थन्कियो नौ हजार स्वाब
राजविराज : प्रदेश २ मा कोरोना परीक्षणको प्रयोगशाला थप नहुँदा ९ हजार बढीको स्वाबको पीसीआर रिपोर्ट आउन सकेको छैन। पीसीआर मेसिन र जनशक्ति अभावमा परीक्षण हुन नसकेर दैनिक स्वाब थन्किने सामाजिक विकास मन्त्रालयको तथ्यांकले पुष्टि गरेको छ। मन्त्रालयले प्रदेशभरि ९ हजार १ सय ८९ स्वाबको परीक्षण हुन बाँकी रहेको जनाएको छ।
असार मसान्तमा प्रदेशभरि १ हजार ५ सय ६२ स्वाब परीक्षण गर्न बाँकी रहेकोमा भदौ १ मा एकै जिल्लामा त्योभन्दा बढी स्वाबको परीक्षण हुन बाँकी रहेको देखिन्छ। सबैभन्दा बढी सर्लाहीमा २ हजार ९६, सप्तरीमा एक हजार ३ सय ६६, महोत्तारीमा १ हजार ३ सय २१, रौतहटमा १ हजार ३ सय पर्सामा १ हजार १ सय २५, धनुषामा ८ सय ४८, सिराहामा ५ सय ८१ र बारामा ५ सय ५२ स्वाबको पीसीआर परीक्षण हुनु बाँकी रहेको सम्बन्धित स्वास्थ्य कार्यालयले जनाएको छ।
असार मसान्तमा सर्लाहीमा दुई सय, सप्तरीमा १ सय २९, महोत्तारीमा १ सय ५६, रौतहटमा २ सय ५२, पर्सामा ७५, धनुषामा ७२, सिराहामा ६ सय १३ र बारामा ६५ गरी १ हजार ५ सय ६२ स्वाबको परीक्षण हुन बाँकी रहेको थियो। एक महिनाअघि दैनिक चार सयदेखि पाँच सयको संख्यामा स्वाब संकलन भइरहेको थियो भने अहिले साढे एक हजारको हाराहारीमा स्वाब संकलन भइरहेको छ। परीक्षणका लागि स्वाब बढे पनि प्रयोगशाला र जनशक्ति भने थपिएको छैन।
साउन महिनामा मात्रै प्रदेश २ मा ३० हजार बढी स्वाब संकलन भएको छ। साउन मसान्तसम्म ७९ हजार ६ सय ७१ स्वाब संकलन भएकोमा भदौ १ गते १ हजार ६ सय ४५ स्वाब थप संकलन भई जम्मा ८१ हजार ३ सय १६ स्वाब संकलन भएको छ। असार मसान्तसम्म जम्मा ४९ हजार स्वाब संकलन भएको थियो।
सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले दैनिक संकलन हुने संख्याभन्दा परीक्षण हुने संख्या आधा पनि नभएकोले स्वाबको रिपोर्ट आउन पर्खिनुपर्ने बताए। तीनवटा रियल टाइम पीसीआर प्रयोगशाला रहेको जनकपुर, राजविराज र वीरगन्जमा प्रदेश २ सरकारले परीक्षण गर्ने मेसिन थप गर्ने निर्णय सार्वजनिक गरेको साढे एक महिना नाघेको छ। कोरोना परीक्षणको दायरा बढाउन गरिएको सो निर्णय कार्यान्वयन भएको छैन। अन्य जिल्लामा प्रयोगशाला स्थापना गर्नुपर्ने माग पनि पूरा भएको छैन।
सातै प्रदेशको तुलनामा भदौ १ सम्म प्रदेश २ मा मात्रै संक्रमितको संख्या ७ हजार ७ सय ९५ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ४ हजार नाघेको छ। पछिल्लो समय धनुषाको धनौजी गापा–३ का ६५ वर्षीय ज्येष्ठ नागरिक र रौतहटको गौर नपा– २ का ३२ वर्षीय पुरुषको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ४७ पुगेको छ।
समुदायमा नयाँ संक्रमितहरू फेला परेपछि ट्र्याकिङ र ट्रेसिङ गर्दै पीसीआर परीक्षणमा तीव्रता दिनु परेकोले स्वाब संकलन बढी भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्ता प्रमुख दुनियाँलाल यादवले बताए। उनका अनुसार गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा रहेको सप्तरीका १ हजार ३ सय ६६ स्वाबको रिपोर्ट आउन बाँकी छ।
पीसीआर परीक्षणको रिपोर्टमा हप्ता दिनसम्म ढिलाइ हुँदा क्वारेन्टाइनमा बसेकाहरू र स्वाब दिएकाहरू थप तनावमा पर्ने गरेको र जोखिमसमेत बढेको स्वास्थ्य कार्यालय, सिरहाका निमित्ता प्रमुख कृष्णदेव यादव बताउँछन्। पीसीआर मेसिन किन्ने प्रक्रिया पूरा भएर चेकसमेत काटिसकेको सूचनाअसार १५ गते नै आयो तर मेसिन नआउँदा संकट भएको उनले बताए।
प्रतिक्रिया दिनुहोस !