मंगलबार सामुहिक राजीनामा दिने वीरगन्जका १५० डाक्टरको चेतावनी
वीरगन्ज : वीरगन्जका निजि अस्पतालहरुमा कार्यरत एमविविएस डाक्टरहरुले माग सोमबार बेलुकीसम्म सम्बोधन नगरिए मंगलबार सामुहिक राजीनामा दिने चेतावनी दिएका छन् । निजी अस्पतालमा कार्यरत १ सय ५० जना एमबिबिएस डाक्टरहरुले विभिन्न ५ बुँदे माग सम्बोधनका लागि जिल्ला प्रशासन कार्यालय, नेपाल चिकित्सक संघ, एशोसियसन अफ प्राइभेट हस्पिटल इन्स्चिुसन अफ नेपाल र आफू कार्यरत अस्पतालमा भदौ १ गते ७ दिने अल्टिमेटम दिएका थिए ।
न्युनतम ६५ हजार तलब पाउनुपर्ने, २५ लाख बराबरको स्वास्थ्य तथा जीवन बिमा गर्नुपर्ने, अस्पतालमा काम गर्दा क्वारेन्टाइनमा अस्पतालले नै सुविधा दिनुपर्ने, विश्व स्वास्थ्य संगठनको निर्देशन अनुसार व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराउनुपर्ने र कार्यअवधिमा कोरोना संक्रमण भएमा अस्पतालबाट नि:शुल्क उपचार पाउनुपर्ने उनीहरुको माग छ । तर ७ दिनको अल्टिमेटम बितिसक्दा पनि आफूहरुको माग सम्बोधनका लागि सरोकारवाला कुनै पनि निकायले वार्ताका लागि समेत नबोलाएकाले मंगलबार सामुहिक राजीनामा दिने तयारीमा रहेको मेडिकल अफिसर एसोसियसन अफ वीरगजका उपाध्यक्ष डाक्टर विवेक यादवले बताए ।
उनले डाक्टरहरुले आफू कार्यरत अस्पताल प्रशासनलाई राजीनामा पत्र बुझाउने जानकारी पनि दिए । ‘७ दिनको अल्टिमेटम सकि सक्यो, अहिलेसम्म हामीलाई संवाद र छलफलका लागि पनि बोलाइएको छैन', उनले भने,‘सोमबार बेलुकीसम्म कुर्छौ, यदि हाम्रो माग पुरा गरिएन भने मंगलबार सबै जनाले सामुहिक राजीनामा दिन्छौँ ।'
कोरोनाको महामारी भएकाले राजीनामा दिएपनि अस्पतालमा आफूहरुले बिना हाजिरी र बिहान तलब सुविधा काम गर्ने उपाध्यक्ष यादवले बताए । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीको समयमा अग्रपंक्तिमा रहेर कार्यरत डाक्टरहरुको मागप्रति सरोकारवाला उदासिन बन्दा आफूहरु सामुहिक राजिनामा दिन बाध्य भएको डाक्टर तेजनाथ तिवारीले बताए ।
कोरोना महामारीमा नीजी अस्पतालले उपचार शुल्क बृद्ध गरेको तर आफूहरु मासिक २४ हजार रुपैयाँकै तलबमा काम गर्न बाध्य भएको गुनासो उनले गरे ।
‘कोभिड सुरु भएपछि प्राइभेट हस्पिटलले आइसियुको शुल्क २५ सयबाट बढाएर ५ हजार गरेका छन्, तर हामी २४ हजारकै महिनामा काम गरिरहेका छौँ' , डाक्टर तिवारीले भने ,‘ पीपीईसेट पनि धुँदै प्रयोग गर्नु पर्ने बाध्यता छ, न हाम्रो बीमा गरिएको छ , न कोभिडको जोखिम भत्ता सुविधा छ ।'
एशोसियसन अफ प्राइभेट हस्पिटल इन्स्चिुसन अफ नेपाल प्रदेश २ का अध्यक्ष रामराज श्रेष्ठले भने डाक्टरहरुको अधिकांश माग जायज भएको बताए । तर अधिकाशं अस्पतालका सन्चालक कोरोनाका कारण होम आइसोलेसनमा बसेको बाध्यताले डाक्टरहरुसँग छलफल र वार्ता गर्न नसकिएको उनले बताए ।
कोरोनाका महामारीमा आफ्ना माग पुरा भएन भन्ने बहानामा राजीनामा दिएर जिम्मेवारीबाट भाग्ने काम भने उचित नभएको श्रेष्ठको भनाई छ। उनले भने ,‘ सन्चालकहरु होम आइशोलेसनबाट निस्किएपछि हामी डाक्टरहरुसँग छलफल र संवाद गरेर समस्या समधान गर्न तयार छौँ, तर अहिलेको महामारी काम छाडेर भाग्ने कुरा गर्नु उचित छैन ।
प्रतिक्रिया दिनुहोस !