पहिरोको जोखिममा रुञ्चेत गाउँ, ४० घर विस्थापित
गोरखा : शनिबारको पहिरोले गोरखाको धार्चे गाउँपालिका २ रुञ्चेत गाउँ जोखिममा परेको छ। गाउँमाथिबाट झरेको पहिरोले ४० घरधुरीका बासिन्दा विस्थापित भएका स्थानीय राम गुरुङले जानकारी दिए।
दुईसय ८० घरधुरी रहेको रुञ्चेत गाउँभन्दा माथि ठूलो ढुंगा अड्केर बसेको गुरुङले बताए। ‘हिजो साँझतिर गाउँमाथिबाट झरेको ठूलो पहिरो घरभन्दा २० मिटर नजिक आइसकेको छ। एउटा ठूलो ढुंगा पहिरोमा अड्केर बसेको छ’, उनले भने, ‘रातभरि पनि पानी पर्यो। फेरि पहिरो आयो भने पहिरोले पुर्छ भनेर गाउँलेहरु राती तल्लो टोलमा सरेर सुतेका छौं।’ पहिरो नियन्त्रणका लागि उनले स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन्।
‘समयमै पहिरो नियन्त्रण गर्न सकिएन भने सिन्धुपाल्चोकमा जस्तो दुर्घटना हुनेछ’, उनले भने, ‘त्यसैले स्थानीय सरकारले यसमा ध्यान पुर्याउनु पर्छ।’ गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङका अनुसार शनिबारकै पहिरोले वडा नं. ७, भीरकुनाको पाँच घर पनि जोखिममा पारेको छ। वडा नं. ४ को नाङपुहाङको दुईवटा जलविद्युत आयोजना पूर्ण क्षति गराएको उनले बताए। ‘२५ किलोवाटका दुईवटा जलद्यिुत आयोजना क्षतिग्रस्त बनाएको छ’, उनले भने।
प्रतिक्रिया दिनुहोस !