वीरगन्जमा थप एकको मृत्यु : कोरोनाले ज्यान गुमाउनको संख्या ३२ पुग्यो
वीरगन्ज : वीरगन्जमा बिहीबार साँझ कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका-१५ प्रतिमा चोकका ७४ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको हो।
गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थ अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनको बिहीबार साँझ ६ : ४५ मा मृत्यु भएको उपचारमा संलग्न चिकित्सक डाक्टर दिपक कुशवाहाले जानकारी दिए।
क्षयरोग, मधुमेह र उच्च रक्तचापको पुराना रोगी उनमा ज्वरो, खोकीका साथै निमोनियाको समस्या देखिएपछि साउन २ गते नारायणी अस्पतालको आकस्मिक कक्षमा लगेर भर्ना गरिएको थियो।
उपचारका क्रममा बुधबार उनको स्वाब संकलन गरेर परिक्षण गर्दा कारोना पुष्टि भएपछि उनलाई बुधबार राति वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा लगेर भर्ना गरिएको थियो।
अस्पतालको आइसीयूमा भर्ना गरिएका उनको स्वास्थ्य झन बिग्रिएपछि बिहीबार साँझ भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको हो।
योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ। साउनमा मात्रै २९ जनाको मृत्यु भएको हो ।
वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ३२ मध्ये पर्साका २४, बाराका ५ र रौतहटका २ हुन्। जेठ ३१ गते वीरगन्जको घण्टाघरमा मृत भेटिएका युवकको भने पहिचान खुलेको छैन।
प्रतिक्रिया दिनुहोस !