सप्तरीमा कोरोनाले थप एकजनाको मृत्यु
राजविराज : सप्तरीमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।गजेन्द्रनारायण सिंह अस्पताल राजविराजस्थित प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार मृत्यु भएका राजविराज नगरपालिका-४ का २८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।
निमोनियाले ग्रस्त भइ राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना भएका युवकको थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुग्ने वित्तिकै मंगलबार मृत्यु भएको थियो । धरानबाट राजविराज ल्याएपछि मंगलबार राति कोरोना संक्रमणको आशंकामा अस्पतालले उनको स्वाब संकलन गरेको थियो । स्वाब संकलनपछि अन्तिम संस्कारका लागि परिवारको जिम्मा लगाएको थियो। राजविराजमा शवको अन्त्येष्टि गरिएको थियो।
बुधबार राती उनको परीक्षण रिपोर्ट पोजिटिभ आएको र प्रत्यक्ष सम्पर्कमा रहेका परिवारका सदस्य होम क्वारेन्टाइनमा रहेको परिवारका सदस्यले बताएका छन् । योसँगै सप्तरीमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ ।बिहीबार संक्रमण पुष्टि हुने सप्तरीका थप ३२ जना संक्रमितमध्ये राजविराज- ४ का २२ वर्षीय पुरुष र ३५ वर्षीया महिला मृतकका नजिकका नातेदार रहेको छिमेकीले जानकारी दिए।
कोरोनाकै लक्षण देखिएपछि स्वाब दिएका कञ्चनरुप नगरपालिका-८ का ४५ वर्षीय पुरुषको मृत्यु भएपछि बुधबार उनका परिवारले सप्तकोशी व्यारेजमा अन्तिम संस्कार गरेका छन् । स्वास्थ्य कार्यालय र स्थानीय तहलाई जानकारी नदिइ दाह संस्कार भएपछि मात्र जानकारी पाएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए । दमका बिरामी रहेका उनको उपचारकै क्रममा साउन ३० गते स्वाब संकलन गरिए पनि पीसीआर परीक्षणको रिपोर्ट आएको छैन् ।
प्रतिक्रिया दिनुहोस !