले ग्रस्त उनमा शनिबार बिहान अचानक श्वास फेर्न गाह्रो भएपछि अस्पतालमा ल्याइए लगत्तै उनको मृत्यु भएको डाक्टर सिंहले बताए। योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ। साउनमा मात्रै २३ जनाको मृत्यु भएको हो ।
वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका २६ मध्ये पर्साका २०, बाराका ५ र रौतहटका १ छन् । जेठ ३१ गते वीरगन्जको घण्टाघरमा मृत भेटिएका एक संक्रमित युवकको भने हालसम्म पहिचान खुल्न सकेको छैन।
प्रतिक्रिया दिनुहोस !