पर्सामा १०८ जनामा कोरोना पुष्टि
वीरगन्ज : पर्सामा मंगलबार राति थप १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा पर्साका १ सय ८ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए।
मंगलबार रातिको परीक्षणमा पर्साको बहुदरमाइ नगरपालिकामा मात्रै थप ९० जनामा संक्रमण पुष्टि भएको छ। बहुदरमाइ नगरपालिका-५ मा मात्रै ६५ जना, वडा नम्बर २ मा २० जना, वडा नम्बर ३ मा ३ जना र त्यहिकै स्वास्थ्य चौकीका एक जना स्वास्थ्यकर्मीमा संक्रमण भेटिएको हो।
यस्तै वीरगन्जस्थित नारायणी बयोधा अस्पतालका ६ जना कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ। पर्साकै जीराभवानी गाँउपालिका- २ र ३ का ४ जना, छिपहरमाइ गाँउपालिका - ५ का १ जनामा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य निरीक्षक ठाकुरले जानकारी दिए।
वीरगन्ज महानगरपालिका-१६ नगवाका २ जना, वडा नम्बर ५, १० , १२ र २५ का १/१ जना तथा वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका ४४ वर्षीय १ जना पुरुषमा पनि संक्रमण भेटिएको हो।
पर्सामा संक्रमितको संख्या १५ सय नाघ्यो
मंगलबार राति थप १ सय ८ जनामा संक्रमण पुष्टि भएसँगै पर्सा जिल्लामा संक्रमितको संख्या १ हजार ५ सय ८२ पुगेको छ। तीमध्ये वीरगन्ज बस्ने २० जना भारतीय नागरिक , १०२ जना स्वास्थ्यकर्मी , ४६ जना अस्पतालका कर्मचारी ,७३ जना सुरक्षाकर्मी , ६ जना पत्रकार र ८९ जना कैदी थुनुवा हुन्।
पर्सामा साउन यता मात्रै १ हजार ४ सय २५ जनामा संक्रमण पुष्टि भएको हो। जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार , भदौ २ गते साँझ सम्म ३ सय २३ जना संक्रमित निको भइ घर फर्किसकेका छन्।
प्रतिक्रिया दिनुहोस !