पर्सामा साउनपछि १६ सय संक्रमित थपिए : २९ को मृत्यु
वीरगन्ज : पर्सामा साउन यता मात्रै १ हजार ६ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार, असार मसान्तसम्म १६१ जनामा संक्रमण भेटिएको थियो।
संक्रमितमध्ये १५९ जना निको भएर घर फर्किएपछि असार अन्तिममा वीरगन्जस्थित कोभिड अस्पतालको आइसोलेसनमा दुई २ जना मात्र संक्रमित बाँकी थिए। तर साउन महिना सुरु भएपछि परीक्षणको दायरा बढाइएपछि दैनिक संक्रमित थपिदै गएका हुन्।
वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा शुक्रबार २४ महिला र २१ पुरुष गरी ७५ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए।
शुक्रबार सबै भन्दा बढी वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका ७१ जनामा संक्रमण भेटिएको हो।
वीरगन्ज १० का १४ जना, वडा नम्बर ९ र १६ का ७÷७ जना , वडा नम्बर २८, ११, १३ र १८ का ३÷३ जना , वडा नम्बर ३, ४, ६ र १२ का २÷२ जना, वडा नम्बर १५, १९, २६ र ३२ का १÷१ जनामा संक्रमण पुष्टि भएको श्रीवास्तवले जानकारी दिए।
यस्तै पर्साकै बहुदरमाइ नगरपालिका, पोखरीया नगरपालिका तथा जीराभवानी र पकाहा मैनपुर गाउँपालिकाका १÷१ जनामा संक्रमण भेटिएको हो।
१७ सय ३६ संक्रमित मध्ये ३४५ जना निको
प्रशासकीय अधिकृत श्रीवास्तवका अनुसार, पर्सामा शुक्रबार साँझसम्म कुल संक्रमितको संख्या १ हजार ७ सय ३६ पुगेको छ। ती मध्ये १३५६ पुरुष र ३८० महिला छन्।
यस्तै पर्सामा शुक्रबारसम्म निको भएर अस्पतालबाट डिस्चार्ज भएका ३ सय ४५ घर फर्किसकेका छन्। शुक्रबार मात्रै ७ जना डिस्चार्ज भएको श्रीवास्तवले जानकारी दिए। पर्साका दुई कोभिड अस्पतालमा अहिले १३८ संक्रमित उपचाररत छन्।
यस्तै आफनै घरको होम आइसोलेसनमा ६ सय ५ जना रहेको श्रीवास्तवले जानकारी दिए। अरु संक्रमित वीरगन्जका विभिन्न नीजी अस्पताल, धर्मशाला र विद्यालयमा बनाइएका सेमी आइसोलेसनमा छन्।
३३ जनाको मृत्यु
पर्सामा कोरोना संंक्रमणका कारण शुक्रबार साँझसम्म ३३ जनाको मृत्यु भइसकेको छ। जसमध्ये साउन यता मात्रै २९ जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो पनि वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा वीरगन्ज १० रानीघाटका ४८ वर्षीय संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो।
वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ३३ मध्ये पर्साका २५, बाराका ५ र रौतहटका २ हुन्। जेठ ३१ गते वीरगन्जको घण्टाघरमा मृत भेटिएका एक संक्रमित युवकको भने पहिचान खुल्न सकेको छैन। वीरगन्जमा समुदायस्तरमै संक्रमण फैलिएर संक्रमितको संख्या बढ्दै गएपछि ३ हप्तादेखि निषेधाज्ञा छ।
प्रतिक्रिया दिनुहोस !